हाम्रा दिन कहिले फिर्छन्  ? प्रश्न तनहुँ बोटेहरुको

Share to:

रासंसा/तनहुँ, कार्तिक २७,

मुलुकमा देश निर्वाचनमय बनिरहँदा यो बस्तीलाई भने निर्वाचनले छुन सकेको छैन। तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट झन्डै आधा घन्टा हिँडेपछि उत्तरमा एउटा सानो बोटे गाउँ पुगिन्छ। उम्मेदवारसमेत भोट माग्न यो ठाउँमा कहिल्यै पुग्ने गरेका छैनन्। बोटे गाउँ व्यास नगरपालिकाभित्रै पर्दछ। उनीहरू पटकपटक मतदान गरे पनि उम्मेदवार को हो थाहै पाउँदैनन्। आफ्ना घरसम्म उम्मेदवार आउने र आफ्ना कथाव्यथा सुन्ने काम कहिल्यै नभएकोमा उनीहरूको गुनासो छ। तनहुँको व्यास नगरपालिका २ मा पर्ने यो गाउँका बोटेहरू हिजो माछा मार्ने पेसा गर्दै आए पनि हिजोआज अन्य व्यवसाय गर्न बाध्य छन्। व्यास नगरपालिकाको पाटनको बोटे गाउँमा पुग्दा उनीहरू बारीमा तरकारी लगाउन खनजोत गर्दै थिए। माछा मार्ने पुख्र्यौली कामबाट जीविकोपार्जन नभएपछि उनीहरू खेतीपाती गर्न थालेका हुन् तर उनीहरूलाई यसबाट पनि दैनिकी चलाउन कठिन भइरहेको छ। यो बस्तीमा चुनावमा कसलाई मत दिनेबारे चासो कहिल्यै हुँदैन। बरु जीविकोपार्जनकै चिन्ताले बोटेलाई रातदिन पोलिरहेको छ। पटकपटक निर्वाचनमा भाग लिएको बताउने यहाँका बोटेहरू देशमा व्यवस्था परिर्वतन भए पनि आफ्नो जीविकोपार्जनमा केही सुधार नभएकोमा चित दुखाइरहेका छन्। ‘हामीले धेरै ठूला कुरा मागेका थिएनौं, सीप, शिक्षा र बीउविजन मात्रै माग थियो, तर त्यो पनि कसैले दिएन’, व्यास नगरपालिकाका २ का यमबहादुर बोटेले नागरिकसँग भने। पारिवारमा छोराछोरीलाई राम्रो पढाउन नसकिएकाले अहिले होटलमा र गाडी सफाइका काम गर्ने गरेको उनले बताए। बोटे बालबालिकालाई सरकारी विद्यालयमा पठाए पनि अधिकांशले विद्यालय तह पनि पास गर्न सकेका छैनन्। चुनावले अन्यत्र मतदातामा चासो पैदा गराए पनि उनीहरूलाई को उम्मेदवार छन् केके विकास गर्ने भनेका छन्। कुनै चासो लिँदैनन्। ‘यहाँबाट भोट पाएर जितेर जानेले हामीलाई वास्ता गरेनन्। हाम्रो अवस्था सुधार भएन’, खड्क बोटेले भने। ‘पहिले माछा मार्ने कामबाट जीविका चल्थ्यो। नदीमा माछा पाउन छाड्यो। माछा मार्र्ने कामबाट विस्तारै परिवार पाल्न गाह्रो भयो। त्यसपछि भएका जग्गाजमिनमा मकै र तरकारी खेती गर्न सुरु गरे। तर बर्खामा मादी नदीले लगाएको आधाजति जमिन बगाएर लैजान्छ। परिश्रम त्यसै खेर जान्छ।’ तरकारी खेतीबाट पनि परिवार खर्च टार्न कठिन परेको गुनासो स्थानीय यमबहादुर बोटेको छ। उनी झैं यो बस्तीका सबैको उस्तै समस्या छ। दुःख गरेर एउटा छोरालाई १२ कक्षासम्म पढाएका उनले छोराका लागि सीप र रोजगार आवश्यक रहे पनि कहाँ गएर कसलाई भन्ने चिन्तामा छन्। ‘छोराले पनि आम्दानी गर्न थाल्यो भने परिवारको जीविकोपार्जन सहज हुन्थ्यो’, उनले भने। ‘हाम्रो चेतनास्तर कमजोर देखेर दबाउने काम भयो। निर्वाचनको केही दिनअगाडि यो बस्तीमा स्थानीय नेता–कार्यकर्ता आएर भोज गर्र्ने र आश्वासन बाँडेर भोट हाल्न लगाउँछन्।’ तनहुँ जिल्लामा सिंगो बोटे समुदायको अवस्थामा सुधार हुन सकिरहेको छैन। उनीहरूलाई सीप, शिक्षा र जीविकोपार्जनमा सहयोग आवश्यक भए पनि नपाउँदा अवस्था अरू बिजोग बन्दै गएको हो। आदिवासीअन्तर्गत अति सीमान्तकृत समुदायमा पर्ने बोटे जाति देशभर १५ हजारको हाराहारीमा छन्। तनहुँमा मात्रै ३ हजारको संख्यामा रहेका आदिवासी जनजाति महासंघका सहसचिव शेरबहादुर बोटेले बताए। तनहुँको रिसिङ गाउँपालिका, भानु नगरपालिका, व्यास नगरपालिकामा बोटे समुदायको बसोबास छ। त्यो बेला हाम्रा समस्या सुने पनि निर्वाचन सकिएपछि उनीहरूले हाम्रो कुनै वास्तै नगर्ने गरेको उनको गुनासो छ। स्थानीय दल र नेताहरूले बोटेका समस्यालाई समस्या नै नदेख्ने गरेको स्थानीयको साझा गुनासो छ। परिवार गतिलोसँग पाल्ने र बालबालिका राम्रा विद्यालयमा पढाउने उनीहरूको सपना सपनामै सीमित छ। रातदिन परिश्रम गरे पनि परिवार पाल्नै सकस छ। पुस्तौंदेखि यो क्षेत्रका बोटेहरूको जीवनस्तर उठाउन कसैबाट पहल भएको पाइन्न। ‘केही स्थानीय नेताले आश्वासन बाँडेर भोट लगे। तर आश्वासन पूरा नगरेपछि अब नेताहरूलाई आफ्ना कथाव्यथा भन्न पनि मन लाग्दैन’, खड्क बोटेले दुखेसो पोखे। पढेकालाई रोजगार र अरूलाई सीप अनि खेतीपाती गर्नेलाई बीउविजन दिएमा थोरै भए पनि सहयोग हुने सोमबहादुर बोटेले बताए। ‘उम्मेदवार नै आएमा हामी यी कुरा देऊ भनेर भन्थ्यौं तर अहिलेसम्म पाँचपटक मतदान गरे पनि उम्मेदवार नै देख्न पाइएको छैन। हामीकहाँ भोट माग्न स्थानीय कार्यकर्ता र टाठाबाठा व्यक्ति मात्रै आउँछन्’, खड्क बोटेले भने। अब खेतीपातीबाट पनि परिवार पाल्न गाह्रो भइसकेकाले अरू आयआर्जनका काम गर्न चाहेको उनी बताउँछन्।

Like