फ्रान्स विश्वकप फुटबलको फाइनलमा
एजेन्सी,
विश्वमा फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो। फ्रान्सले क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकन राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो। पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सले अग्रता लियो। हर्नान्डेजले डिबक्स भित्र प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरे। फ्रान्सले दोस्रो गोल ७९औं मिनेटमा थपेको थियो। बल पोसेसनमा पक्कड जमाए पनि मोरोक्कोको गोल फर्काउने प्रयास सफल भएन। लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि रक्षाको लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ।