वाम एकता लागि माओवादी केन्द्रद्वारा पाँच सदस्यीय वार्ता टोली गठन

Share to:

रासंसा/काठमाण्डौ, पौष २३,

मुलुकमा सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले बृहत् वाम एकताको पहलका लागि भन्दै पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । टोलीमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टी एकताकै विषयमा दाहालसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत नेताले शनिबारमात्रै वार्ता गरेका थिए । त्यस्तै पहिले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सहयात्री दल नेकपा (एकीकृत समाजवादी)ले पनि वाम एकताको पहलका लागि सचिवालयलाई जिम्मा दिइसकेको छ । चुनावअघि नै एकीकृत समाजवादी र माओवादीले एकता संयोजन समिति बनाएका थिए । तर त्यसमा खासै प्रगति भने हुन सकेन । माओवादी बैठकले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत प्रदान गर्न प्रतिनिधिसभामा रहेका सम्पूर्ण दल तथा स्वतन्त्र सांसदहरुलाई आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री दाहालले २६ मंगलबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । दाहाल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएर ११ गते पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । दाहाल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत ७ वटा दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

Like