आगामी राष्ट्रपति निर्वाचनमा पौडेल भर्सेस नेम्वाङ, गठबन्धन ध्वस्त पार्न एमालेको रणनीतिक निर्णय

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १३,

मुलुकमा फाल्गुण २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै एमालेले पनि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार खडा गरेको छ । एमालेले २५ गतेसम्म आफ्नो पक्षमा नतिजा ल्याउने रणनीतिका साथ तत्काल सरकारमै रहेर राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने निर्णय गरेको हो । यो बीचमा एमालेले आठ दलीय गठबन्धन भत्काएर आफ्नो पक्षमा नतिजा ल्याउन भरपुर प्रयास गर्ने निश्चित छ । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। पौडेलअघि नै नेम्वाङले संसद भवन पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् । यस्तै समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् । एमालेले कांग्रेसबाहेकका सबै दललाई राष्ट्रपतिमा सघाउन पत्राचार गर्ने निर्णय पनि गरेको छ । शनिबार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पुगेर पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराए । राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् । यस्तै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् । राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन् । उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफू सबै हिसावले संविधानको परिपालना गर्न लाग्ने दाबी गरे । उनले स्वस्थ प्रतिष्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न आफ्नो भूमिका हुने बताए । उनले व्यवहारमा जनताको राष्ट्रपति अनुभुत हुने ढंगले काम गर्ने प्रतिवद्धता जनाए । संविधानसभा अध्यक्ष एवं पूर्व सभामुखसमेत रहेका उनले संविधानको संरक्षक हुने अवसर पाएको भन्दै संविधानको रक्षा गर्न लागि पर्ने बताए । यसैगरी पौडेलले भावी आफू सर्वसम्मत चयन हुने विश्वास ब्यक्त गरेका छन् । उम्मेदवारी दर्ता गराए पछि पौडेलले राष्ट्रपतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरेका हुन् । ‘ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, पुरानो साथी हो। उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु,’ पौडेलले सञ्चारकर्मीसँग भने, ‘मैले सर्वसम्मत बन्ने इच्छा गरेको हो। निर्वाचनको दिनसम्म कोसिस रहन्छ।’ उनले भने, ‘सबै हिसावले संविधानको परिपालना गर्न लाग्नेछु । आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास भएर नै उठिरहेको हो । स्वस्थ प्रतिष्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न लाग्नेछु । अब जनताको राष्ट्रपतिको व्यवस्था गरेका छौँ । व्यवहारमा जनताको राष्ट्रपति अनुभुत हुने ढंगले काम गर्ने मेरो प्रयास हुनेछ । हिजो संविधान सभामा रहँदा ३१ वटा राजनीतिक दलहरुको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भुमिका निर्वाह गरेँ । संविधानको संरक्षक हुने अवसर पाएको छु ।’ संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न अहिलेको चुनौती भएकाले आफ्नो भूमिका त्यसमा केन्द्रित हुने उनको भनाइ छ । ‘हाम्रो उम्मेदवार दाउपेचको होइन, पुस १० गते नै टुङ्गो लागिसकेको हो, हामीले बाहिर नल्याएका मात्रै हौँ,’ ओलीले सञ्चारकर्मीसँग भने, ‘सहमति पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौँ, वचनबाट कोही पनि पछि हट्न सक्दैन ।’ ८ दलीय गठबन्धन नै नबनेको जनाउँदै ओलीले हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दललाई मात्र बोलाइएको मात्र टिप्पणी गरेका छन् । ‘केही बिग्रिएको छैन, त्यो २५ गते थाहा पाउनुहुन्छ’ उनले भने । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सहमति अनुसार नै राष्ट्रपति चयन हुने विश्वास व्यक्त गरेका छन् । आठ दलीय गठबन्धन नरेको टिप्पणी गरेका अध्यक्ष ओलीले सहमतिबाट कोही भाग्न नसक्ने पनि बताएका छन् । ओलीले पूर्व सहमतिअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति अनुसार नै राष्ट्रपतिमा एमाले उम्मेदवार नेम्वाङलाई समर्थन गर्नेसमेत विश्वाससमेत व्यक्त गरेका छन् । मनोनयन दर्तासँगै दलहरुले आफ्नो पक्षमा माहोल बनाउन दौडधुप थालेका छन् उम्मेदवार पौडेल उम्मेदवारी दर्ताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पुगेका थिए । पौडेलले लामिछानेको हात्तिगौडा स्थित निवासमै पुगेर राष्ट्रपति चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् । यद्यपि लामिछानेले सहयोग गर्नेबारे स्पष्ट जवाफ दिएनन् । उनले पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने जवाफ पौडेललाई फर्काएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । यस्तै एमालेले पनि सबै दललाई मत दिन आग्रहसहित पत्राचार गर्ने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले कांग्रेसको आफ्नै उम्मेदवार रहेकाले उसलाई भने पत्राचार नगरिने बताए । यसैगरी नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठकबाटै सबै दलसँग मत माग्ने निर्णय गरिसकेको छ । कांग्रेसले प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रयोग गरेको शब्द ‘ढोक्सा’ निकै चर्चित भयो । त्यतिबेला उनले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापे पनि माछा नपर्ने बताएका थिए । तर, कांग्रेसले थापेको ढोक्सामा माछा परेको सहितको टिप्पणी सामाजिक सञ्जालमा भइरहँदा कांग्रेसकै शैलीमा ओलीले पनि ढोक्सा थापेका छन् । उनले २५ गतेसम्म सरकारबाट नबाहिरिने निर्णयसहित यस्तो ढोक्सा थापेको चर्चा छ । तर कांग्रेसले ओलीको चाहना पुरा नहुने स्पष्ट जवाफ दिइसकेको छ । प्रवक्ता डा.प्रकाशशरण महतले २५ गतेसम्म पानी धमिलो बनाउने प्रयास गरेपनि सफल नहुने बताए। जुन कुरा ओलीले संसदमा अर्को पटक सम्बोधन गर्दा पनि उनले उल्लेख गरेका थिए । उनको भनाइ थियो, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिए मतदान मात्रै गरेको भए त ठीकै हो । ढोक्सा थापेको हो भने गल्ती हो । ढोक्सा बेलुका थापिन्छ । अँध्यारोमा माछा पार्न खोजिन्छ ढोक्सामा । बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फर्क्यो । सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने काँग्रेसको रणनीति देखिन्छ ।’ ‘ उहाँ (एमाले)हरुलाई अझै २५ गतेसम्म पानीलाई धमिलो बनाउन सकिन्छ कि भन्ने आशय होला। तर, त्यो कुनै सम्भावना छैन,’ उनको भनाइ छ ।

Like