सर्लाहीमा हुलाकी मार्ग नबनाएकाे भन्दै दलका नेताहरुलाई आवातजावतमा रोक

Share to:

रासंसा/सर्लाही, कार्तिक १७,

मुलुकमा मंसिर ४ गते हुने चुनावलाई लिएर आजदेखि दलहरुले प्रचार प्रसार गर्न पाउने भएपनि सर्लाहीको कौडेनामा भने दल र तिनका नेता तथा उम्मेदवारलाई आवातजावतमा रोक लगाइएका छन् । अहिले कौडेना गाउँपालिकाका युवाहरुले संयुक्त रुपमा हुलाकी राजमार्गमा घाट राखेर टायर बालेर प्रदर्शन गरिरहेक छन् । तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग निर्माणमा लापरवाही गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै कौडेना वडा नम्बर ३ का वडाअध्यक्ष पचु चौधरीको नेतृत्वमा स्थानीय युवाहरुको समुहले नेताहरुलाई चुनावी प्रचारप्रसार गर्न आवतजावतमा रोक लगाएको कौडेनाबाट पत्रकार निरज यादवले जानकारी दिए । उनले प्रशासनले समेत हुलाकी सडक नबनाउने ठेकेदारलाई कुनै कार्वाही नगरेको भन्दै अब जनताले नै निर्णय गर्ने भन्दै आफूहरु सडक अवरुद्ध गर्न अघि बढेको बताए । उनले तत्काल सडकमा पानी छर्कने काम गरेर सडक छिट्टै बनाउने प्रतिवद्धता भएमात्रै सडक खुलाउने बताए । नेताहरुलाई आवतजावतमा रोक लगाउने कामकाे नेतृत्व गरेका वडा अध्यक्ष चौधरीले नेतृत्वबाट पटक पटक धोका भएकोले आवातजावतमै रोक लगाउने निर्णय गरेर आफूहरु सडक अबरुद्ध गर्न बाध्य भएको बताए । हुलाकी राजमार्ग नबन्दा स्थानियहरुले वर्षौ देखि शास्ती भोग्नु परेको छ, नेताहरुले चिल्लाे गाडी चढेर आउने गरेको हुदाँ धुलोको समस्यालाई मतलब नगरेको स्थानिय मनोज पासवानकाे भनाइ छ । धुलोले गर्दा हुलाकी राजमार्गमा दिनहु हजारौ मानिसहरु प्रभावित बनेको छ । नागरिक समाजका अगुवा रजनिकान्त झाले दबाब दिनु स्वभाविक भएकाे बताए ‘यो काम पहिला नै हुनुपर्ने थियो, युवाहरुले सरकारलाई ध्यानकर्षण गरे राम्राे भाे ।’ उनले भने ।

Like