रेखाको इन्ट्रीले मोरङ ३ मा सुनिल र भानुभक्तको भीडन्तमा तात्यो चुनावी माहोल
रासंसा/विराटनगर,
मुलुकमा आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदैछ । थापाको बढ्दो सक्रियताले क्षेत्र नम्बर ३ मा बेग्लै माहोल सिर्जना गरिदिएको छ। जन्मथलो यही क्षेत्रमा भएकी उनले मतदातालाई रिझाउन गरिरहेको प्रयासले शर्मा र ढकाललाई चुनौती थपिने देखिन्छ । मोरङ ३ मा २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । ढकालले १९ सय ७ मतले शर्मालाई पराजित गरेका थिए । ढकालले ४२ हजार चार सय १३ र शर्माले ४० हजार पाँच सय ६ मत प्राप्त गरेका थिए । यसपटक पनि ढकाल एमालेबाट र कांग्रेसबाट शर्मा दोहोरिएका छन् । राप्रपाकी रेखा थापाको प्रवेशले चुनावी माहोल तताएको छ । शर्माले सडक, सिँचाइ, खानेपानीको सहज सुविधा र गरिब समुदायकालाई चिकित्सा शिक्षामा निःशुल्क अध्ययन, युवालाई रोजगारी र खोलाको कटान जस्ता समस्यालाई चुनावी मुद्दा बनाएका छन् । थापाले स्वास्थ्य, शिक्षा निःशुल्क, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना, तटबन्ध, विकास निर्माण, यस क्षेत्रका जनताको जीवनस्तर उकास्नुलाई चुनावी मुद्दा बनाएकी छन् । यो निर्वाचन क्षेत्रमा पार्टीको मत कम भए पनि रेखालाई व्यक्तिगत भोट आउने राप्रपाको आस छ । घरदैलोमा थापाको क्रेजले भीड लाग्ने गर्छ । जस स्वरुप उनले आफ्नो कुराहरु खुलेर राख्न पाएकी छिन् ।
उनले भने आफ्नो पार्टीले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेर सुरु गरेको कामलाई गठबन्धनको सरकारले निरन्तरता दिँदै आएकाले अब चाँडै स्थायी समाधान पाउने दाबी गरे । ढकालले अपेक्षित काम गर्न नसकेको स्थानीयवासीको आरोप छ । अघिल्लो चुनावमा सुकुम्बासी समस्या समाधानलाई प्रमुख चुनावी मुद्दा बनाएका ढकालले संसदमा समेत आवाज उठाएकाले सुकुम्बासी समुदाय रुष्ट छन् । पूर्वस्वास्थ्यमन्त्री ढकालले जनताको गुनासोलाई अत्यन्त महत्वका साथ लिएको बताउँछन् । अघिल्लो निर्वाचनपछि जनतामा नआएको भनेर ढकालको टीकाटिप्पणी हुने गरेको छ । अघिल्लो निर्वाचनमा एकढिक्का देखिएको कांग्रेसमा महाधिवेशन र स्थानीय तह निर्वाचनमा संस्थापन पक्ष र इतर पक्षबीचको असन्तुष्टिको तुष मेटिसकेको छैन । यद्यपि शर्मा भने आफ्ना प्रतिद्वन्द्वी एमालेका ढकाललाई दोब्बर मत ल्याएर हराउने दाबी गर्छन्। घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले ढकाललाई ६० हजार मत ल्याएर जित हासिल गर्ने बताए । १४ औं महाधिवेशनमा उत्पन्न अन्नतरद्वन्द्व निर्वाचनको मुखमा साम्य हुँदै शर्मा दाबी गर्छन्। ढकालले अगाडि भने, ‘हाम्रो मान्छे हो, घुलमिल भएन, पहुँच पुगेन भन्ने नागरिकका गुनासाहरू आएका थिए त्यो सम्बोधन हुँदै गएका छन् । मबाट भएका केही कमीकमजोरी छन् भने त्यसलाई सुधार गर्नुपर्छ, गर्छु । नागरिकले मेरो बारेमा पनि राम्रो बुझ्नु भएको छ र मैले पनि नागरिकका समस्यालाई राम्रोसँग बुझेको छु ।’ ‘जोसुकै नागरिकले पनि आफूले जिताएर पठाएका जनप्रतिनिधिसँगै यही निर्वाचन क्षेत्रमा बसिदिए हुन्थ्यो भनेर सोच्नु, नजिकै हुन पाए हुन्थ्यो, आफ्ना कुरा सिधासिधी राख्न पाए हुन्थ्यो भन्नुलाई स्वाभाविक रूपमा लिएको छु । तर, नागरिकले के बुझ्नु भएको छ भने राजकीय रूपमा काम गरेको व्यक्ति अलिक व्यस्त हुन्छ । कानुन निर्माणको काममा लाग्नु पर्छ भन्ने पनि उहाँहरूलाई थाहा छ,’ उनले भने । यसअघि जितेका जनप्रतिनिधिले उक्त क्षेत्रको विकासको सिन्को पनि नभाँचेकाले गलत परम्परा तोड्न आफू चुनावी मैदानमा खडा भएको उनले बताइन्। आफूले जितेमा निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा थुप्रै काम गर्ने उनले बताइन् । अभिनेत्री रेखा थापा एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताउँछिन्। उनले आफू आश्वासन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पूरा गर्ने दाबी गर्छिन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले क्षेत्र नम्बर ३ अन्तर्गतका चारवटै स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ। यस क्षेत्रमा नौ दल र ६ स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा जिल्लाका ६ वटै क्षेत्रमध्ये सबभन्दा बढी एक लाख ४९ हजार आठ सय ३३ मतदाता छन् । क्षेत्र नम्बर ३ मा सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका २६ वटा वडा पर्छन्। कांग्रेसले वडागत रुपमा ३७ हजार ७६ मत प्राप्त गरेको छ। एमालेले १४ वटा वडाध्यक्ष जित्दा कांग्रेसले ११ वडामा जित हासिल गरेको छ। एउटा वडा स्वतन्त्रले जितेको छ। क्षेत्र नम्बर ३ मा माओवादीले सात हजार तीन सय ७३, राप्रपाले दुई हजार १२१ मत ल्याउँदा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले एक हजार ८५५ मत ल्याएका थिए। बेलबारी नगरपालिकाको उपप्रमुखबाहेक एमालेले तीन पालिकाको प्रमुख(उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको छ। वडाध्यक्षले २६ वटा वडामा पाएको मतका आधारमा एमाले थोरै मतले अघि छ। एमालेले वडागत रुपमा ३७ हजार ४१० मत प्राप्त गरेको छ। वडागत मतका आधारमा एमाले अघि देखिए पनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका कारण गठबन्धनको मत बढी छ। वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा सत्तारूढ गठबन्धन एमाले गठबन्धनभन्दा आठ हजार चार सय १४ मतले अगाडि देखिन्छ ।