निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ७६ दलको ६८ निवेदन

Share to:

रासंसा/काठमाण्डौ, भाद्र १४,

मुलुकमा आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले ६८ निवेदन पेस गरेका छन् । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आफ्नो केन्द्रीय कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिन १० देखि १२ भदौसम्म गरी तीन दिनको समय तोकेको थियो । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता गर्न तोकिएको समयभित्र ७६ दलले ६८ निवेदन दर्ता गराएको जानकारी दिए । समानुपातिक निर्वाचन प्रणालीका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलले आगामी २ असोजमा उम्मेदवारको बन्दसूची आयोगमा पेस गर्नुपर्नेछ । बन्दसूची पेस गर्ने दलले मात्रै आगामी निर्वाचनमा समानुपातिक प्रणालीतर्फको प्रक्रियामा सहभागी हुन पाउनेछन् । बन्दसूची नबुझाउने दलले भने समानुपातिक प्रक्रियामा सहभागी हुन पाउने छैनन् । त्यस्तै, प्रदेश सभातर्फ प्रदेश १ मा ५५ निवेदनमार्फत ६३ दल, मधेस प्रदेशमा ५९ निवेदनमार्फत ६७ दल, बाग्मती प्रदेशमा ५८ निवेदनमार्फत ६६ दल, गण्डकी प्रदेशमा ५२ निवेदनमार्फत ६० दल, लुम्बिनी प्रदेशमा ५४ निवदेनमार्फत ६२ दल, कर्णाली प्रदेशमा ४९ निवेदनमार्फत ५७ दल र सुदुरपश्चिम प्रदेशमा ५० निवेदनमार्फत् ५८ दलले निवेदन दर्ता गराएको आयोग प्रवक्ता शर्माले जानकारी दिए । ‘समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची बुझाउने दलको मात्रै मतपत्रमा निर्वाचन चिह्न कायम हुन्छ, दल दर्ताका लागि निवेदन दिए पनि उम्मेदवारको बन्दसूची नबुझाउने दलको समानुपातिकतर्फको मतपत्रमा चिह्न कायम हुँदैन,’ आयोग सहप्रवक्ता अर्यालले भने । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची बुझाउने दलको मात्रै मतपत्रमा निर्वाचन चिह्न कायम हुने जानकारी दिए ।

Like