विद्युतीय सवारी साधन उत्पादनको तयारी

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १६,

मुलुकमा कोरियाली कम्पनीसँगको साझेदारीमा प्रदेश १ मा विद्युतीय सवारी साधन उत्पादनको तयारी गरिएको छ। प्रदेश १ मा विद्युतीय सवारी साधनको उद्योग स्थापना गर्ने विषयमा नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएसँगै विद्युतीय सवारी साधन उत्पादनको तयारी सुरू भएको हो। प्रदेश १ मै विद्युतीय सवारी उत्पादनका लागि कोरियाली साझेदारसँग सम्झौता गर्न नेपाली टोली फागुन १२ गते कोरिया पुगेको थियो। नेपालको एन के मोटर्स प्रालि र कोरियाको एसडीके कम्पनी बीच फागुन १३ गते नेपालमा विद्युतीय सवारी साधन उत्पादन गर्ने सम्झौता भएको थियो। प्रदेश १ को कुन स्थानमा उद्योग स्थापना गर्ने भन्ने विषयमा कोरियन कम्पनीका प्रतिनिधिले यही मार्चमा प्रदेश १ को भ्रमण गरेर उपयुक्त स्थानको छनोट गर्ने एनके मोटर्स प्रालिका अध्यक्ष टिकाराम पुरीले जानकारी दिए। सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनीका कार्यकारी अध्यक्ष डेइ की जङले हस्ताक्षर गरेका थिए। करिब तीन अर्ब रूपैयाँको द्विपक्षीय लगानीमा कोरियन प्रविधिमा आधारित विभिन्न विद्युतीय सवारी साधन उत्पादन गर्ने योजना रहेको छ। एनके मोटर्स प्रालिका अध्यक्ष टिकाराम पुरीले विद्यालय तथा कलेज बस र निजी तथा सार्वजनिक सवारिसाधनहरू यस कम्पनीले उत्पादन गर्ने बताए। उनका अनुसार एक वर्षभित्रै उत्पादनहरू बजारमा पठाउने लक्ष्य राखिएको छ। नेपालमा विद्युतीय सवारी साधनको माग बढ्दै गएका बेला प्रदेशभित्रै यस्ता सवारी साधनको उत्पादन गर्नका लागि यो प्रयास थालिएकाले प्रदेश सरकारसँग पनि आवश्यक समन्वय गरिने जानकारी दिए ।

Like