श्रीलंकाका नेता रामानायके रिहा
एजेन्सी,
विश्वमा श्रीलंकाका न्यायाधीशमाथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा गत वर्ष जेल परेका एक मुखर राजनीतिज्ञलाई राष्ट्रपतिले माफी दिएपछि शुक्रबार रिहा गरिएको छ। सन् २०२१ को जनवरीमा उनलाई अदालतको अवहेलनागरेको अभियोगमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाइएको थियो तर राष्ट्रपति रानिल विक्रमासिङ्घेले रिहाइका लागि निर्देशनपछि उनी रिहा भएका हुन्। सन् २०१७ मा उपमन्त्रीका रूपमा कार्यरत ५९ वर्षीय रञ्जन रामानायकेले पत्रकारहरूसँगको कुराकानीमा अधिकांश न्यायपालिका बेइमान छन् र ‘पैसाका लागि काम गर्छन्’ भनेपछि अदालतको अवहेलना गरेको आरोपमा उनीविरूद्ध मुद्दा परेको थियो। राजधानी कोलम्बोस्थित कारागारबाहिर आयोजित पत्रकार सम्मेलनमा रामनायकेले भने, ‘म भ्रष्टाचारविरुद्धको अभियान जारी राख्नेछु। ‘म चुनाव लड्न चाहन्छु र जनताका लागि काम गर्न चाहन्छु।’ रामानायकेले अदालतसँग माफी मागेपछि राष्ट्रपतिले माफी दिएको एक सरकारी अधिकारीले बताएका छन्। सामाजिक सञ्जालमार्फत बाहिरिएका अश्लील र आपत्तिजनक सामग्रीहरूमा रामनायकेले न्यायाधीश, प्रहरी, राजनीतिज्ञ र स्थानीय सेलिब्रेटीसँग अदालती मुद्दाबारे बहस गरेको पाउन सकिन्छ। रामनायकेले भ्रष्टाचारविरुद्ध बोलेका कारण आफूलाई निशाना बनाइएको दाबी गरेका छन्।उनलाई सन् २०२० मा पनि पक्राउ गरिएको थियो र एक लाखभन्दा बढी व्यक्तिगत फोन कल रेकर्ड गरेको आरोपमा अभियोग लगाइएको थियो। प्रहरीले उनको घरबाट हार्डड्राइभहरू जफत गरेको थियो र रेकर्डिङहरू ब्ल्याकमेल वा अन्य आपराधिक गतिविधिका लागि प्रयोग गरिएको थियो कि थिएन भन्ने बारेमा अनुसन्धानको घोषणा गरेको थियो। यसबारे अनुसन्धान भने जारी नै छ।
