सडकको अवस्था २२ वर्षदेखि उस्तै

Share to:

रासंसा/संखुवासभा, आश्विन १४,

मुलुकमा सदरमुकाम खाँदवारीको लभिङहिलसम्म पक्की सडक छ। सोही पक्की सडक लभिङहिलमा सुनिल खड्काले ढुवानीको सवारी साधन लाइनमा राखेर बसेको चार दिन भइसक्यो। २२ अघिदेखि खाँदवारीमा गाडी चल्न सुरु गरेको भएपनि खाँदवारीदेखि मानेभञ्ज्याङसम्मको करिब २ किलोमिटर सडकको अवस्थामा उस्तै छ। पिच सडकभन्दा सय मिटर पर करिब चार फिट गहिराइमा फसेका ढुवानीका सवारी साधन कहिले निस्किएला भनेर पर्खेर बस्नेको ताँती छ। सुनसरीको इटहरीबाट अरुण तेस्रो जलविद्युत् आयोजनाको सिमेन्ट लिएर खड्का सोमबार बिहान नै खाँदबारी आइपुगेका थिए। उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालयले निर्माणको जिम्मा लिएको यस सडक आयोजनाको अवस्था प्रत्येक वर्ष वर्षाको समयमा हिलाम्मे हुने गरेको छ। बाटो सहज हुँदा ५/६ घण्टामा दोभान पुग्ने भएपनि अहिले त ५/६ दिन लाग्ने उनले बताए। सडक निर्माणमा सरकारले ध्यान नदिँदा सवारी चालकहरूले सास्ती खेप्नु परेको गुनासो गरेका छन्। नेताहरूले चुनावमा भोट माग्न सडक निर्माणका नारा प्रत्येकले लगाए पनि चुनाव जिते पछि बेवास्ता गर्ने गरेको उनीहरू बताउँछन्। लभिङहिलमा आइपुग्दा उनीभन्दा अगाडि ३५ भन्दा बढी ढुवानीका सवारी साधन लाइन बसेको थाहा पाए। ‘चार दिन बित्दा पनि अझै कति लाइन बस्नुपर्ने हो थाहा छैन। अझै ५१ किलोमिटर टाढा रहेको बरुण दोभान पुग्नु छ कहिले पुग्ने हो? ‘दोभान पुगेर फर्केकाहरू १० दिनमा पुगेर आएको भन्छन् यसपालीको दसैं सडकमै होला जस्तो छ,’ खड्का भन्छन्। बिहीबार बिहान ८ बजे नुमबाट खाँदवारी हिँडेका विश्वकर्मा दिउँसो ३ बजे मात्र खाँदबारी आइपुगेका थिए। उनी भन्छन् -‘धन्न आज ठूलो गाडीले कतै छेकेन र छिटै आइपुगियो।’ यात्रु बोक्ने साना सवारी साधनलाई ठूला मालवहाक सवारी साधनले नरोके छदेखि नौ घण्टासम्म लाग्ने गरेको सवारी चालक केवल विश्वकर्मा बताउँछन्। सदरमुकाम किनमेलका लागि आउनेले कम्तिमा पनि तीन दिन समय खर्चनुपर्ने छ। सो सडकमा महिना दिनयता मोटरसाइकल समेत सञ्चालनमा आएका छैनन्। मोटरसाइकल नै डुब्ने गरी हिलो भएपछि मोटरसाइकल चालक पनि गाडी प्रयोग गर्न थालेका छन्। हिलाम्मे सडकका कारण समयमा गन्तव्यमा नपुग्नुका साथै इन्धन धेरै लाग्ने र गाडी समेत छिटो बिग्रिने विश्वकर्मा बताउँछन्। नुम-खाँदबारी (३९ किलोमिटर) हिउँदमा तीन घण्टामा आइपुग्ने भएपनि अहिले पुरै एक दिन खर्चनुपर्ने भएको छ। सडकमा क्षमताभन्दा बढी क्षमता भएको ढुवानीको सवारी गुडाउँदा बाटो बिग्रिएको सडक कार्यालयका कर्मचारी बताउँछन्। यही बाटो हुँदै जिल्लाकै ठूलो आयोजना अरुण तेस्रो जलविद्युतको सवारी साधन सञ्चालन हुन्छन् तर सडक मर्मत तथा निर्माणमा ध्यान नदिएको सवारी चालकहरूको गुनासो छ। दोभानसम्म सडक आयोजनाले सडक ग्राभेल गरे पनि जलविद्युत् आयोजनाले क्षमताभन्दा बढीका ढुवानीका साधन गुडाउँदा ग्राभेलको नामनिसाना छैन। अरुण तेस्रो आयोजनाले सडक मर्मत नगरेको भन्दै मकालु र चिचिला गाउँपालिकाले पटक-पटक ढुवानीका सावारी साधनहरू सञ्चालनमा रोक लगाएका थिए। अरुण तेस्रो निर्माण कम्पनी सतलज जलविद्युत् निगम (एसजेभिएन) कम्पनीले पीडीएमा गरेको सम्झौतामा सडक मर्मत आयोनाले गर्ने भनिए पनि निर्माण कम्पनी मौन छ। दसैंका बेला यातायात सञ्चालन गर्न निर्माण कम्पनी, सडक कार्यालय र अरुण तेस्रो आयोजनाको सहयोगमा मर्मत सुरु गरिसकेको उनले बताए। आयोजना निर्माण कम्पनी, गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र राजनैतिक दलहरू बीच आयोजना निर्माण कम्पनीले तत्काल सडक मर्मत गर्ने सहमतिपछि यातयात सञ्चालन सुरु भएको थियो। खाँदबारीबाट नुमसम्म सातभन्दा बढी स्थानमा दैनिक रूपमा गाडी फस्दा यात्रु तथा सवारी चालकहरूलाई सास्ती हुने गरेको छ। सडक मर्मतमा दुइटा एक्स्काभेटर र चारवटा टिपर परिचालन गरिएको भएपनि कामले तीव्रता पाउन सकेको छैन। चाडपर्वको अवस्परमा लगिएका दैनिक उपभोग्य वस्तु तथा लत्तकपडा समयमा नपुगेको व्यापारीहरू बताउँछन्। सो सडक हुँदै चिचिला, मकालु र भोटखोलासम्मका यातायत सञ्चालन हुने गरेको छ। यस सडकमा अरुण तेस्रो जलविद्युत् आयोजनाका मात्र दैनिक एक सय सञ्चालन हुने गरेका छन्। त्रिदेशीय लिङ्क रोड किमाथांका-जोगवनी निमार्णले अझै गति लिन सकेको छैन। यस सडकमा चार अर्ब रुपैयाँभन्दा बढी खर्च भए पनि सवारी चालक सञ्चालनमा समस्या उस्तै छ। उत्तर दक्षिण कोशी सडक योजनाले सदरमुकाम खाँदबारीदेखि नुमसम्मको सडक कालोपत्रे गर्न १४ महिनाअगाडि नै शर्मा शीवशक्ति जेभी निर्माण कम्पनीलाई जिम्मा दिएको थियो। सरकारले किमाथांका-जोगवनी सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएपनि सडक निर्माण कार्य भने सुस्त गतिमा रहेको छ। ३९ किलोमिटर सडकको कालोपत्रे गर्नका लागि ४८ प्रतिशत घटेर निर्माण कम्पनीले ठेक्का लिएको हो। दुई अर्ब ६० करोडको ठेक्का शर्मा शिवशक्तिले एक अर्ब २७ करोडमा लिएको थियो। पिच गर्ने जिम्मा पाएको शर्मा शीवशक्तिले गत आर्थिक मसान्तसम्ममा सात प्रतिशत मात्र भौतिक प्रगति गरेको सडक आयोजनाले जनाएको छ। शर्मा शिवशक्ति जेभीले २०७८ असार १७ मा २०८० पुस १७ गते सम्पन्न गर्ने गरी सडक योजनासँग ठेक्का सम्झौता गरेको थियो। दैनिक भारी वर्षा भएकाले पनि सडक हिलाम्मे भएको श्रेष्ठ बताउँछन्। खाँदबारी-किमाथांका १६२ किलोमिटर अन्तर्गतको करिब ११ किलोमिटर ट्रयाक खुल्न बाँकी छ। निर्माणको जिम्मा पाएपछि निर्माण कम्पनीले सडक चौडा गर्ने क्रममा ग्राभेल गरिको सडक समेत हिलाम्मे भएको छ। सडकमा नयाँ माटो थपिएकाले सडक हिलाम्मे भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर किरण कुमार श्रेष्ठले बताए। भोटखोला गाउँपालिकाको च्याम्ताङ-घोङगोप्पाको १४ किलोमिटर ट्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ। कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक भएपछि २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सो काम सुम्पिएको थियो।

Like