एउटै महाशाखामा दुई प्रमुख
रासंसा/काठमाण्डौ, फाल्गुण २७,
मुलुकमा सहरी विकासमा मन्त्री नै पिच्छे राजनीतिक हस्तक्षेप हुँदा बेथिति झाँगिँदै गएको छ । मन्त्रालयको सहरी विकास महाशाखामा तीन महिनादेखि एउटै पदमा दुई जना प्रमुख छन् । मन्त्रालयका सहसचिव रामचन्द्र दंगाललाई महाशाखा प्रमुखमा मंसिर आन्तिम साता सरुवा गरिएको थियो । उनी दैनिक हाजिर गर्छन् तर मन्त्रालयले कामको जिम्मेवारी दिएको छैन । उनको हातमा महाशाखा प्रमुखको जिम्मेवारी दिएको पत्र पनि छ, बस्ने कोठा र कुर्सी उपलब्ध छैन । अहिले केन्द्रको महाशाखा उपसचिवले सञ्चालन गर्दै आएका छन् । स्रोतका अनुसार मन्त्रीले सिनियर सहसचिवलाई पन्छाउने र जुनियरलाई महत्त्वपूर्ण स्थान दिने परिपाटी बसालेकाले समस्या आएको हो । मैनाली केन्द्रको महाशाखामा गएका छैनन् । ‘मलाई सरुवा गरे पनि मन्त्रालयले रमाना दिएको छैन,’ मैनालीले भने, ‘प्रक्रियामा समय लागेको होला, कति समय लगाउने त्यो मन्त्रालयको कुरा हो ।’ गत साउनदेखि नै उक्त महाशाखाको प्रमुखमा पदम मैनाली कार्यरत छन् । मैनालीलाई दंगालसँगै राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्रमा सरुवा गरिएको थियो । भर्खर स्थापना भएको केन्द्रमा कार्यालय व्यवस्थित गरिएको छैन । स्रोतका अनुसार मन्त्रालयका सहसचिव मैनालीलाई तत्कालीन सहरीमन्त्री मेटमणि चौधरीले सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकबाट गत साउनमा सहरी महाशाखा सरुवा गरेका थिए । महानिर्देशकको कार्यभार सम्हालेको सात महिनामा गत जेठमा मन्त्रालय तानेर उनलाई सहरी महाशाखामा सरुवा गरिएको थियो । मन्त्रीबाट हट्ने बेलामा चौधरीले मैनालीलाई अनुसन्धान महाशाखामा सरुवा गरेका थिए । मन्त्रालयमा हाल कार्यरत १३ सहसचिवमध्ये मैनाली सबैभन्दा सिनियर हुन् । सहसचिव दंगाल काम र कुर्सी नपाएको अस्वीकार गर्दैनन् । भन्छन्, ‘सचिवज्यूले अह्राउनुभएको काम गरेर बसेको छु । त्यस्तो अप्ठेरो भएको छैन ।’ मन्त्रालयका अनुसार भवन विभागले वार्षिक २५ देखि ३० अर्ब बजेट खर्च गर्दै आएको छ । ‘बजेट नै ठूलो आकारको भएकाले विभागको महानिर्देशक बन्ने र बनाउने हानाथाप हुने गरेको छ ।’ मन्त्रालय स्रोत भन्छ, ‘त्यसैले २०७७ माघदेखि तीन वर्ष नपुग्दै चार जना महानिर्देशक फेरिए । मन्त्रीको निर्देशन र इच्छाअनुसार मात्र महानिर्देशक र मन्त्रालयका महाशाखा प्रमुख तोकिन्छन् ।’ यस अवधिमा नवराज प्याकुरेल, पद्मकुमार मैनाली, रामचन्द्र दंगाल र श्रेष्ठलाई महानिर्देशक बनाइएको छ । मैनाली हटाएर २०७८ जेठ १७ मा भवन विभागको महानिर्देशकमा सहसचिव दंगाललाई नियुक्ति गरिएको थियो । उनी साउन २६ मा सहरी मन्त्रालय तानिएका हुन् । स्रोतका अनुसार एउटै पार्टीका भए पनि चौधरी र त्यसअघिकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीबीच बोलचाल नै थिएन, त्यही भएर झाँक्रीको मान्छे भन्दै चौधरीले दंगाललाई विश्वास गरेनन् । दंगाल झाँक्रीको कार्यकालमा विभागको महानिर्देशक भएकाले मन्त्री चौधरीले दंगाललाई मन्त्रालय तानेर भवन आवास र योजना महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए । महानिर्देशकमा भने करिब तीन वर्षअघि सहसचिव भएका सुरेन्द्रमोहन श्रेष्ठलाई पठाए । त्यस्तै, दंगाल प्रमुख भएको आवास तथा योजना महाशाखाको जिम्मेवारी कनिष्ट सहसचिव दिलीप भण्डारीलाई दिइएको थियो । महानिर्देशक श्रेष्ठ र दंगाल एउटै मितिमा सहसचिव भएका थिए । त्यसैले श्रेष्ठको नेतृत्वमा बस्न अप्ठेरो मानेपछि भण्डारीलाई विभागको उपमहानिर्देशक नबनाएर मन्त्रालय ल्याइएको स्रोतको भनाइ रहेको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव प्रदीप परियारले आन्तरिक व्यवस्थापन मिलाउने क्रममा ढिलाइ भएको बताए ।