मुखै देखाउँदैनन् नेताहरू चुनाव जितेर गएपछि
रासंसा/ललितपुर, कार्तिक १९,
मुलुकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारलाई भोट माग्न भ्याइनभ्याइ छ। जनअभिमत लिएपछि जनताका घरदैलो नटेकेका दलका नेताहरू पाँच वर्षअघि झैं फेरि मत माग्न गाउँ पुगेका छन्, तर त्यस क्षेत्रका मतदातालाई भने निर्वाचनले खासै उत्साहित बनाएको छैन। निर्वाचनको माहोल तात्दै गर्दा उनीहरू भने आफ्नै खेती–किसानी तथा व्यवसायमा व्यस्त देखिन्छन्। लेलेकै स्थानीय सन्तमाया महर्जन निर्वाचनका बेला उम्मेदवारहरूले जनतालाई आश्वासन बाँड्दै आए पनि निर्वाचित भएर गएपछि मुख नै नदेखाउने गरेको बताउँछिन्। उनी निर्वाचनका बेला मतदाताका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि अर्काे निर्वाचन नआएसम्म निर्वाचित जनप्रतिनिधिको मुखसमेत हेर्न नपाएको बताउँछिन्। महर्जन निर्वाचित भएर गएकाहरू जनताका लागिभन्दा पनि आफ्नो व्यवस्थापन गर्नमा केन्द्रित भएको आरोप लगाउँछिन्। पाँच वर्ष पहिले हाम्रो क्षेत्रबाट उम्मेदवारले चुनाव जितेर गएपछि हाम्रा समस्याबारेमा कुनै चासो नदिएको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार बेरोजगारलगायतका समस्या छन्, त्यसमा नेताहरूको ध्यानै गएन। किसानका समस्या र दुःख यथावत् छन्। त्यसैले निर्वाचन आएर किसानलाई केही फरक पार्दैन। नेपाली ग्रामीण क्षेत्रमा बाँझो रहेका खेतीयोग्य जमिन प्रयोग गरी कृषि व्यवसायमा उत्पादन बढाउने तथा बन्द भएका कलकारखाना खुला गरी रोजगार सिर्जना गर्नेतर्फ जनप्रतिनिधिले ध्यान दिनुपर्ने किसानको राय छ। निर्वाचन क्षेत्र नं १ कि मतदाता निरू केसी निर्वाचनका बेला दलहरूले पैसा खर्च गरेर तथा भोज गरेर मतदाता आकर्षित गर्ने गरेको बताउँछिन्। ‘यहाँ जनताका समस्या सम्बोधन गर्नेले होइन, जसले पैसा खर्च गर्न सक्छ उसले नै निर्वाचन जित्छ’, उनले भनिन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका बेला पनि दलहरूबीच पैसा बाँड्ने र भोज गर्ने प्रतिस्पर्धा भएको बताउँदै उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि त्यस्तो प्रवृत्ति दोहोरिने बताउँछिन्। उनी निर्वाचनमा नयाँ दल र उम्मेदवार उठे पनि निर्वाचन जित्ने बेलामा भने पुरानै दल हाबी हुने बताउँछिन्। ‘नयाँले पैसा खर्च गर्न सक्दैन तर पुराना र ठूला दलहरूले जति पनि पैसा खर्च गर्न सक्छन्। त्यसैले निर्वाचनमा उनीहरूकै जित हुन्छ’, उनले भनिन्। दैनिक रूपमा महँगी बढ्दा पनि आफूले निर्वाचित गराएर पठाएका जनप्रतिनिधिले महँगी नियन्त्रणमा कुनै चासो नदिएको भन्दै उनले जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गरे। ‘महँगी बढेको छ। हामीजस्ता दुःखी र गरिबको मर्म कसले बुझ्ने ?’, उनले प्रश्न गरे। महँगीले आकाश छुँदा गरिखाने वर्गको आर्थिक अवस्था कमजोर भएको र बूढाबूढी मारमा परेको उनी बताउँछन्। ‘निर्वाचनका बेला घरदैलोमा आएर हात जोड्छन्। यस्तो गर्छु, उस्तो गर्छु यसपालि मलाई जिताउनुहोस् भन्छन्। जिताएर पठायएपछि नाकमुख नै देखाउँदैनन्’, उनले भने। यसैले पनि पुराना उम्मेदवारलाई फेरि पनि जिताउनु गल्ती हुने उनी बताउँछन्। केसीले दलहरूले निर्वाचन जित्नका लागि पैसाको प्रलोभन देखाउने गरेको बताउँदै गर्दा त्यही क्षेत्रका अर्का मतदाता कान्छा महर्जन भने अब पैसा दिने उम्मेदवारलाई मात्र भोट दिने बताउँछन्। ‘अघिल्लोपटक जिताएर पठाएका उम्मेदवारले हाम्रा लागि केही पनि गरेनन्। अब त भोटै हाल्दैनौं। भोट हाल्नुप¥यो भने प्रति भोट पाँच हजार दिनेलाई मात्र भोट दिन्छौं’, उनले भने। विगत पाँच वर्षको अवधिमा राजनीतिक दल र उम्मेदवारहरूले आफ्नै बोली कार्यान्वयन नगरेको निर्वाचन क्षेत्र नं १ तल्लो टोलकी शोभा डंगोल बताउँछिन्। अन्य मतदाताले जस्तै उनले पनि पाँच वर्षपहिले निर्वाचित भएर गएका सांसदहरूले नाकमुख देखाउनै नआएको बताउँछिन्। उनी आफूले जिताएका सांसद्ले अपेक्षाकृत काम पनि नगरेको गुनासो गर्छिन्। ‘यस क्षेत्रमा सडक पिच तथा मर्मत, स्वास्थ्य, शिक्षाजस्ता विषयमा केही फरक आएको छैन’, उनले भनिन्। उनी आगामी निर्वाचनमा नयाँ जनप्रतिनिधिलाई जिताउनुपर्ने धारणा राख्छिन्। डंगोल अघिल्लोपटक निर्वाचित भएर गएका उम्मेदवारले कामै नगरेको भने भन्न नमिल्ने बताउँछन्। ‘केही काम भएका छन् तर जनताले अपेक्षा गरेअनुसार नभएको मात्र हो’, उनले भने। उनी पछिल्लो समय ललितपुरको ग्रामीण क्षेत्रमा वन फँडानी तथा ढुंगाखानीका कारण स्थानीयले धमिलो पानी खानुपर्ने, क्षमताभन्दा बढी तौलका सवारीसाधन चापका कारण सडक भत्किने जस्ता समस्या भोगिरहे पनि निर्वाचित सांसदले त्यसको नियन्त्रणमा पहल नगरेको बताउँछन्। अब निर्वाचित हुने सांसदले यस्ता पक्षमा ध्यान दिनुपर्ने भन्दै डंगोल स्थानीयको माग सम्बोधन गर्न सक्नेलाई मात्र निर्वाचित गराउनुपर्ने बताउँछन्। क्षेत्र नं १ का मतदाता विश्वमान डंगोल आउँदो निर्वाचनमा आफूलाई मन नपरेको उम्मेदवार भएमा ‘नो भोट’ को विकल्प पनि मतपत्रमा राख्नुपर्ने बताउँछन्। ‘यदि निर्वाचनमा उठेका उम्मेदवारमध्ये कोही पनि योग्य छैनन् भन्ने मतदातालाई लाग्छ भने ‘नो भोट’ को पनि विकल्प हुनुपर्छ’, उनले भने। डंगोल आउँदो निर्वाचनमा स्थानीय तहमा जस्तै स्वतन्त्र र युवा अनुहारलाई निर्वाचित गराउनुपर्ने बताउँछन्। ‘पढेलेखेका र युवा चुनावमा उठे भने हामीलाई पनि खुसीका साथ भोट दिन मन लाग्छ’, उनले भने। अर्का मतदाता उत्तम सिजापति नेताहरू निर्वाचनका बेला भोट माग्ने आउने तर निर्वाचित भएपछि आफूले बोलेअनुसारको प्रतिबद्धता पूरा नगर्ने बताउँछन्। ‘सांसदमा निर्वाचित भएर गएकाहरूले केही काम त गरेका छन् तर निर्वाचनका बेला उनीहरूले जेजस्ता प्रतिबद्धता जनाएका हुन्छन्, त्यसअनुसार काम हुन सकिरहेको छैन’, उनले भने। ललितपुर क्षेत्र नं १ बाट अघिल्लोपटक नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार नवराज सिलवाल विजयी भएका थिए। उनले कांग्रेस उम्मेदवार उदयशमशेर राणालाई पराजित गरेका थिए। यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट सिलवाल र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार राणाले प्रतिस्पर्धा गर्दैछन्। त्यसका अतिरिक्त जनता समाजवादी, राप्रपा, मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन र विभिन्न स्वतन्त्रसमेत गरी २१ जनाले प्रतिस्पर्धा गर्दैछन्।