एक-अर्कालाई भोट नहाल्नु गठबन्धनमा आवद्ध दलले आत्मघात हो – प्रचण्ड

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ४,

मुलुकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा आवद्ध दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताएका छन्। उनले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै उम्मेदवारहरुलाई सचेत गराए। उनले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर आफूले रुख चिन्हमा छाप लगाइसकेको र नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईरालाले हँसियाहथौडामा छाप लगाइसकेको टिप्पणी गरे। अध्यक्ष दाहालले वामपन्थी र लोकतन्त्रवादी शक्तिहरु मिलेर नै देशमा ठूलठूला परिवर्तन सम्भव भएको भन्दै प्रतिगमनलाई परास्त गर्न मिलेर अगाडी जानुपर्ने बताए। शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धनका दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताएका हुन्। अध्यक्ष दाहालले परिवर्तनका बिरोधी र निरंकुशताका पक्षधरहरुको अर्को गठबन्धन बनेको पनि उल्लेख गरे। उनले सो गठबन्धनमा देशको एकतालाई खण्डित गर्न चाहानेहरु केन्द्रित भएकाले हल्का रुपमा नहेर्न पनि नेता, कार्यकर्ताहरुलाई आग्रह गरे। उनले गठबन्धनभित्र जहाँ जसको उम्मेदवारी छ उसैलाई जिम्मेवारीबोध र खुसीका साथ भोट हाल्न आग्रह गरे।

Like