उन्मुख महँगी अझै बढ्ने अर्थतन्त्र संकटमा

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १७,

मुलुकमा अर्थतन्त्रको आन्तरिक पक्षमा सन्तुलन बिग्रिएको भन्दै निजी क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरिरहेका बेला एक सरकारी अध्ययनले पनि अर्थतन्त्र थप जटिलतातिर उन्मुख भएको देखाएको छ। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार अर्थतन्त्र जटिलतातिर उन्मुख भएकाले मूल्यवृद्धि अझै बढ्ने देखिएको छ। बजारमा महँगी बढ्दा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ। नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले मुद्रास्फीति बढ्ने अनुमान गरिएको जानकारी दिए। ‘जनताले मूल्यवृद्धिलाई कसरी अनुभव गरेका छन् भनेर सर्भे गरिएको हो,’ श्रेष्ठले भने, ‘त्यसकै आधारमा प्रतिवेदन तयार गरिएको छ।’ चालु आवको पहिलो तीन महिना असोजसम्म मुद्रास्फीति बोर्डर लाइन क्रस गरेर ८.५० प्रतिशत पुगेको छ। यो सरकारले लिएको लक्ष्यभन्दा माथि हो भने पोहोरको तुलनामा करिब दोब्बर हो। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.२४ थियो। चालु आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि करिब ७ प्रतिशतभन्दा तल राख्ने सरकारको लक्ष्य छ। बोर्डर लाइन क्रस गरिसकेको अवस्थामा मुद्रास्फीति अझै बढेर जाने देखिएको छ। राष्ट्र बैंकले आगामी तीन महिनापछि मुद्रास्फीति दर १० प्रतिशत पुग्ने अनुमान गरिएको छ। एक वर्षपछि अपेक्षित मुद्रास्फीति दर १२ प्रतिशत हुने राष्ट्र बैंकले जनाएको छ। अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएकाले आन्तरिक पक्षमा पनि सुधार हुने अपेक्षा गरिएको उनले बताए। ‘बाह्य पक्षमा सुधार आउँदा आन्तरिक सन्तुलनमा केही समस्या छ,’ श्रेष्ठले भने, ‘मूल्यवृद्धि पुसपछि कम हुने अपेक्षा गरेका छौं।’ पछिल्लो एक महिनामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। गत महिना ६८ रूपैयाँ किलोमा बिक्री भएको मसिना चामलको मूल्य अहिले बढेर किलोको करिब ८० रूपैयाँ पुगेको छ। बजारमा चामल, खानेतेल, दाल, आँटालगायत वस्तुको मूल्य बढेको छ। १७ सय रूपैयाँ पर्ने २५ किलो चामलको मूल्य २ हजारभन्दा माथि पुगेको छ। भटमास तेलको मूल्य लिटरमै २० देखि ३० रूपैयाँसम्म बढेको छ। भटमास तेलको मूल्य बढेर २५० देखि ६० रूपैयाँसम्म पुगेको व्यापारी बताउँछन्। निर्वाचनका कारण पनि मूल्य बढेको हो। बजारमा पैसाको प्रवाह बढेपछि वस्तुको माग वृद्धि हुँदा मूल्य पनि वृद्धि भएको छ। रुस–युक्रेन युद्धले विश्वबजारमा पनि महँगी बढेको छ। त्यसको असर नेपालमा पनि देखिएको छ। अहिले युरोपमा मुद्रास्फीति १०/११ प्रतिशतमा पुगेको श्रेष्ठले बताए। ‘विश्वबजारमा मूल्यवृद्धि भएको छ,’ उनले भने, ‘बजार सन्तुलन कायम गर्न चनाखो हुनुपर्ने अवस्था छ।’ नेपालमा करिब पाँच वर्षअघि मुद्रास्फीति १०/१२ प्रतिशतसम्म पुगेको थियो। २०४६ सालमा मुद्रास्फीति २१ प्रतिशतसम्म पुगेको श्रेष्ठले बताए। ‘धेरै चिन्ता गर्नुपर्ने अवस्था पनि छैन,’ श्रेष्ठले भने, ‘सबैलाई ब्यालेन्स मिलाएर लैजानुपर्छ।’ मूल्यवृद्धिसँगै अर्थतन्त्रको आन्तरिक पक्षमा विभिन्न समस्या रहेको निजी क्षेत्रको गुनासो छ। अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा धेरै समस्या नभएको बताउँदै आए पनि निजी क्षेत्रको छाता संस्थाले अर्थतन्त्र गम्भीर संकटमा पुगेको बताउँदै आएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले अध्ययन गरेर बजार चक्र नै प्रभावित भएको बताएका छन्। ती संस्थाले उत्पादन र बिक्रीको बजार चक्र नै प्रभावित भएको दाबी गरेका छन्। एकातर्फ विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले केही वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा आयात घटेको छ भने अर्कोतर्फ बजारमा तरलता अभाव, महँगो ब्याज, वस्तुको मागमा कमी हुँदा उद्योगले उत्पादन कटौती गरेका छन्। उत्पादन र बिक्रीको चक्र भत्किँदा राजस्व, रोजगारी, मूल्यवृद्धिलगायत क्षेत्रमा असर पर्छ। मागमा गिरावट भएपछि उत्पादकले उत्पादन घटाएका छन्। सामानको मूल्य बढ्दा खरिद गर्ने क्षमतामा ह्रास आएको छ। उत्पादन गरेको वस्तु बिक्री नभएपछि उद्योगले उत्पादन कटौती गरेका हुन्। यसले माग र आपूर्तिको चक्र नै प्रभावित भएको हो। आयातमा कडाइ, बैंकको ब्याजवृद्धि, उपभोगमा आएको परिवर्तनले बजार चक्र नै प्रभावित भएको उद्योगी–व्यवसायी बताउँछन्।

Like