‘दलको नेता’मा प्रधानमन्त्री देउवाको ध्यान

Share to:

रासंसा/काठ्माण्डौ, पौष ३,

मुलुकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण ध्यान पार्टी संसदीय दलको नेतामा लगाएका छन्। मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवा पार्टी संसदीय दलको नेता बनेर फेरि सरकारको नेतृत्व गर्ने पक्षमा देखिएका हुन्। आइतबार बस्ने कार्यसम्पादन समिति बैठकले कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। संसदीय दलको नेतामा सकेसम्म सर्वसम्मतिबाट चयन हुने पक्षमा रहेका देउवा त्यसपछि मात्र नयाँ सरकार गठनका विषयमा अन्य दलहरूसँग छलफल अघि बढाउने पक्षमा छन्। शनिबार मात्र देउवालाई भेट्न पुगेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई पनि संसदीय दलको नेता चयनपछि मात्र प्रधानमन्त्रीसहित सत्ता साझेदारीका विषयमा छलफल गर्ने आश्वासन दिएका छन्। सरकारको नेतृत्व हस्तान्तरण गर्न देउवामाथि पार्टीभित्र र बाहिरबाट तीव्र दबाब परिरहेको छ। तापनि देउवा पार्टीभित्र सर्वसम्मतिबाट संसदीय दलको नेता बन्ने र अहिलेको गठबन्धनलाई नै निरन्तरता दिएर छैटौं पटक प्रधानमन्त्री बन्ने रणनीतिमा छन्। संसदीय दलको नेतामा विभिन्न नेताहरूले दाबी गरिहेका बेला प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सदस्यलाई एक्लाएक्लै भेटेर देउवाले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा चियापान आयोजना गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि अब बन्ने सरकारको नेतृत्व गर्न चाहेका छन्। देउवासँगको भेटमा नयाँ सरकार गठनसहित सत्तासाझेदारीका विषयमा दाहालले कुरा गर्न चाहेका छन्। दाहाल सकेसम्म आफू प्रधानमन्त्री बन्ने पक्षमा छन् नभए अन्य पदसहितको सत्ता साझेदारीको पक्षमा देखिएका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले प्रधानमन्त्रीसहितका विषयमा गठबन्धनमै छलफल गरेर टुंगोमा पुग्ने बताए। सत्ता गठबन्धनलाई जनताले अनुमोदन गरेको दाबी गर्दै कार्कीले सोही कार्यक्रममा भने, ‘अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बन्छ।’ संसदीय दलको नेता छिट्टै चुन्ने प्रक्रिया सुरु हुने कार्कीले जानकारी दिए। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कांग्रेस प्रतिनिधिसभाको ठुलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने कुरा स्वाभाविक भएको बताए। कांग्रेस संसदीय दलको नेता चयनका लागि केही दिनमै निर्वाचन हुने जानकारी दिँदै उनले अरू दलको सहयोग लिएर सरकार बनाउने भएकाले एकताको सन्देश दिन पनि सर्वसम्मत नेता चयनको प्रयास भइरहेको दाबी गरे। ‘पुष्पकमल दाहालले पनि प्रधानमन्त्री दाबी गर्नुभएको छ। यसलाई पनि हामी स्वाभाविक मान्छौं,’ देउवाले आयोजना गरेको चियापानपछि महतले भने, ‘तर सबै रूपमा कांग्रेसको नेतृत्व उपयुुक्त हुन्छ।’ कांग्रेसभित्र देउवाका साथै संसदीय दलको नेतामा शेखर कोइराला, महामन्त्री गगनकुमार थापासहितका नेताले दाबी गर्दै आएका छन्। संसदीय दलका नेता नभए पनि प्रधानमन्त्री बन्न सकिने भएकाले नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री शशांक कोइराला, प्रकाशमान सिंहसहित आकांक्षी छन्। निर्वाचन आयोगले चुनावी परिणाम बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने तयारीमा दलहरू छन्। तर कांग्रेस भने प्रतिनिधिसभा सदस्यको शपथपछि मात्र प्रधानमन्त्रीको दाबी गर्नुपर्ने पक्षमा छ। प्रतिनिधिसभा सदस्यको शपथ नभई प्रधानमन्त्री नियुक्त हुन नसक्ने भन्दै कांग्रेसले २०७४ सालको चुनावपछि राष्ट्रपतिले विधि मिचेको भन्दै विरोध गरेको थियो।

Like