जसपाले भन्यो- पुस २७ मा सार्वजनिक विदा दिने कुरामा हाम्रो असहमति छ
रासंसा/काठमाण्डौ, पौष २३,
मुलुकमा जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने आधार तय भएको बताएको छ। न्युनतम साझा कार्यक्रममा आफ्ना एजेण्डाहरू समावेश भएको भन्दै विश्वासको मत दिने आधार तय भएको जनाएको हो। जसपाले पृथ्वी ज्यन्तीमा सार्वजनिक विदा दिने कुरामा आपत्ति जनाएको छ। ‘पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा सार्वजनिक विदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरासँग भने जसपाको असहमति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ। ‘जसपाले राखेका सर्तहरूप्रति सरकार सकारात्मक देखिएको पार्टीको बुझाइ छ। गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरुमध्ये २ वटा सर्तहरू समेटिएको देखिन्छ,’ जसपाले भनेको छ, ‘पार्टीका मूलभुत सिद्धान्तको प्रतिकुल नहुनेगरी नै मस्यौदा तयार भएको छ भने नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूतिजस्ता विषय पनि साझा न्युनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ। यस अर्थमा पार्टीले सरकारलाई विश्वासको मत दिने आधार तय भएको छ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने शर्त राखेको छ।