पीडितहरुद्वारा मेयर साम्पाङविरुद्ध नाराबाजी, सिसा तोडफोड, बराह सहकारी प्रकरण अब के होला ?

Share to:

रासंसा/सुनसरी, श्रावण १६,

मुलुकमा बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित सेयर सदस्य तथा वचतकर्ताहरुले धरान उपमहानगरपालिकामा घेराउ गर्दै मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरेका छन्। पीडितहरुलाई न्याय दिलाउन ढिलाई गरेको र छानबिन समितिसँगको छलफलमा बस्ने क्रममा आइतबार मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध घेराउ र नाराबाजी भएको हो। छलफल औपचारिकरुपमा सुरुवात हुनुअघि मेयर साम्पाङले मलाई सोधेर पैसा सहकारीमा राखेको हो र? भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको पीडितहरुको दाबी छ। मेयर साम्पाङले छलफलमा पीडितहरुकोतर्फबाट ५ जना मात्र प्रतिनिधिमुलुकरुपमा बस्न भन्दै बाहिरिएका थिए। त्यसलगत्तै पीडितहरु छलफलमा नबस्ने भन्दै बैठक कक्षबाट बाहिरिएर आन्दोलन चर्काएका थिए। यस्तै संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाका अनुसार मेयरले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको कारण पीडितहरु आक्रोशित भएका हुन्। उनले भने,‘हामी छलफलको लागि गएका थियौं। मेयर साबले ५ जना मात्र बस्नुस् भन्नु भयो। त्यसैक्रममा उहाँले मलाई सोधेर पैसा राखेको हो र? भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि यो अवस्था भएको हो।’ त्यसअघि, उपमेयर अइन्द्रबिक्रम बेघालाई पनि बराह पीडितहरुले घेराउ गरेका थिए। उपमेयर बेघाले मेयर साम्पाङकै निर्देशन वमोजिम छानबिन समिति गठन भएको र उक्त समितिको बैठक आइतबार बसेर संघर्ष समितिको माग वमोजिम बराह सम्बद्ध व्यक्तिहरुको सम्पत्ति रोक्काको निर्णय गर्न लागेको जानकारी दिए। ‘तपाईहरुकै माग वमोजिम मेयर साबले निर्देशन दिनुभएर छानबिन समिति गठन भएको छ। त्यो समितिले आज बैठक बसेर सम्पत्ति रोक्काको निर्णय गर्ने भन्ने थियो। म काम बिशेषले यहाँ आज यहाँ थिइन्,’उनले भने,‘त्यो बैठकमा मेयर साब र म आवश्यक पनि थिएन। यहाँ के भयो म बुझ्छु।’ बराह पीडितहरुले प्रहरीको घेरासमेत तोडेर मेयरकै कार्यालयसम्म पुगेका थिए। त्यहाँ आक्रोशित भिडले मेयरको कार्यालय बाहिरको सिसासमेत फुटाइदिए। घटना अप्रिय हुन नदिन जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा आफै पनि धरान आएका थिए। बराह पीडितहरुले मेयरले सम्बोधन गर्नुपर्ने र माफी मागेर बोलेको शब्द फिर्ता लिनुपर्ने माग राखेका थिए। साढे ६ बजेसम्म पीडितहरु मेयर साम्पाङविरुद्ध नाराबाजी गर्दै उपमहानगर परिसरमा बसेपनि उनले सम्बोधन नगरेपछि बराह पीडितहरु सोमबार ११ बजे घेराउ गर्न आउने भन्दै फर्किएका थिए। उनले बराह सहकारीमा गएर घेराउ गर्नुपर्नेमा नगरपालिकामा आइरहेको भन्दै असन्तुष्टी पनि जनाए। आफूहरुले समन्वय गरेर पीडितहरुलाई न्यायको लागि पहल गरेको तर उल्टै गालीलगौज, कार्यालय तोडफोड र कर्मचारीलाई पनि धाकधम्की दिने काम भएको बताए। ‘म आउनुअघिकाले के गरे मैले त सहयोग गरिरहेकै छु। प्रदेशबाट सहकारीका प्रतिनिधि झिकाएर बैठक बसेर निर्णय पनि भएको छ,’ उनले भने। मेयर साम्पाङले दिनहुँ जसो घेराउ गर्न आएको र काम गर्ने वातावरण नबनेपछि आफूले मलाई सोधेर पैसा राखेको हो? भनेर सोधेको बताएका छन्। उनले भने,‘काम गर्न नदिएपछि भनेकै हो। घेराउ गरेको गरेकै, नारा लगाएको लगाएकै गरेर कामै गर्न दिइराखेका छैनन्। हामीलाई सोधेर राखेको पनि होइन।’

Like