जापानका प्रमुख शहरहरुमा नेपाली राजदूतावास टोकियोले घुम्ती सेवा सञ्चालन गर्ने

Share to:

एजेन्सी,

विश्वमा डिजिटल पासपोर्ट बनाउन सास्ती व्यहोरी रहेका विशेष गरि टोक्यो बाहिर बसोबास गर्ने नेपालीहरुलाई अब सहज हुने भएको छ। नेपाली राजदूतावास टोकियोले जापानका प्रमुख शहरहरुमा केन्द्रित रहेर घुम्ती सेवाको सुरुवात गर्न लागेकोले नेपालीहरुलाई अब सहज हुने भएको हो। दूतावासले परीक्षणको रुपमा आगामी डिसेम्बर महिनाको ३ तारिख शनिबार साइतामा प्रान्तमा पहिलो घुम्ती सेवा उपलब्ध गराउने भएको छ। उपनियोग प्रमुख जोशिका अनुसार साइतामा केन खावागोए सिटि, वाकिता माची १७-०३ जेओवाई ०९ विल्डिगंको तेस्रो तला (सोलमारी रेष्टुरेण्ट)बाट घुम्ती सेवा संचालन गरिने भएको हो। जापानका विभिन्न प्रान्त तथा शहरमा बसोबास गर्दै आएका नेपालीहरुलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित दूतावासले घुम्ती सेवा सुरुवात गर्न लागेको नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख अम्बिका जोशिले नागरिकन्यूज लाई जानकारी दिए। विद्युतीय राहदानी सहित दूतावासबाट उपलब्ध सम्भव रहेका अधिकाशं सेवा घुम्ती सेवामा उपलब्ध गराउन लागिएको लागेको उपनियोग प्रमुख जोशिले बताए। पहिलो घुम्ती सेवा पश्चात आवश्यकता र माग अनुसार क्रमैसँग नेपालीहरुको जनसंख्या धेरै भएका नागोया, ओशाका, तोचिगी, फुकुओका, सेन्दाई, होक्काइदो, निगाता, गुन्माकेन, चिवा, हिरोसिमा, ओकिनावा लगायतका प्रान्त र स्थानहरूमा घुम्ती सेवा संचालन गरिने दूतावासले विज्ञप्ति मार्फत जनाएको छ। उल्लेखित स्थानहरुमा सन् २०२३ भित्रमा घुम्ती सेवा संचालन गरिने र सोको मिति, स्थान र समयका बारेमा राजदूतावासले पछि सूचना प्रकाशन गरेर जानकारी गराउने भएको छ। घुम्ती सेवामा विद्युतीय राहदानी, अधिकृत वारेशनामा प्रमाणिकरण, यात्राअनुमतिपत्र (Travel Document), कागजात प्रमाणिकरण (जन्मदर्ता), नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र लगायतका सेवाहरु उपलब्ध हुने दूतावासले जनाएको छ। नेपाल सरकारले २०२१ नोभेम्बरदेखि लागू हुने गरी विद्युतीय राहदानी जारी थालेको थियो। जापानस्थित नेपाली राजदूतावासले फेब्रुअरी २४, २०२२ देखि विद्युतीय राहदानी सम्बन्धी कार्यको शुरुवात गरेको थियो। जापानवासी नेपालीहरुको जनगुनासोलाई सम्बोधन गर्दै राजदूतको रुपमा नियुक्त भएर जापान आएको पहिलो सम्बोधनमै राजदूत डा। दूर्गा बहादुर सुवेदीले जापानभर घुम्ती सेवा संचालन सहित दूतावासको सेवा र सुविधालाई छिटो छरितो बनाउने घोषणा गरेका थिए। सोही अनुसार दूतावासले आफ्नो सेवालाई प्रभावकारी बनाउन घुम्ती सेवा संचालन सुरुवात गर्ने भएको हो।
विद्युतीय राहदानीका लागि आवेदन गर्ने पाँच वर्ष भन्दा बढी उमेरका आवेदकहरु फोटो खिच्न, ल्याप्चे लगाउन र बायोमेट्रिक औंठा छाप सही गर्न अनिवार्य रुपमा स्वयं राजदूतावासमा उपस्थित हुनुपर्ने भएको हुँदा आवेदकहरुलाई आर्थिक एवं अन्य व्यवहारिक कठिनाइ पर्दै आएको आम गुनासो रहँदै आएको थियो। दुतावासले घुम्ती सेवा सुरू गर्ने सार्वजनिक भएसंगै राजधानी टोक्यो बाहिर बसोबास गर्ने नेपालीहरुले दुतावासको यो कार्यको प्रशंसा गरेका छन्। स्थायी घर सिन्धुपाल्चोक भएर हाल नागोया शहर नजिक बस्ने धन बहादुर श्रेष्ठ दुतावासको यो कार्यले सँधै निरन्तरता पाउनुपर्ने धारणा राख्छन्। साथै दुतावासको फोन नउठने समस्याको पनि छिट्टै समाधान होस् उनी भन्छन् दुतावासले अभिभावकिय भुमिका निर्वाह गरोस्। उपनियोग प्रमुख जोशिका अनुसार दुतावासको फोन नउठ्ने समस्या क्रमशः हट्दै गएको र छिट्टै त्यो समस्याको पनि समाधान हुनेछ।

Like