बोर्डको उत्साहटमा नलाग्न निर्माता संघलाई अशोक शर्माको सुझाव

Share to:

रासंसा/काठमाण्डौ, माघ २६,

मुलुकमा फिल्म व्यवसायको सेयर बाँडफाँटको विषयमा नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र संघबीचको विवाद चर्किने देखिएको छ । छलफलमा रहेको यो विवादको विषय गत आइतबार निर्माता सङ्घले सञ्चार मन्त्री रेखा शर्मालाई बुझाएको ज्ञापन पत्रमा समेटेको भन्दै चलचित्र सङ्घले आपत्ति जनाइसकेको छ । एक हप्ताभित्र स्पष्ट धारणा नआए कार्यदल भङ्ग गर्ने चेतावनी निर्माता सङ्घलाई चलचित्र सङ्घले दिएको छ । निर्माता सङ्घका तर्फबाट मन्त्रीलाई बुझाएको ज्ञापन पत्रको केही बुँदाप्रति निर्माता सङ्घका पूर्व अध्यक्ष तथा चलचित्र सङ्घका पूर्व महासचिव अशोक शर्माले पनि असन्तुष्टि जनाएका छन् । उनले बोर्डको उक्साहटमा कसैले आफ्नो कार्य गर्न नहुने धारणा समेत राखेका छन् । निर्माता सङ्घले ज्ञापन पत्रमा वितरकहरूलाई विदेशी मुद्रा अपचलन गर्ने, राज्य कोष दोहन गर्ने, हुन्डी कारोबारलाई प्रोत्साहन दिने, आपराधिक कार्यमा संलग्न रहेको जस्तो गम्भीर आरोप लगाएको भन्दै एक हप्ताभित्र आफ्नो स्पष्ट धारणा सार्वजनिक नगरे कार्यदल भङ्ग हुनुका साथै निर्माता सङ्घको वर्तमान नेतृत्व रहँदासम्म कुनै सहकार्य, छलफल र वार्ता नगर्ने चलचित्र सङ्घले चेतावनी दिएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल चलचित्र सङ्घको प्रेस विज्ञप्तिमा उल्लेख भए बमोजिम विदेशी मुद्राको अपचलन, राज्य कोषको दोहन, आपराधिक क्रियाकलापमा संलग्न जस्ता बुँदाहरू निर्माता सङ्घको ज्ञापन पत्रमा समावेश गरिनु दुराशयपूर्ण कार्य हो । त्यसलाई तुरुन्त हटाई चलचित्र सङ्घसित समग्र निर्माताको हितमा कार्य हुने गरी विश्वासको वातावरण बनाउनु नै नेतृत्वको परिपक्वता हो । चलचित्र विकास बोर्डको उक्साहटमा हामीले हाम्रो कार्य गर्ने होइन । सबैलाई चेतना भया ।’

Like