आठ उद्योगमाथि न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गरेकोमा मुद्दा

Share to:

रासंसा/काठमाण्डौ, श्रावण १४,

मुलुकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको छ। गत आवमा उपभोक्ताबाट कार्यालयमा छ उजुरी प्राप्त भएकोमा पाँच उजुरीको अनुसन्धान सकिएको छ। जसमा दुई उजुरीमाथि मुद्दा दायर दायर गरिसकिएको छ भने दुईमा अनुगमन गरी सुधारात्मक निर्देशन दिइएको छ। एउटा उजुरीउपर नमूना संकलन गरी प्रयोगशाला विश्लेषण गर्दा कैफियत नपाइएको तथा एउटा उजुरी अनुसन्धानको क्रममा रहेको जनाइएको छ। विभिन्न उद्योगबाट उत्पादित नमूनाको संकलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ। कार्यालयले वार्षीक प्रतिवेदन सार्वजनिक गर्दै गत आव र अघिल्लो आवको सात मुद्दाको फैसला भएकोमा चार मुद्दाको फैसला हुन् बाँकी रहेको बताइएको छ। कूल ११ वटा मुद्दा दुई आवमा दायर भएको थियो। त्यस्तै अनुगमनको क्रममा सात होटल र रेष्टुराँलाई स्तरीकरण लोगो वितरण गरिएको बताइएको छ। कार्यालयका सूचना अधिकारी प्रगति अधिकारीका अनुसार सेवाग्राहीलाई विश्वसनीय प्रयोगशालाको अनुभूति गराउनका लागि कार्यालयले गत आर्थिक वर्षमा २ हजार एक सय २० खाद्य पदार्थ नमूना विश्लेषण गरेकोमा ९६ वटा नमूना प्रतिकूल रहेको उल्लेख गरिएको छ। कार्यालयले उपरोक्त विभिन्न शीर्षकवाट गत आर्थिक वर्षमा १९ लाख ६२ हजार नौ सय राजशव संकलन गरेको थियो। साथै, कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आदेशमा गत आर्थिक वर्षमा युनिलिभर नेपाल लिमिटेडको म्याद सकिएको २ हजार २ सय २८ वोरा चियापत्ती नष्ट गरेको वताइएको छ। प्रतिवेदनमा उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न विद्यमान खाद्य ऐन र नियमको प्रभावकारी कार्यान्वयन गर्दै सरोकारवालाको सहयोग र समन्वयमा कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ। गत आवमा कार्यालयले ६० बजार, दुई सय १० उद्योग तथा ४१ होटल तथा रेष्टुराँ र चमेना गृहको अनुगमन गरिएको प्रतिवेदनमा जनाइएको छ। गत आवमा कार्यालयवाट २९ खाद्य तथा दानाको अनुज्ञापत्र जारी गरिएको, एक सय चार खाद्य पदार्थको अनुज्ञापत्र नवीकरण गरिएको तथा उद्योग स्थापानार्थ ७८ उद्योगको सिफारिस गरिएको सो कार्यालयले जनाएको छ।

Like