विजया दशमी टिकाको शुभ साइत बिहान ११:५५ बजे

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १८,

मुलुकमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बिजया दशमी टीकाको शुभ साइत ११:५५ बजे सार्वजनिक गरेको छ ।

ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना, नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको संझना बिर्सना सल लल ल… शायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकैबेला अावश्यक पर्नसक्ने माया, स्नेह, सम्मान र हाैसलाको एकमुष्ठ उपहार हो दशैं । यस बर्षको दशैंको प्रमुख टिकाको यस विशेष दिनमा स्वागत छ । यो पावन पर्व हिन्दू धर्ममा मात्र सिमित नभएर एउटा सनातनी पर्व हो । यसलार्इ बाैद्ध धर्मावलम्विहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छः हिन्दूहरू रातो टिका लगाएर नव दूर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बाैद्ध अनूयायीहरू सेतो टिका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् । नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् । फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा मासुका विभिन्न मिठा परिकारहरू पक्कै पनि बनेका होलान् । गज्जबको पारिवारीक माहोलमा रमाइरहेकाहरु देखि परिवार अनि देशलाई सम्झेर परदेशमा टिको थाप्ने तयारी गरिरहनुभएको तपाई सबैलाई विजयादशमीको दशाैं दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज शहरदेखि असहज अन्कन्टार वस्ति समेत आज विहानैदेखि एउटा फरक रौनकमा सजिएर ब्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो-दैलो कूदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरि, सबैलाई दशैंको उर्जायूक्त रङ्गले छोएको छ । घरतर्फ टिका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरु टिका थापेपछी नयाँ, बास्नादार नोटहरु हात हातमा लिएर हिंड्दछन् । ति नोटहरुमा लतपतिएको अक्षताको रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाइलार्इ ? वैदिक सनातन धर्मानूयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजयादशमीको दशाैं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ । घरको मूल टिका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजू अनि अन्य मान्यजनकोमा पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टिका अनि जमरा लगाएर सपरिवार हिंडेका दृष्यले पनि हामी नेपाली पारीवारिक साैहार्दता र सामिप्यतामा कति विश्वास राख्छाैं भन्ने कुरालार्इ प्रस्ट पार्दछ । टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदैछौ । वैदिक सनातन धर्मका मन्त्रहरु नेपालीमा या अन्य भाषमा त्यती छैनन । अनेक देवी देवतालार्इ पूकार गर्दा संस्कृत भाषामैं भएका अनेक अर्थयूक्त मन्त्रहरु उच्चारण गर्ने गरिन्छ । आज नेपालका घरघरमा रातो टिका, जमरा अनि यी मन्त्रहरु शब्दोचारीत हुनेगर्दछन्ः
पुरुषलाई टिका लगाइदिंदा भन्ने मन्त्र
ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
ॐ द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।। सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।
महिलालाई टिका लगाइदिंदा भन्ने मन्त्र

ॐ जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात्ः ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं । असत्यमाथी सत्य तथा अन्यायमाथी न्यायको बिजयको प्रतिक यस पावन पर्व विजयादशमीको हार्दिक बधाई तथा अनेकानेक शुभकामना । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय-अत्याचार, अहंकार, दण्डहिनता, क्रुरता, भ्रष्टाचार तथा भोक र सोकले ब्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस् ! यी शुभाशिषहरुमा व्याख्या भए झै हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्नसकाैं । सत्य बोल्न, सत्कर्म गर्न, आदर-सम्मान गर्न कहिले नचुकौं, सम्पूर्णमा विजयादशमीको टिका, जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका अायामहरू थपिंदै जाउन् । ढ्याक्क जमेको दहीको चाइलालाई चामलमा हालेर अनि अबिर हालेर मुछेर अक्षता बनाईयो त ? टीकाको दिनमा बनेका हरेक दैलो अनि संघार भित्रका अक्षताहरुमा लक्षिन बसोस्, आशिष दिने मुखमा सरस्वती बसुन् अनि तपाँई सबैका अनुहारमा हर्षका धागाहरु बसुन्, अनेकानेक शुभकामना !!

Like