एमालेका खगराज गण्डकीमा मुख्यमन्त्री नियुक्त

Share to:

रासंसा/कास्की, पौष २५,

मुलुकमा गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट ४ मंसिरको निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी पूर्व गृहमन्त्री समेत हुन् । मुख्यमन्त्री अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३३ जनाको समर्थन छ । ६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित अधिकारीले सोमबार दिउँसो प्रदेश प्रमुसमक्ष दाबी पेश गरेका थिए । दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गरेका उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको दिउँसो साढे ४ बजे प्रदेश प्रमुख निवास सिमलचौरमा सपथ ग्रहण हुने छ । केन्द्रमा एमाले–माओवादी लगायत दलको गठबन्धनको बैठकले गण्डकीमा एमाले नेतृत्वमा पूरै ५ वर्ष काम गर्ने भागबण्डा लगाएका हुन् । गण्डकीमा तेस्रो ठूलो दल माओवादीले सभामुख प्राप्त गरेको छ । संघीयतापछि गण्डकीमा मुख्यमन्त्री बन्ने अधिकारी तेस्रो व्यक्ति हुन् । यसअघि एमालेकै पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको नेतृत्व गरेका थिए । हाल गण्डकीको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भने २७ सिट छ ।

Like