प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
रासंसा/काठमाण्डौ, माघ १०,
प्रधानमन्त्री पुष्पकमल दाहाल र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ। नेकपा एमाले प्रदेश संसदीय दल नेता अधिकारी सत्ता साझेदार दलहरूको समर्थनमा मुख्यमन्त्री भएका थिए।गण्डकीमा सत्ता साझेदार दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाका गरी ३१ जना सांसदले मुख्यमन्त्रीलाई समर्थन गरेका थिए।गण्डकीमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरूङ मन्त्री नियुक्त भइसकेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज भेटवार्ता भएको हो। मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री दाहालबीच समसामयिक राजनीतिक घटनाक्रम, गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अब गण्डकीमा तीन जना मात्र मन्त्री थपिनेछन्। यी तीन मन्त्रीमा कुन दलले कति पाउने भन्ने भागबण्डा मिलेको छैन। गण्डकीमा मन्त्रालय संख्या समेत घटाइएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो।