अन्य थपजीवनशैलीदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

‘जोगिन्दर’ अब आफैँ करोडपति, उनि चलचित्र ‘करोडपति’को पोस्टर टाँसेर जीविका चलाएका थिए

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २०,

मुलुकमा बिक्रम सम्बत २०५२ साल तिरको एक दिन, काठमाण्डौका सडकमा हिँड्दै गर्दा अहिलेका चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’को भेट अर्का अहिलेका चर्चित नृत्य निर्देशक शिव विकसँग भयो । त्यति बेला यी दुवै जीविकाको खोजीमा थिए । विक कलाकार बन्ने सोचले चितवनबाट काठमाण्डौ आएका थिए । पाटनमा बसेर मूर्ति बनाउने विकले उनलाई आश्रय दिए । करिब दुई महिना सडकमा भौँतारिएपछि जोगिन्दरले कोठाको बास पाएका थिए । विकसँग बस्दै गर्दा एक दिन ‘जोगिन्दर’ सडकमा निस्किएका थिए । केही मानिस माइकिङ गर्दै फिल्मको पोस्टर टाँसेर ट्याम्पुमा हिँडिरहेको उनले देखे । पोस्टर टाँसिरहेका ती मानिसहरूको नजिक गएर उनले कुराकानी गरे । भुवन केसीको फिल्म ‘करोडपति’ रिलिज भएको र दर्शक बोलाउन पोस्टर र माइकिङ गरिएको रहेछ । ‘मैले पनि बोल्न (माइकिङमा प्रचार गर्न) मिल्छ,’ उनले सोधे । ती व्यक्तिले उनलाई माइकमा प्रचार गर्न दिए । ‘मैले मजैले माइकिङ गर्दिएँ,’ रिजाल भन्छन्, ‘पहिले उनीहरूले माइकिङ गरेको ध्यान दिएर सुनेको थिएँ, त्यस फिल्मको प्रचार गर्न मैले सजिलै सकेँ ।’ कतिले निर्माताले भने उनलाई काम लगाएर पनि पैसा दिँदैनथे । ‘भर्खर राज्यको एक उच्च पदमा नियुक्त भएका एक व्यक्ति छन्, उनको नाम अहिले म लिन्नँ,’ जोगिन्दर दुःख सुनाउँछन्, ‘ती व्यक्तिले त्यतिबेलाको पोस्टर टाँसेको पैसा अझै दिन बाँकी छ । असार र साउनमा भिजिभिजी पोस्टर टाँसेको र गला सुकाइसुकाई कराएबापतको उनीसँग १० हजार रूपैयाँ लिनु थियो । माग्दा ती व्यक्तिले उल्टै गाली गरे र आफ्नो पुरानो लुगा थमाउँदै भने– यो दसैँमा यही लगाएर घर जा । तैँले यो लुगा अहिलेसम्म देखेको छैनस् ।’ यी वचन उनले अझै बिर्सन सकेका छैनन् । पोस्टर र माइकिङको कामबाट केही कमाउन थालेपछि घट्टेकुलोमा कोठा लिए, भाडा थियो चार सय रूपैयाँ । पाँचतले त्यो घरको ट्वाइलेटको पाइप उनकै कोठा भएर गएको थियो । ‘कसैले दिसा, पिसाब गरे सुनिन्थ्यो । सस्तो भएकाले म निकै समय त्यहाँ बसेँ,’ उनी भन्छन्, ‘पहिलोपटक लिएको त्यो कोठा हेर्न अहिले पनि बेलाबेला जान्छु । दुःखको बेलाको त्यो कोठाको अहिले पनि माया लाग्छ ।’ करोडपतिपछि ‘गाउँले’, ‘धर्मसंकट’ लगायत धेरै फिल्म प्रदर्शन हुँदा उनी माइकमा कराए, अर्थात् उनले जीविकाको काम पाए । काम गर्दै जाँदा पैसा पनि आउन थाल्यो । दिनभर माइकिङ र राति पोस्टर टाँस्थे । माइकिङको दुई सय र पोस्टर टाँसेको प्रतिगोटा चार रूपैयाँ आउँथ्यो । माइकिङपछि उनले फिल्मको रिल पुर्‍याउने काम पाए, देशका सबै हलहरूमा उनी पुग्नुपथ्र्यो । हलवालाले खुवाउने, सुताउने र निर्माताले भत्ता पनि दिने भएकाले करिब तीन वर्ष उनी यही काममा रमाए । भनिन्छ, दुःख नगरी सुख हुँदैन, त्यसको एउटा उदाहरण हुन्, ‘जोगिन्दर’ । उनी अहिले सफल कलाकारको रूपमा चिनिन्छन् । जीवनशैली पनि लोभलाग्दो छ उनको । काठमाडौंमा घर, गाडी सबैथोक छ, बिलासिताको जीवन जिउँछन् उनी । २०३६ मा सर्लाहीको एक मध्यम वर्गीय परिवारमा जन्मिएका जोगिन्दरको पुख्र्यौली घर भने सिन्धुली हो । उनका बुबा निकै जुवाडे थिए । बुबाको यो शैलीबाट उनकी आमा दिक्दार थिइन् । त्यसैले ०३४ सालमा उनकी आमा जुवा खेल नहुने ठाउँ सर्लाहीमा सपरिवार झरेकी रहिछन् । कमैलाई थाहा होला, यो अवस्थासम्म आउँदा उनले थुप्रै सगरमाथारूपी दुःख पहाड पार गरेका छन् । त्यतिबेलाको दुःख र संघर्ष सम्झँदा अहिले पनि उनका आँखा आँसुले भरिन्छन् । उनी आमाबुबाका बुढेसकालका छोरा हुन् । चार दिदी र एक दाइका भाइ उनी जन्मँदा आमाबुबाको उमेर क्रमशः ४५, ५४ वर्ष थियो । जोगिन्दरको नाम शिवशंकर रहनुको पनि कथा छ । उनका दाइ शारीरिक रूपमा कमजोर भएकाले आमामा अर्काे छोराको चाहना थियो । उनकी आमाले स्वस्थानीमाताको व्रत बसिन् र वर मागिन्– मेरा चार छोरी भए । एउटा भएको छोरो पनि मुसो जत्रो छ । मलाई दिन्छौ भने अब छोरो देऊ, हैन भने छोरी पुग्यो ।’ त्यसपछि जोगिन्दर जन्मिए, स्वस्थानी मातासँग मागेको भएर उनको नाम शिवशंकर राखियो । अहिले उनी कहिले गाडी त, कहिले बाइकमा हिँड्छन् । बाल्यकाल भने उनको दुःखदायी थियो । उनको परिवारले ३५–४० लिटर दैनिक भैँसीको दूध बेच्थ्यो । खेतीका लागि ४–५ बिघा जमिन थियो । ४–५ वटा भैँसी, जोत्न गोरु र केही बाख्रा समेत पालेका थिए । ‘बाल्यकालमा मैले भैँसी गोठालो गरेर परिवारलाई सघाउनुपथ्र्यो,’ उनी भन्छन्, ‘बिहान दुई घन्टा भैँसी चरायो, त्यसपछि स्कुल गयो । फर्किएपछि फेरि भैँसी गोठालो । मेरा आमाबुबाले त दिनमा १८ घन्टाभन्दा बढी काम गर्नुहुन्थ्यो ।’ उनी कक्षा ६ देखि हजारियाको श्रीसरस्वती माविबाट पढेका हुन्, घरदेखि ३ किलोमिटर हिँडेर स्कुल पुग्नुपथ्र्यो । स्कुलमा हरेक वर्षको सरस्वती पूजामा नाटक चल्थ्यो । टीभी अन्य मनोरञ्जनको साधन त्यतिबेला नभएकाले नाटक हेर्न १०–१५ किलोमिटर हिँडेर वरपरका गाउँका सबै भेला हुन्थे । नाटकमा उनी अलिअलि नाचेर, जोकर बनेर समेत हसाउँथे । ‘कक्षा ७ बाट कलाकारितामा झुकाव झन् बढ्दै गयो,’ रिजालले स्कुले दिन सम्झिए, ‘टिचर, गाउँघरमा ठूलाठालु सबैको क्यारिकेचर गरेर हँसाउँथे ।’ त्यो समय अहिलेजस्तो नेताको क्यारिकेचर नहुने उनले बताउँछन् । घरको काममा जति नै दुःख भए पनि उनको अध्ययन राम्रो थियो । ७०–८० विद्यार्थीमा उनी तेस्रो, चौथोसम्म हुन्थे । यद्यपि उनको ध्यान पढ्नभन्दा बढी हास्य कलाकारितामा थियो । स्कुलदेखि गाउँठाउँ र जिल्ला स्तरमा आयोजना हुने कार्यक्रम, मेला महोत्सवमा उनी हँसाउन पुग्थे । एसएलसीपछि उनी कलेज समयको प्रतीक्षामा थिए । एक दिन उनलाई कुकुरले टोक्यो । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेझैँ उनले उपचारका लागि काठमाडौं रोजे । काठमाडौं उनले धरहरा, चिडियाखाना, पशुपति, राजदरबार, सिंहदरबार हेर्न चाहेका थिए । उपचारका लागि केही पैसाको जोहो गरी उनी काठमाडौं आए । त्यतिबेला उनले फिल्ममा देखिने मानिसलाई भगवान् ठान्थे । फिल्ममा देखिने लोभले उनी काठमाडौंमै बस्न सोचे तर उनीसँग पैसा थिएन । कैयौँ रात उनी भोकै सुते, सडकपेटी वा पाटीमा । ‘कहिले त ७ दिनसम्म खान पाइनँ,’ उनी भन्छन्, ‘पशुपतिमा बस्दा भने हरेक दिन खान पाइन्थ्यो ?’ यसपछि उनको भेट शिव विकसँग भएको हो । २०५६ सालतिर, जोगिन्दरको रिल बोकेर हलवालाकहाँ पुर्‍याउने काम चलिरहेकै थियो । फिल्ममा सानोतिनो भूमिका गर्ने कलाकारलाई दर्शकले भगवान आएजस्तो व्यवहार गरेको, सम्मान गरेको उनले देखे । सानोतिनो कलाकारलाई यस्तो सम्मान ! हिरो हिरोइनलाई के होला ? उनले सोचे– कलाकारितामा नाम, दाम र सबैथोक रहेछ । दर्शकले कलाकार भनेर चिन्न थालेपछि उनी बिहान सधैँ निर्माता र निर्देशकको घरमा पुग्थे । आफ्ना लागि सानै भए पनि भूमिका माग्थे । एक दिन एक निर्माताले उनलाई गोदावरी बोलाए । बिहानै पुगेका उनले दिनभरि कुरे, अभिनयको पालो आएन । साँझ फर्कने समय पासिङ सट पाए । फर्कंदा सबै गाडी चढे, उनलाई प्रोडक्सनले चढ्नै दिएन । उनी भन्छन्, ‘गोदावरीबाट रुँदैरुँदै हिँडेर काठमाडौंको कोठामा आउँदा रातको ११ बजेको थियो ।’ त्यो बेला निर्माता गोपाल कर्माचार्यले रामकृष्ण ढकालको जीवनमा आधारित फिल्म ‘आशीर्वाद’ बनाउँदै थिए । फिल्ममा उनलाई रामकृष्ण ढकालको एकल साँझका लागि ट्याम्पुमा माइकिङ गर्दै दर्शक बोलाउने भूमिका हात पर्‍यो । फिल्म रिलिज भयो । रिल बोकेर जाँदा भन्दा कलाकार भएर हलमा जाँदा मानिसले हेर्ने दृष्टिकोणमा उनले फरक पाए । त्यसपछि उनले अर्जुन, पिँजडा लगायत धेरै फिल्ममा अभिनय गरे । २०५७ मा महन्त ठाकुर कानुनमन्त्री थिए । ठाकुर आफ्नै क्षेत्रका भएकाले जोगिन्दरले उनलाई सानैदेखि चिन्थे । उनले ठाकुरसँग जागिर मागे । ‘कलाकार बन्न आएको जागिर खानुहुन्छ र ?’ ठाकुरले जिस्काए । खान र बस्न सहज भए मात्र कलाकारिता अगाडि बढ्न सक्छ भन्ने उनको बुझाइ थियो । ‘म कलाकार नै हुने हो, बन्छु । खान र बस्न त जागिर चाहियो नि,’ उनले मन्त्रीलाई भने, ‘जसरी पनि जागिर चाहियो ।’ उनले गायक उदितनारायण झाले एक अन्तर्वार्तामा भनेको सम्झेँ– म गायक बन्न मुम्बई छिरेको थिएँ । खान र बस्न दश वर्ष संघर्ष गर्नुपर्‍यो । ‘अफिसमा म नासु थिएँ । सबैले मलाई नालायक सुब्बा भन्थे,’ उनले कारण खोले, ‘कलाकारिताले गर्दा अफिसमा हाजिर गर्‍यो कि टाप ठोक्थेँ ।’ अफिसको कामका नगर्ने भएकाले नालायक भनिएको उनले सुनाए । त्यति मात्र कहाँ हो र ? स्पष्टीकरण पनि सोध्थे । कलाकारिताले गर्दा उनी सधैँ अफिस बाहिर हुन्थे । मन्त्रीले उनलाई कानुनी किताब खानामा नायक सुब्बाको जागिर मिलाइदिए । करारको जागिर थियो, ६ महिनापछि स्थायी भए । जागिरपछि कलाकारिता अगाडि बढाउन उनलाई सहज भयो । कलाकारितामा पनि उनले सानोतिनो भूमिका मात्र पाउँथे । उनको मनमा लाग्यो– यसरी त कसरी राम्रो कलाकार हुने ? त्यसैले २०५९ सालमा गाईजात्रे एल्बम ‘सराद्धे’ निकाले । तत्कालीन राजनीतिक लगायत सबै परिस्थिति समेटिएको एल्बममा अर्का कलाकार शेखर खनालको सहकार्य थियो । २०५९ देखि अहिलेसम्म नियमित गाईजात्रे एल्बम निकाल्ने उनी एक्लो नेपाली कलाकार हुन् । यो वर्ष उनले गाईजात्रे कोसेली ‘गठबन्धन’ ल्याएका छन् । कहिले शेखर खनालसँग, कहिले सुरेन्द्र केसी ‘मुलासाग’सँग त कहिले एक्लै गरी २० वर्षदेखि उनको गाईजात्रे एल्बम यात्रा नियमित छ । फरक यति हो, पहिले अडियोमा मात्र आउँथ्यो, अहिले अडियो–भिडियो दुवै हुन्छ । त्यस एल्बमले रात्रिबस, रेस्टुरेन्ट, एफएम सबैतिर प्राथमिकता पायो । त्यही समय दिनेश डिसीको आयोजनामा खुलामञ्चको गाईजात्रे कार्यक्रममा भाग लिए ।२०६०/६१ मा कलाकार शेखर खनालसँगै मिलेर उनले आफ्नै सिरियल ‘एक्सक्युज मी’ सुरु गरे । नेपाल टेलिभिजनबाट शनिबार बिहान प्रसारण हुने सिरियलमा उनी मधेसको एक पात्रका रूपमा देखिए, जसको नाम ‘जोगिन्दर’ थियो । ४, ५ भाग सिरियल प्रसारण नहुँदै उनको भूमिका राम्रोसँग जम्यो । उनी सबैतिर चिनिन सफल भए । त्यही अभिनयले उनी शिवशंकरबाट बने, ‘जोगिन्दर’ । करिब ३० देशमा गई स्टेज प्रस्तुति दिइसकेका उनी भन्छन्, ‘त्यति बेलादेखिको मेरो करिअरको उडान अहिले पनि कायम छ ।’ त्यसपछि तितो सत्य, जिरे खुर्सानी, मेरी बास्सै, फिल्महरू, विज्ञानपन लगायतमा उनले मधेसी पात्रको भूमिका पाउँथे । अहिलेसम्म उनले चार दर्जन फिल्म, दुई सयभन्दा बढी सिरियल, सय बढी टेलिभिजन विज्ञापन, अनगिन्ती नाटक, दुई हजारभन्दा बढी स्टेज कार्यक्रम गरिसकेका छन् । अभिनयमा उनले कहिले सुरेन्द्र केसी ‘मुलासाग’ त कहिले शेखर खनाललाई जोडी बनाए । ०६७ मा हिमालय टेलिभिजन भर्खर खुलेको थियो । टेलिभिजनका सिइयो नारायण पुरीसँग उनले अमेरिकन एम्बेसीको एक सट फिल्म गरेका थिए । जसले पहिलो पुरस्कार जितेको थियो । त्यही चिनजानले पुरीसँग उनले टिभीको कार्यक्रम मागे । पुरीले कन्टेनका साथ भेट्न सुझाए । पुरीको सट फिल्ममा उनले डान्स रेस्टुरेन्टमुनि बस्ने पानपसलेको भूमिका गरेका थिए । जसले ग्राहकलाई पानसँगै कन्डोम दिँदै भन्थ्यो, ‘सुरक्षित यौन सम्पर्कका लागि कन्डम ।’ प्रत्येक वर्ष महोत्सवको पैसाले उनले काठमाडौं लगायत देशको विभिन्न ठाउँमा घडेरी जोडे । काठमाडौंमै घर–गाडीका अलाबा काठमाडौंसहित देशको धेरै ठाउँमा उनका घडेरी छन् । ‘नेता, कलाकार, बुद्धिजीवी लगायतले हाम्रो पालो कहिले भनेर फोन गर्न थाले,’ उनी भन्छन्, ‘११ वर्ष कार्यक्रम चल्यो । गेस्ट भएन भनेर कुनै दिन दोहोर्‍याउनुपरेन ।’ यसै कार्यक्रमले ‘जोगिन्दर’बाट आफ्नो नाम ‘जोगिन्दर पानवाल’ भएको उनले सुनाए । उनले त्यही पानवालाको कन्सेप्टमा टक सोको स्क्रिप्ट बनाए । पुरीलाई मनपर्‍यो । कार्यक्रम सुरु भयो, ‘जोगिन्दर पानवाल’ । कार्यक्रममा उनी गेस्टसँग रमाइला गफ गर्थे । पहिलो भागमै चर्चा भएको कार्यक्रम १० भाग नपुग्दै उनले गेस्ट खोज्ने होइन, गेस्टले उनलाई खोज्न थाले । अहिले भने त्यो कार्यक्रम छैन, कोरोनाका कारण बन्द भयो । लकडाउनमा उनलाई परिवारले बाहिर नस्किन दिएनन् । टेलिभिजनले पटक–पटक ताकेता गर्दा पनि उनले कार्यक्रमभन्दा ज्यान ठूलो भन्दै बेवास्ता गरे । आफूलाई बेवास्ता गर्‍यो भनेर टेलिभिजनले कार्यक्रम सदाका लागि बन्द गरिदियो । अहिले फेरि उनी ‘जोगिन्दर पानवाल २’ ल्याउने तर्खरमा उनी छन् । कार्यक्रम चर्चित मात्र भएन, उनको आर्थिक स्थिति झनै मजबुत बनायो । चिनजान पनि त्यत्तिकै बढ्यो । कलाकारिताको अनेक कामबाट उनी महिनामै तीन–चार लाखसम्म कमाउन थाले । ४–५ वर्ष यो रफ्तार चल्यो । पछिल्लो समय ग्लोबल एचडी टिभीमा पनि एक टक सो ‘जोगिन्दर मुखियाजी’ छ । जसमा अहिलेका चर्चित व्यक्तित्व, नेता, कलाकार, समाजसेवी, पत्रकार लगायत उनका अतिथि हुन्छन् । कार्यक्रमका लागि उनले मैथिली शैलीमा मुखियाको घर बनाएका छन् । त्यही बसेर उनी रमाइलो अन्तर्वार्ता लिँदै दर्शकको मन जितिरहेका छन् । २०७१ मा उनले साढे १८ वर्ष लामो सरकारी जागिर टुङ्ग्याए । डेढ वर्ष पर्खिएको भए पेन्सनमा रमाउन पाउँथे उनले । कलाकारिताको पिक आवरमा भएकाले अफिसका लागि समय दिन भ्याउँदैनथे । अफिसमा सबैले उनको रिस गर्थे, दुःख दिन्थे । उनले जागिर छोड्नुको पहिलो कारण हो यो । दोस्रो कारण हो, नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल सांस्कृतिक संघ । यसको महामन्त्रीमा चुनाव लड्न कर्मचारी भएर मिल्दैनथ्यो । कलाकारितामा मात्र होइन, राजनीतिमा पनि त्यत्तिकै सक्रियता छ उनको । नेपाली कांग्रेसको महासमिति सदस्य रहेका उनी केहीअगाडि महाधिवेशन प्रतिनिधि थिए । केहीअगाडि सम्पन्न महाधिवेशनमा धेरै नेताले केन्द्रीय सदस्य लड्न उनलाई सुझाव दिएका थिए । पपुलर कलाकार, जित्नुहुन्छ भन्थे । आफूभन्दा सिनियिर सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा सदस्य लड्ने कुराले उनलाई जिताउनुुपर्छ भनेर आफू अगाडि सरेनन् । ‘मैले जागिर तिलाञ्जली दिँदा परिवार, बुबाआमा धेरै रिसाउनुभयो,’ उनले ती दिन सम्झिए ‘केही दिन त कोही बोलेनन् ।’ जुनै कुरामा पनि रिक्स लिन नसके प्रगति नहुने उनको बुझाइ छ । ‘जागिर नछोडेको भए पेन्सन मात्र हुन्थ्यो । अहिले नाम, दाम, इज्जत सबथोक छ,’ उनी भन्छन्, ‘जागिर छोडेपछि म झन् लगनशील भएर काममा लागेँ ।’ सांस्कृतिक संघ मात्र होइन, समयले साथ दियो भने नेपाली कांग्रेस पार्टी र देश हाँक्ने उनको सोच छ । उनी भन्छन्, ‘भगवान् विष्णुको आशीर्वाद भयो भने देश हाँक्ने पहिलो कलाकारमा मेरो नाम हुन सक्छ ।’ अहिले उनी नेपाल सांस्कृतिक संघको महामन्त्री छन् । आगामी फागुनको अधिवेशनबाट एकपटक संघको नेतृत्व सम्हाल्ने उनको इच्छा छ । मंसिर ४ को चुनावमा सर्लाहीबाट समानुपातिकका लागि उनी एक नम्बरमा सिफरिस भएका थिए । उनी बन्द सूचीमा पर्ने सम्भावना थियो । तर, सांसद हुने निश्चित थिएन । ‘आफूभन्दा धेरै सिनियर नेता सूचीमा थिए । त्यसैले सांसद हुने निश्चित भएन,’ उनी भन्छन्, ‘बन्द सूचीमा परेपछि पाँच वर्ष कुनै राजनीतिक नियुक्ति खान नपाइने रहेछ ।’ ताक परे नियुक्ति खाने पनि उनको सोच छ ।

Like