ललितपुर जिल्लामा मात्रै १८ सय ३२ केस पुष्टि, बागमती प्रदेशमा ३७ सय २७ जनामा डेंगु, सरकारले डेंगुसँगै चिकुनगुनिया र जिका भाइरसबारे अध्ययन गर्ने
रासंसा/काठमाण्डौ, भाद्र २१,
मुलुकमा काठमाण्डौ एक्कासि ज्वरो आउने, शरीरको मांसपेशी,जोर्नी दुख्ने, बान्ता हुने समस्याले सतायो । ज्वरो र शरीर दुखाइले आत्तिएका जनसमुदायहरु परीक्षण गर्दा डेंगु पुष्टि नभए पनि डेंगु हुनसक्छ भन्नेमा छ । त्यस्ता बिरामीहरुले डाक्टरको सल्लाहमा औषधि सेवन गरिरहेपनि स्वास्थ्यमा समस्या आइरहेकाले स्वास्थ्य परीक्षणका लागि अस्पताल जान सल्लाह दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि अस्पतालमा डेंगु र डेंगुको जस्ता लक्षण देखिएका बिरामीको चाप बढेको सुनाउँछन् । डेंगु लक्षण लिएर आउने कतिपयमा दोहोराएर परीक्षण गर्दा नेगेटिभ रिजल्ट आएको सुनाउँछन् । एडीस जातकै लामखुट्टेले चिकुनगुनिया भाइरस फैलाउने उनले बताए । ‘अस्पताल आउने बिरामीमा ज्वरो आउने, जोर्नी अधिक दुख्ने,टाउको दुख्ने, मांसपेशीको दुखाइका समस्या लिएर आउनेहरूले परीक्षण गर्दा नेगेटिभ रिजल्ट आउँदा कतै एडिस जातीको ‘लामखुट्टेबाट उनीहरूलाई चिकुनगुनिया भाइरसले त सताएको छैन भनेर प्रश्न खडा भएका छ,’ उनी भन्छन्, ‘परीक्षण गरेर पुष्टि नभएसम्म चिकुनगुनिया भाइरस फैलिएको छ वा यसले यस्तो स्वास्थ्य समस्या ल्याएको भन्ने अवस्था छैन, यसका लागि अध्ययन गर्नुपर्छ ।’ त्यही आधारमा इडिसिडिले सेरोटाइपिङको अध्ययन अनुसन्धान गर्दा जसलाई डेंगुका लक्षण देखिएर परीक्षण गर्दा नतिजा नेगेटिभ आएका ती नमुनाहरूमा चिकुनगुनिया, जिका भाइरसको अध्ययन तथा अनुसन्धान गर्ने तयारी भइरहेको उनले सुनाए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले विभिन्न अस्पतालका डाक्टरहरुसँगको छलफलमा उनीहरूले डेंगु सँगसँगै अरू भाइरसजन्य रोगहरूको मिक्स्ड इन्फेक्सन भएको प्रारम्भिक जानकारी दिएको सुनाए । उनी भन्छन्, ‘हामी निरन्तर चिकित्सकहरूसँग परामर्श गरिरहेका छौँ । राय सुझाव लिइरहेका छौँ । डेंगुसँगै अन्य भाइरसहरू मिसिएको भन्ने उहाँहरूले प्रारम्भिक जानकारी दिनुभएको छ ।’ काठमाडौँ उपत्यकाका डेंगु सङ्क्रमितको दर ह्वात्तै बढेको छ । उपत्यका अस्पतालहरूमा डेंगुको परीक्षण तथा उपचार गराउने बिरामी बढेको अस्पतालहरूले जनाएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई सातायता ओपिडीमा दैनिक १२० जनाभन्दा बढी बिरामी पुग्नेछन् । जसमा दैनिक १५ भर्ना हुने गर्छन् । अस्पतालको आकस्मिक कक्षमा आउने बिरामीलाई उपचारका लागि बेड समेत थपिएको छ । डेंगुको जस्तो लक्षण देखिएका र नेगेटिभ नतिजा आएका नमुनाहरूमा चिकुनगुनिया, जिका भाइरस परीक्षणका गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छलफल चलाइरहेको उनले बताए । यस अध्ययनले डेंगुको लक्षण देखिदा परीक्षण गरिएको नतिजा नेगेटिभ किन भन्ने कुरालाई थाहा पाउन सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । यस्तै इडिसिडिले कति वटा नमुना परीक्षण गर्दा कतिमा डेंगु पुष्टि भन्ने थाहा पाउन आँकडा केलाइरहेको उनले बताए । यस्तै, बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल)ले डेंगुका बिरामी बढेपछि फिभर क्लिनिक सञ्चालन गरेको छ । अस्पतालका उपसचिव कृष्ण सापकोटाका अनुसार डेंगु परीक्षण र उपचार गराउने बिरामी दर बढ्न थालेपछि अस्पतालले डेंगु वार्ड नै सञ्चालन गर्ने तयारी गरिएको छ । उता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि तीन दिनयता डेंगुका बिरामी ह्वात्तै बढेको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार तीन दिनयता दैनिक १५० देखि १६० जना डेंगुका बिरामी परीक्षण तथा उपचारका लागि पुग्ने गर्छन् । हाल पाटन अस्पतालमा १५ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै, पाटनमा मात्रै साउन महिनायता ११ सय ८० जना डेंगु बिरामीलाई उपचार गरिएको उनले बताए । अस्पतालमा आकस्मिक उपचार कक्षमा डेंगुका बिरामी मात्रै ३९ उपचाररत छन् भने ३० जना बिरामी भर्ना भएको उपसचिव सापकोटाले बताए । निर्देशक शाक्यले तीन दिनयता डेंगुका लक्षण देखिएर अस्पताल उपचार गराउन आउने दर ह्वात्तै बढेको बताए । अस्पतालमा डेंगुको भई उपचार गराउन आएका मध्ये रगतमा सेतो मात्रा कम भएका र प्रेसर कम भएकालाई मात्रै अस्पताल भर्ना गर्ने गरिएको चिकित्सकहरू बताउँछन् । लक्षण देखिएका अधिकांशलाई घर मै पठाइने गरेका निर्देशक शाक्य बताउँछन् । उता त्रिवि शिक्षण अस्पताल ‘टिचिङ’ मा पनि ज्वरो आएर अस्पतालमा डेंगु परीक्षण गर्न पुग्ने दर बढेको छ । अस्पतालले ज्वरो आएर परीक्षण गर्न आउनेको १०० जना भन्दा बढी हुने बताए । हाल अस्पतालमा डेंगुका १५ जना बिरामी भर्ना भएको सूचना अधिकारी रामविक्रम अधिकारीले बताए । उनले अस्पतालका डाक्टर नर्स गरी १० जना डेंगु सङ्क्रमित भएको सुनाए ।
अचानक टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नी दुख्ने, बान्ता आउने लगायतका लक्षण देखिने गर्छ । प्रेसर कम भएका, खाना नरुच्ने, रगतमा सेतो मात्रा कम भएका, बान्ता धेरै हुने लगायतका समस्या देखिएका बिरामीलाई मात्रै अस्पतालले भर्ना लिने गरेको सिभिल अस्पतालका उपसचिव सापकोटाले बताए । डेंगु भाइरस सङ्क्रमण भएका करिब ८० प्रतिशत मानिसमा डेंगु देखिँदै । देखिएपनि सामान्य खालका लक्षणहरू देखिन्छ । नेपालमा गएको १० महिनामा ५ हजार २९ जना डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यका मात्रै नभएर सात प्रदेशमध्ये बाग्मती प्रदेशमा डेंगुका बिरामी ह्वात्तै बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तंथ्याकले देखाएको छ । बागमती प्रदेशमा मात्रै ३७ सय २७ जनामा डेंगु पुष्टि भएको छ । ललितपुर जिल्लामा मात्रै १८ सय ३२ केस पुष्टि भएको छ । काठमाडौँ ८८८, मकवानपुर ५९८ केस, रुपन्देहीमा ४३९ केस धादिङ १११ जनामा डेंगु पुष्टि भएको छ । बाँकी जिल्लामा एक भन्दा कम डेंगु सङ्क्रमित रहेको पाइएको छ । अस्पतालहरूमा डेंगुको जस्तै लक्षण देखिने तर, परीक्षण गर्दा डेंगु नेगेटिभ आउने गरेको चिकित्सकहरू बताउँछन् । काठमाडौँ उपत्यका काठमाडौँ,भक्तपुर,ललितपुरमा गरी २ हजार ८१९ केस पुष्टि भएको छ । यद्यपि ललितपुर जिल्लामा ललितपुर जिल्लामा मात्रै गएको १० महिनायता १८ सय ३२ केस पुष्टि भएको छ ।डेंगु सङ्क्रमित सबैभन्दा बढी बाग्मती प्रदेशमा भएझैँ हालसम्म सबैभन्दा कम कर्णाली प्रदेशमा ३६ जना सङ्क्रमित भएको पाइएको छ । यस्तै, मधेस प्रदेशमा ७५, सुदूरपश्मिमा ९५,गण्डकी १०१, प्रदेश नम्बर १ मा २२१, लुम्बिनी प्रदेशमा ७७० जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा गएको पुस महिनादेखि ७५ जिल्लामा डेंगु पुष्टि भएको छ । १० महिनाको अवधिमा ५ हजार २९ केस पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य शाखाका प्रमुख डा. दाहालले बताए । सन् २००४ देखि हालसम्म नेपाल ३० हजार ९९६ वटा केस देखिएको छ ।