शब्द चित्रमा कवि पशुपतिमान प्रधान

Share to:

रासंसा/काठमाण्डौ, माघ ९,


डा. इन्दुल के.सी.
व्यक्ति एक प्रतिभा अनेक
भक्तपुर, नेपाल
सम्पर्क : ९८४१३३४११३

पशुपतिमान प्रधानको कविता
कति हन्डर खाएं, कति बल्ड्याङ खाएं, अत्तालिए, निस्सासिएर पछारिए ।
नियाली हेरेँ आफ्नो विगतलाई, आगतलाई पर्खी वर्तमान समालेँ ।।
भिरबाट लडें, खहरेबाट बगैं, यस्तो अवस्थामा, थापे साथीहरूले काँध ।
गाली गरे, झापट पनि हाने, गहभरि आँसु पारी अंगालो पनि हाले ।।
जे गरे जति गरे, मेरै लागि गरे, धन्य, म यस अवस्थामा पुग्न सकें ।
आज जे जति कमाएँ, यिनै शुभचिन्तकहरू कमाएँ ।।
मैले जे जति जोहो गर्न सक्थेँ, यिनै सहृदयी मित्रहरू साँचेँ ।
सन्चै छु, आनन्दित छु, मित्रहरूको साथ सहयोग पाएकै छु ।।
मेरा पथप्रदर्शक मित्रहरू, कहिले दिन्छन् गाली, कहिले दिन्छन् ताली ।
गालीबाट सच्चिन खोज्छु, तालीबाट हौसिन पुग्छु ।।
बन्धुबान्धवहरूकै माया पाई, धन्य आफूलाई ठान्छु ।

परिचय
चौरासी वसन्त पार गरिसक्नु भएका वरिष्ठ साहित्यकार श्री पशुपतिमान प्रधानज्यूले नेपाली भाषा र नेपाल भाषाका धेरै पुस्तकहरू लेखी पाठकमाझ प्रस्तुत गरिसक्नुभएको छ ।.उहाँको कविता, सन्दर्भ सामग्री, नाटक, पौराणिक श्रीस्वस्थानी व्रत कथा (नेपाल भाषा), असल मान्छे (नेपाली, नेपाल भाषा र अंग्रेजी भाषा एउटै किताबमा), नुग घाः (चोट), मलखं कःगु छेँ, नेवाः वाउ भतु, आदि पुस्तकहरु पाठकहरूमा बहुचर्चित छन् ।

कविको रुपमा
‘शब्द चित्रमा हामी’ संयुक्त कविता सङ्ग्रह, भक्तपुर सम्पर्क केन्द्रद्वारा २०७८ सालमा प्रकाशित पुस्तकमा विभिन्न ३७ जना कवि र कवियित्रीहरूमध्ये प्रधानजी उमेरको नाताले सबभन्दा जेष्ठ भएकोले सर्वप्रथम उहाँकै कवि परिचयको साथै उहाँले रच्नुभएको कविता ‘शब्द चित्रमा म’ शीर्षकको कविता रहेको छ । यो लेखमा अरु कविहरूको नभई केवल प्रधानजीको उक्त कविता र कवि व्यक्तित्व बारे मात्र परिचर्चा यहाँ गरिएको छ ।

समीक्षा
प्रा.डा. कृष्णप्रसाद दाहाल, त्रि.बी., पाटन संयुक्त क्याम्पस, ललितपुर
यस सङ्ग्रहका पहिलो कवि जो उमेरका दृष्टिले चौरासी वर्ष पुगेका छन् अर्थात् वि.सं. १९९४ सालमा भक्तपुरमा जन्मेका पशुपतिमान पःमाँ गाली र तालीमा नै आफ्नो जीवन हुर्किएको बताउँछन् ।

टीका श्रेष्ठ, भक्तपुर बहुमुखी क्याम्पस
पशुपतिमान पःमाँ प्रधानको कविताले जीवनका भोगाइ, अनुभूति, समस्या, समाधान र वास्तविक जीवनको यथार्थ बोलेको छ । कवितामा प्रयुक्त शब्दहरूका चित्रमा साँच्चै कविको जीवनचित्र देख्न सकिन्छ । जीवनको यथार्थको प्रस्तुति खुलेको अभिव्यक्तिमार्फत हन्डर–ठक्कर खाँदै जीवनका समस्यासँग जुध्दै गरेको वर्तमानमा विगतलाई नियाल्दै, भविष्यलाई पखँदै जीवनलाई सम्हालिरहेको यथार्थ अभिव्यक्ति छ । सङ्घर्षरूपी जीवनमा असल साथीहरूले काँध थापेको र जीवनको सङ्घर्षले आजको अवस्थामा पुगेको अनुभूति रहेको छ कवितामा । साथै जीवनमा कैयौं गाली, ताली पाएको र यसले आफूलाई सत्मार्गतर्फ प्रेरित गर्नुका साथै कैयौं शुभचिन्तक, सहृदयी मित्रहरू प्राप्त गरेको र यसमा आफू आनन्दित रहेको प्रसङ्ग प्रस्तुत छ । जीवनयात्रामा भेटिएका मित्रहरूलाई पथप्रदर्शकको रूपमा लिंदै सम्पूर्ण आफन्तबाट माया पाएकोमा धन्य ठानिएको छ । यसबाट सत्मार्ग पछ्याउन तथा सफलता प्राप्त गर्नका लागि असल मित्रहरूको सामीप्य र महत्त्व हुनेसमेत उजागर भएको छ । यहाँ कविको आत्मिक अनुभूतिको प्रस्तुतिका माध्यमबाट जीवनजगत्को सच्चाइ प्रस्तुत गरिएको छ। सार्थक जीवनका लागि असल मित्र प्राप्त गर्नु निकै महत्त्वपूर्ण रहेको यथार्थको प्रकटीकरण गर्दै जीवन भोगाइका क्रममा प्राप्त समर्थन र विरोधले पनि सन्मार्ग पछ्याउनका लागि अमूल्य भूमिका खेल्ने सत्यताको उजागर गरिएको छ । दुःखसुखसँग साटेका जीवनका विविध अनुभूति प्रस्तुत गर्दै सज्जनसँगको सामीप्यलाई जीवनको महत्त्वपूर्ण प्राप्ति मानिएको छ । गद्य शैलीमा रचित यस कविताले जीवनको यथार्थ स्वीकार गर्ने तथा समस्यासँग जुध्दै अगाडि बढ्ने चेतना प्रवाहित गरेकाले सन्देशमूलक छ ।
डा. सीता सुवेदी पन्थी, आदर्श मा.वि, मध्यपुर थिमी
पशुपतिमान पःमा (प्रधान) ः कवि पशुपतिमान पःमाको जन्म विस १९९४ मा भएको हो । उनका चारओटा कृति प्रकाशित भइसकेका छन् भने दुईओटा प्रकाशोन्मुख रहेका छन् । उनको ’शब्दचित्रमा म’ शीर्षकको कविता मुक्त लयमा रहेको छ । कविताका धेरैजसो पङ्क्तिहरूमा अन्त्यानुप्रासको संयोजन रहेको छ, जसले कविता पठनमा मिठास थपेको छ। आफूले जीवन जिउने क्रममा गरेका सङ्घर्ष, प्राप्त सफलता र असफलता, आफन्त र मित्रहरूको साथ र सहयोगबाट नै आफू आजको अवस्थामा आइपुगेकाले गौरवान्वित महसुस गरिएको भाव कवितामा रहेको छ ।

अन्तमा
१२ वर्ष शिक्षण पेशा तथा शिक्षा मन्त्रालय अन्तर्गत ३१ वर्ष सेवा गरी अवकाश प्राप्त गर्नुभएका पशुपतिमा पःमाँ नेपाल स्काउट राष्ट्रिय तालिम दलको सदस्य समेत हुनुहुन्थ्यो । उहाँको लेखन निरन्तर चली अरु पुस्तकहरू पनि प्रकाशन भई रहोस् भन्ने कामना गर्दछु ।

कविको परिचय

नाम ः पशुपतिमान पःमाँ (प्रधान)
जन्म ः वि.सं १९९४ असार १४
ठेगाना ः भक्तपुर नगरपालिका ७, जगाती
शिक्षा ः बिए, बिएड
पितामाता ः महेशमान तथा लक्ष्मीदेवी
पत्नी ः पारु
मातृभाषा ः नेपालभाषा
पेसा ः शिक्षण (१२ वर्ष–हाल निवृत्त),
शिक्षा मन्त्रालय अन्तर्गत ३१ वर्ष सेवा
लेखन आरम्भ ः विसं २०१३ देखि
हाल संलग्नता ः उपाध्यक्ष, नेपाल साहित्य मन्दिर, भक्तपुर सदस्य,
नेपाल स्काउट, राष्ट्रिय तालिम दल सदस्य, जिल्ला स्काउट, भक्तपुर, जिल्ला परिषद्
प्रथम रचना प्रकाशन ः २०३०

प्रकाशित कृति ः

 लोकं ह्वाःगु बाखं, सन्दर्भ सामग्री सहलेखन, प्रकाशन पाठ्यक्रम विकास केन्द्र, २०६४
 श्री स्वस्थानी बाखं, नेपाल भाषा, प्रथम सं २०७०, द्वितीय सं २०७१
 असल मान्छे, सिंम्ह मनु, म्भतभचनभलत एभचकयल, २०७१ (नेपाली, नेपालभाषा र अङ्ग्रेजीमा),
 असल मान्छे (श्रव्य नाटक)
 नुगघा चोट, ब्नयलथ, कथासङ्ग्रह, २०७२

प्रकाशोन्मुख ः
 मलखं कःगु छें, (कथासङ्ग्रह)
 नेवा वाउ भतु
दूरभाषा ः ९७४१००७०२३

Like