सहिदका नाममा पार्क र भवन, खर्च करोडौं, संरचना लथालिंग

Share to:

रासंसा/काठमाण्डौ, माघ २७,

मुलुकमा गोरखाका ९ स्थानीय तह जितेको माओवादी केन्द्रको अग्रसरतामा जनयुद्घसँग जोडिएका विषय र शीर्षक राखेर विभिन्न पार्क गेट, चोक, पोखरी र वाटिकामा करोडौंको बजेट विनियोजन। रानीवनमा पार्क लथालिंग भइरहँदा माओवादी जनयुद्धकै प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा बारपाक सुलीकोट–८ जराङमा करोडौंको लागतमा स्मृतिपार्क बनिरहेको छ। गाउँपालिका र संघ सरकारको संयुक्त ४ करोड रुपैयाँ लागतमा निर्माणाधीन दिलबहादुर रम्तेल स्मृतिपार्क अहिले निर्माणको अन्तिम चरणमा रहेको गाउँपालिका प्रमुख विष्णु भट्ट बताउँछन्। गोरखा : भवनको वरिपरि पर्खाल र तारबार। भवनसम्म पुग्न बाटो ढलान गरिएको छ। यति भए पनि बाटो बाहेकका भाग भने झाडीले ढाकिएको छ। झाडीबीचमा उभिएको भवनका झ्यालका सिसा फुटेका छन्। वाइरिङ तोडिएको छ। यो सबै देख्दा जो कोहीले सोच्छन्, ‘उद्देश्य ठूलै बोकेर बनाइएको होला। तर, किन लथालिंग भयो ?’ अहिले यस्तै प्रश्नको घेरामा छ गोरखा नगरपालिका–८ रानीवनको सहिद वासु स्मृतिपार्क। निर्माण सुरु गरेको १० वर्षमा पनि यसले पूर्णरूप नपाउँदा अहिले लथालिंग छ। जिल्लाका ९ स्थानीय तह जितेको माओवादी केन्द्रले जनयुद्धसँग जोडिएका विषय र शीर्षक राखेर यस्ता पार्कमा करोडौंको बजेट खन्याइरहेको छ। तर, त्यसको उपलब्धि भने देखिँदैन। जिल्लाका ९ मध्ये ६ वटा पालिकाले गाउँसभा तथा नगरसभाबाट चालू आर्थिक वर्ष २०७९÷८० मा जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेका शीर्षकमा बजेट विनियोजन गरेका हुन्। ती अधिकांश बजेट यस्तै कामममा पोखिएको छ। यसरी बजेट लगानी गर्नमा जनप्रतिनिधि पनि उत्साहित देखिन्छन्। ‘भीमसेनथापा गाउँपालिकामा यस वर्षको बजेट तथा कार्यक्रममा जनयुद्ध जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ताहरूको सम्मानमा कम्तीमा एक वडा एक योजना तथा परियोजनाहरू सञ्चालन गरिनेछ’, गाउँपालिका प्रमुख लोकप्रसाद बञ्जराले उत्साहित हुँदै भने। उहाँहरूको सम्मानमा सबै वडाहरूमा कुनै न कुनै संरचना बनाउने निर्णय भएअनुसार बजेट विनियोजन भएको छ’, बञ्जराले भने, ‘अनि जनयुद्ध संग्रहालय र भीमसेन थापा संग्रहालय बनाउने पनि निर्णय भएको छ। मुलुकमा परिवर्तनका लागि उनीहरूले ज्यान दिए, जीवन सुम्पिए। मैले नै परिवारै गुमाएँ। उहाँहरूलाई सम्झन कम्तीमा एउटा स्मारक त बनाउनु न्यायोचित नै हुन्छ।’ सहिदस्मृति गेट, सहिदस्मृति चोक, सहितस्मृति पोखरी, सहिदस्मृति वाटिका र जनयुद्ध संग्रहालय निर्माण गर्न यसवर्ष बजेट विनियोजन गरेको उनले बताए। पालिकाभित्रका आठवटै वडामा गेट, चोक, पोखरी र वाटिका निर्माण शीर्षकमा अ८ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका प्रमुख बञ्जराले जानकारी दिए। ‘मुलुकको परिवर्तनका लागि जनयुद्ध लड्दा सहिद तथा बेपत्ता हुने हाम्रो पालिकामा मात्र ३३ जना छन्। यसलाई अन्यथा दृष्टिकोणले हेर्न नहुने उनको भनाइ छ। ‘कांग्रेस र जनयुद्धको जगमा यो अवस्थामा आएको माओवादी गठबन्धन गर्न हुन्छ। मिलेर सरकार बनाउन हुन्छ। देश चलाउन हुन्छ भने त्यही जनयुद्धका सहिदका नाममा बनेका स्मारक, स्मृति पार्क बनाउने कार्यक्रमहरूप्रति असहमति किन ? साँगुरो दृष्टिकोणले हेर्नु हुन्न।’ त्यसैले आफूले पालिकामा जनयुद्ध संग्रहालय निर्माण शीर्षकमा चालू आर्थिक वर्ष १० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए। सहिद तथा घाइते, बेपत्ता परिवार छोराछोरी विद्यार्थीहरूका लागि छात्रवृत्ति व्यस्थापन गर्ने सो पालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूको स्मृतिमा सहिदपार्क निर्माण गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवस भव्य रूपमा मनाइने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। जनयुद्ध दिवस र गणतन्त्र दिवसलाई पालिकाले भव्यताका साथ मनाउने निर्णय गरेको उनले बताए। सहिद तथा बेपत्ताको नाममा विभिन्न आयोजनाहरू सञ्चालन गर्ने तथा सडकलगायतका आयोजनाहरूलाई सहिदको नाममा नामाकरण गर्ने योजना रहेको पनि उनले बताए। त्यस्तै गण्डकी गाउँपालिकाले सहिद स्मृतिपार्क शीर्षकमा चालू वर्ष २० लाख रुपैयाँ विनियोजन गरेको छ। पालुङटार नगरपालिकाले वडा नं. ८ मा सहिद स्मारक शौचालय निर्माण योजनाका लागि २ लाख रुपैयाँ र वडा नं. २ मा सहिद चौतारो निर्माणका लागि एक लाख रुपैयाँ विनियोजन गरेको छ। सहिद लखन गाउँपालिकाले प्रजातान्त्रिक आन्दोलन, १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा पालिकाभित्रबाट सहादत पाएका सहिद, बेपत्ता, घाइते व्यक्तिको सम्मानका लागि प्रतिष्ठान बनाउने कार्यक्रम घोषणा गरेको छ। माओवादी जनयुद्धकालीन स्मारकहरूमा सबैभन्दा धेरै बजेट तथा कार्यक्रम बारपाक सुलीकोट गाउँपालिकाले विनियोजन गरेको छ। सहिदका नामका साना, ठूला गरी यसवर्ष त्यहाँ १ करोड १ लाख रुपैयाँ विनियोजन गरेको सो पालिकाले जनाएको छ। गोरखा नगरपालिकाले वडा नं ८ मा सहिद प्रतीक्षालय(नानु) शीर्षकमा ५० हजार, वडा नं १२ मा सहिद वाटिका सडकखण्ड स्तरोन्नति शीर्षकमा एकलाख, सोही वडामा सहिद स्मृति हल पुनर्निर्माणका लागि १० लाख र सोही वडामा सहिद स्मृति पार्क निर्माण(देउराली गाउँ) का लागि दुई शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै छापथोक सहिद प्रतीक्षालय निर्माणका लागि ३ लाख, वडा नं. १२ मा सहिद स्मृति सभाहल पुनर्निर्माणका लागि १० लाख विनियोजन गरेको छ। माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा वडा नं. ८ जराङमा निर्माणाधीन दिलबहादुर रम्तेल स्मृतिपार्कका लागि यसवर्ष पनि सो गाउँपालिकाले दुई फरक शीर्षक बनाएर ४३ लाख रुपैयाँ विनियोजन गरेको छ। यो विगत वर्षको निरन्तरता हो। सो पालिकाको वडा नं. ६ ताकुकोटमा सहिदस्मृति भवन निर्माणका लागि ६ लाख, वडा नं. ६ मै सहिद स्मारक निर्माणका लागि ४ लाख रुपैयाँ विनियोजन गरेको छ। साथै वडा नं. ८ मा सहिद कौशिला तमु स्मृति प्रतीक्षालय निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै दिलबहादुर रम्तेल पार्कसम्म जाने सडक स्तरोन्नति गर्न ३० लाख र रम्तेल पार्कमा शिलालेख तथा सजावट शीर्षकमा बारपाक सुलीकोट गाउँपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको छ। सहिद दिलबहादुर रम्तेल स्मृतिकप खेलकुद कार्यक्रमलाई १० लाख, सहिद बेपत्ता परिवार सम्मान कार्यक्रमका लागि २ लाख रुपैयाँ विनियोजन गरेको छ। ‘यो संघ सरकार र स्थानीय तहको संयुक्त चार करोडको कार्यक्रम हो। ठेक्काको कामचाहिँ अब करिब–करिब सम्पन्न हुँदैछ’, अध्यक्ष विष्णु भट्टले भने, ‘वडाहरूले पनि सहिद, बेपत्ता तथा घाइतेहरूको स्मरणमा केही कार्यक्रमहरू गरेका छन्।’ गाउँ तथा नगरपालिकाले कुनै एउटा पार्टीको सहिद, बेपत्ता, घाइते आदिको नाममा बजेट छुट्याउनुलाई स्थानीय शासनसम्बन्धी विज्ञ खिमलाल देवकोटा सकारात्मक र नकारात्मक दुवै खालको मिश्रित प्रतिक्रिया दिन्छन्। एउटा पार्टीले जितेका बेला आफ्ना नेताका नाममा बजेट विनियोजन गर्दा, अर्को पार्टीले जित्दा त्यही नजिरअनुसार अर्का नेताको नाममा बजेट बाँडफाँट गरेर राष्ट्रिय ढुकुटी सकिने खतरा आउने उनको भनाइ छ। सहिद, बेपत्ताकै नाममा पनि यदि उत्पादनसित जोडेर बजेट बिनियोजन गरिएको भए यसलाई सकारात्मक रूपमा लिन सकिने उनको भनाइ छ। बारपाक सुलीकोट गाउँपालिकामा अघिल्लो कार्यकाल पनि माओवादीका विष्णु भट्टको टिम विजयी भएका थिए। उनले जनयुद्धका सहिद, बेपत्ता आदिका शीर्षकमा निर्वाध बजेट विनियोजन गरेका थिए। जनयुद्ध दिवस मनाएका थिए। नेपाली कांग्रेसबाट विजयी उपाध्यक्ष अमृता वस्ती तथा कांग्रेसबाट विजयी वडाअध्यक्षहरूले चर्को बिरोध गरे। अन्ततः कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गर्‍यो। ‘तपाईँहरू आफ्नो दिवस जसरी मनाउनुहुन्छ, मनाउनुस्, पालिका बिदा गर्न पाउनुहुन्न भनेर म र केही वडाअध्यक्षहरू बिरोध गर्‍यौं’, उपाध्यक्ष वस्तीले भनिन्, ‘तर हाम्रो कुरा सुनुवाइ भएन। जबर्जस्ती निर्णय गरे। मैले नोट अफ डिसेन्ट लेखेको छु। कांग्रेसबाट विजयी हुनुभएका वडाअध्यक्षहरूले निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुभएको छैन।’ यसपटक बारपाक सुलीकोटलगायत ७ वटा पालिकामा माओवादीको नेतृत्वले जितेको छ। ती पालिकामध्य भीमसेनथापा र गण्डकी गाउँपालिकाले यी शीर्षकमा अधिक बजेट विनियोजन गरेको छ। जनयुद्ध धुमधामले मनाउने निर्णय गरेको छ। साथै पालिकाभरि सार्वजनिक बिदा गर्ने पनि निर्णय गरेका छन्। अध्यक्ष, उपाध्यक्षसहित धेरै वडाअध्यक्ष जितेको बारपाक सुलीकोट गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा घोषणा गरेपछि माघ २२ गतेको कार्यपालिकाको बैठकले भीमसेनथापा गाउँपालिकाले सो दिन सार्वजनिक बिदा दिने निर्णय गर्‍यो। संविधानमा माओवादीले प्रयोग गर्ने ‘जनयुद्ध’ शब्द प्रयोग नभएको अवस्थामा स्थानीय तहले नै सार्वजनिक बिदा गरी जनयुद्ध दिवस मनाउन लागेको विषय पालिकास्तरमै विवाद बनेको छ। गण्डकी गाउँपालिकाको गत बुधबार सम्पन्न कार्यपालिका बैठकले पनि जनयुद्ध दिवस मनाउने र सो दिनमा पालिकाभर सार्वजनिक बिदा गर्ने निर्णय गरेको पालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले बताए। ‘पार्टीका वरिष्ठ उपाध्यक्ष, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि बनाएर जनयुद्ध दिवस भव्य रूपमा मनाउने निर्णय गरेका छौं’, तिमिल्सिनाले भने, ‘त्यस दिन पालिकामा सार्वजनिक बिदा दिने पनि निर्णय भएको छ।’ एउटा पार्टीको कार्यक्रम गर्दा पालिकामा सार्वजनिक बिदा गर्न नहुने आफूहरूको भनाइ नसुनी लतारेर निर्णय गरेको वडा नं. ३ का वडाअध्यक्ष ऋषिराम लामिछानेले बताए। ‘तपाईंहरूको पार्टीको कार्यक्रम जसरी मनाउनुहुन्छ, मनाउनुस् तर पालिकामा बिदा गर्न पाइन्न भनेर हामीले बिरोध गर्दागर्दै पनि लतारेर लगे। निर्णय गरिछाडे’, लामिछानेले भने, ‘हामीले माइन्युटमा साइन गरेका छैनौं।’ तर, सो बैठकमा आफू सहभागी नै नभएको उपाध्यक्ष ललिता अधिकारी बताउँछिन्। ‘बैठकको एजेन्डासहित खबर आएको थियो। अब त्यो प्रस्तावमा जति विरोध गरे पनि हाम्रो सुनुवाइ हुँदैन भन्ने थाहा थियो’, अधिकारीले भनिन्, ‘त्यहाँ गएर साक्षी बस्नुभन्दा बरु मिटिङमै जान्न भनेर मत गइन्। यदि उनीहरूको दाबी जायज हो भने देशभर सार्वजनिक बिदा दिएर केन्द्र सरकारले पनि जनयुद्ध दिवस मनाउन सक्नुपर्‍यो नि ! सक्छ ? जहाँजहाँ बल पुगेको छ, त्यहाँत्यहाँ जे पायो त्यही गर्न पाइँदैन।’ माओवादीले नै जितेका अरू पालिकाले भने जनयुद्धका सहिद, बेपत्ता आदिका नाममा बजेट विनियोजन गरेको पनि छैन। सार्वजनिक बिदा गरेर जनयुद्ध दिवस मनाउने निर्णय गरेको पनि छैन। माओवादीबाट विजयी भीमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जरा भने फराकिलो सोचाइ राखेर सबै पार्टीको अस्तित्व स्वीकार गर्न सक्नुपर्ने तर्क गर्छन्। ‘साँगुरो सोचाइ राखेर मुलुकलाई शान्ति प्रक्रियामा अघि बढाउन कहाँ सकिन्छ ?’, उनी भन्छन्, ‘जनयुद्धका सर्वोच्च कमाण्डरको नेतृत्व मुलुकले स्वीकार गरेको छ। मिलेर चुनाव लडेको छ, मिलेर सरकार चलाएको छ, अनि त्यही पार्टीले आह्वान गरेको जनयुद्ध दिवस अस्वीकार गर्ने साँगुरो सोचाइ राख्नु हुन्न।’

Like