प्रधानमन्त्रीको किसानले तरकारी फालेको घटनाप्रति ध्यानाकर्षण

Share to:

रासंसा/काठमाण्डौ, माघ २१,

मुलुकमा उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएका छन्। चिवतनमै रहेकी मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका छन्। प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी छिन्। शुक्रबार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराएका हुन्। कृषिमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्नेसमेत प्रधानमन्त्रीको तयारी छ।

Like