राष्ट्रपतिको गाँठो आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा फुकाइने
रासंसा/काठमाण्डौ, माघ २७,
मुलुकमा राष्ट्रपति निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्षनेताबीच छलफलले तीव्रता पाएको छ । ‘आगामी राष्ट्रपति को हुने ?’ भन्ने विषयमा घनीभूत छलफल अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र बनेको छ । सभामुख निर्वाचनअघि बसेको संयन्त्र बैठक त्यसयता बसेको छैन । बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारका साथै पछिल्लो समसामयिक राजनीतिक अवस्था’bout छलफल हुने एजेन्डा छन् । ‘सरकारलाई सहयोग गर्ने’ भन्दै सत्ता साझेदार दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज शुक्रबार बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्चस्तरीय संयन्त्र बैठक बस्ने जानकारी गराए । बिहीबार नै बस्ने भनिएको संयन्त्र बैठक नेताका कार्यव्यस्तताका कारण बस्न सकेन । उच्चस्तरी संयन्त्र बैठक बस्नुअघि हिजो बिहीबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उनीहरूले गत बुधबारसमेत छलफल गरेका थिए । गत सोमबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओलीसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा छलफल भएको थियो । राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख तीन दलको आ–आफ्नै रणनीति छ । माओवादी राष्ट्रिय सहमतिमा गर्नुपर्ने पक्षमा उभि“दै आएको छ । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । त्यसैलाई लिएर राजनीतिक दलका शीर्षनेता तीव्र आन्तरिक छलफलमा छन् । आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँचवर्षे कार्यकाल पूरा हुनै लाग्दा नयाँ राष्ट्रपति चयनका लागि सरगर्मी बढेको हो । एमालेले सत्तारूढ दलबीच भएको सहमतिअनुसार एमालेले पाउनुपर्ने र कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले आफूहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिइरहेको छ । तर, एमाले सरकार गठनअघि भएको सहमति एवं शक्ति बाँडफाँटअनुसार राष्ट्रपतिको उम्मेदवार पार्टीले उठाउने र त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा छ । एमाले, माओवादी केन्द्रसहितका सत्तारूढ दलले सरकार गठनअघि गरेको सहमतिअनुसार राष्ट्रपति एमालेको भागमा परेको थियो । सोही सहमतिअनुसार माओवादी केन्द्र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेकाले राष्ट्रपति निर्वाचनमा माओवादीले समर्थन गर्नुपर्ने एमाले नेताले जोड दिँदै आएका छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निर्वाचन राष्ट्रिय सहमतिमै गर्नुपर्ने प्रयासमा छन् । संसद्मा विश्वासको मत लिनेबेला दुईबाहेक सबै दलका सांसदले विश्वासको मत दिएकाले सबैको छलफल एवं सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । उता, कांग्रेस राष्ट्रपति आफूहरूले पाउनुपर्ने रणनीतिमा छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई माओवादीले सघाउनेमा विश्वस्त छ ।