एकीकृत ट्राफिक बत्ती उपत्यकाका ५५ स्थानमा जडान गरिने

Share to:

रासंसा/काठमाण्डौ, माघ २७,

मुलुकमा सडक विभागले काठमाडौं उपत्यकामा सवारीसाधनको चाप बढी रहेका ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने भएको छ। विदेशी विज्ञ बोलाएर ५० देखि ५५ चोकमा नयाँ किसिमका ट्राफिक बत्ती जडान गर्न छलफल गरेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। हाल उपत्यकामा सञ्चालनमा रहेका ट्राफिक बत्तीमा एकीकृत प्रणाली नहुँदा त्यसले अपेक्षाअनुसार सवारीसाधन व्यवस्थापन हुन नसकेको भन्दै विभागले नयाँ प्रणालीको तयारी अघि बढाएको हो। उनका अनुसार विभागले त्यसका लागि मूल्यांकन गरेर डिजाइन तयार गरिसकेको छ। उनले भने,’छिट्टै नै खरिद प्रक्रियामा जाने योजना रहेको छ।’ हाल सञ्चालनमा रहेका बत्तीमा ट्राफिक प्रहरीले समय परिवर्तन गर्न मिल्दैन। उनले भने,’एउटा दिशाबाट धेरै गाडी आयो भने ट्राफिक प्रहरीले परिवर्तन गर्न सक्दैन, ट्राफिक प्रहरीले अप्ठ्यारो हुँदा बन्द नै गर्दै आउनुभएको छ।’ नयाँ प्रणालीमा एउटा कन्ट्रोल रुममा बसेर आवश्यकताअनुसार कुन बत्तीको समय बढाउने कुनको घटाउने भनी गर्न सकिने महानिर्देशक थापाले बताए। काठमाडौंका सडकमा जडान भएका ट्राफिक बत्तीको प्रणाली अहिले बजारमा नपाउने हुँदा नयाँ जडान गर्न आवश्यक रहेको विभागले जनाएको छ। अहिले छुट्टाछुट्टै व्यवस्था गर्ने प्रणाली (आइसोलेटेड कन्ट्रोल सिस्टम) हुँदा माइतीघरको कन्ट्रोलबाटै र सिंहदरबार अगाडिको नियन्त्रण त्यहीँबाट गर्नुपरेकाले समस्या रहेको छ। झण्डै १० चोकमा ट्राफिक बत्तीमा समस्या आएको र मर्मतका लागि आवश्यक सामग्री नपाइएपछि मिल्ने किसिमका अरू सामग्री राखेर चालू गरिएको उनले बताए। सडक विभागबाहेक अरू निकायलेसमेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएको विभागले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा ५/१० वर्षमा नयाँ प्रणाली आउने हुँदा विभागले पनि नयाँनयाँ ल्याउन आवश्यक रहेको महानिर्देशक थापाले बताए। उपत्यकाका पालिका र वडा कार्यालयले पनि आश्यकताका आधारमा बत्ती जडान गरिरहेको सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले जनाएको छ। चालू आवमा कलंकी, बल्खु, सानेपा, धोबीघाट, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो र सातदोबाटोमा बत्ती जडान गरिएको थियो। उपत्यका बाहिर भने थोरै सहरमा मात्रै ट्राफिक बत्ती रहेका छन्।

Like