नयाँ दिल्लीमा आचारसंहिता विपरित बनेका २ वटा ४० तले टावर भत्काउने तयारी टावर भत्काउन ३७ सय किलो विष्फोटक पदार्थ भवनमा जडान
एजेन्सी,
विश्वोमा भारतको राजधानी नयाँ दिल्ली नजिकै निर्माण गरिएका भारतकै सबै भन्दा अग्ला दुई वटा टावर आगामी आइतबार भत्काईने भएको छ । टावर भत्काउन ३७ सय किलो विष्फोटक पदार्थ भवनमा जडान गरिसकिएको छ । एपेक्स र सियान नाम दिइएका ती दुवै टावर करिब १२ सेकेण्डमा ग्राउण्ड जिरोमा ल्याइने छ । घना बस्ती नजिकै यति ठूलो विष्फोट गराउनु निकै चुनौती हुने भएकाले आइतबार टावर भत्काउनुलाई विश्वकै बिरलै घटना भनिएको छ । नयाँदिल्ली नजिकै उत्तर प्रदेशको नोएडामा निजी कम्पनी सुपरटेकले बनाएका ४० तले ट्वीन टावर विष्फोटन मार्फत भत्काउने तयारी गरिएको हो । सर्वोच्च अदालतले भवन आचारसंहिता उल्लंघन गरी निर्माण गरेको ठहर गर्दै भत्काउन आदेश दिएसँगै प्रशासनले भवन भत्काउने सबै व्यवस्था मिलाएको भारतीय संचार माध्यमले जनाएका छन् । टावर भत्काउनका लागि तीन वटा देशका विज्ञ इञ्जिनियरहरुको टिम खटिरहेको छ । भवन भत्काउँदा ४ रेक्टर स्केलको भूकम्प गए बराबरको कम्पन आउने छ । तर पनि टावर भत्काउन पूर्ण रुपमा सुरक्षित हुने वरिष्ठ इञ्जिनियर मयुर मेहताले बताएका छन् । यी टावर आसपास बस्ने ७ हजार मानिसलाई आइतबार बिहानसम्म अन्यत्रै सारिने भएकाे छ । टावर भत्काएकाे ५ घण्टापछि मात्रै उनीहरुलाई घर फर्कन दिइने भएकाे छ । त्यसैगरी त्यस क्षेत्रका घरपालुवा जनावर तथा अन्य जीवजन्तुलाई पनि निकै टाढा पुर्याएर राखिने भएको छ । टावर भत्काउदा करिब १ हजार फिट माथिसम्म धुलोको मुश्लो जाने भएकाले विमानस्थल तथा वायुसेनालाई पूर्वसतर्कता अपनाउन भनिएको छ । टावर भत्काउने क्रममा तीन जना विष्फोटक र तीन जना प्रहरीलाई मात्रै त्यस साइटमा उपस्थित हुने अनुमति दिइएको छ । यी दुई टावर भत्काएपछि ३० हजार टन भग्नावशेष थुप्रिने अनुमान गरिएको छ ।