श्रीलंकामा कार्यवाहक राष्ट्रपति विक्रमसिंघे
एजेन्सी,
विश्वमा न्दोलन र आर्थिक संकटका बीच श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले कार्य–वाहक राष्ट्रपति पदको शपथ लिएका छन्। ठुलो जनप्रदर्शनपछि माल्दिभ्स हुँदै सिंगापुर पुगेका पूर्वराष्ट्रपति गोटबाय राजापाक्षेले बिहीबार राति औपचारिक रूपमा राजीनामा गरेका थिए। श्रीलंकाको संसद्मा नयाँ राष्ट्रपतिको चुनावी प्रक्रिया शनिबार सुरु हुने भएको छ। प्रदर्शनकारीले विक्रमसिंघेको पनि राजीनामाको मागेका छन्। गत साताको सुरुमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा आगजनी गरेका थिए। ‘उनी राजपाक्षेका समर्थक हुन् र उनीसँग जनादेश पनि छैन,’ एक प्रदर्शनकारी मानुरी पवासारीले भनिन्। सत्तारूढ दलको बहुमत भएकाले विक्रमासिंघेलाई सांसदहरूले समर्थन गर्ने सम्भावना छ। उनको राजपाक्षेसँग राम्रो सम्बन्ध पनि छ। तर श्रीलंकाका सर्वसाधारणले उनलाई स्वीकार गर्छन् या गर्दैनन् भन्ने विषय प्रस्ट छैन। सिंगापुरले पूर्वराष्ट्रपति राजपाक्षेले राजनीतिक शरणका लागि अनुरोध नगरेको जनाएको छ। पत्नी र दुई सुरक्षा गार्डसहित राजपाक्षे सिंगापुर पुगेका हुन्। उनी केही समयसम्म सिंगापुर बसेर संयुक्त अरब इमिरेट्स जाने श्रीलंकाको सुरक्षा स्रोतले एएफपीलाई बताएको छ। यसैबीच श्रीलंकाका केन्द्रीयबैंकका गभर्नर नन्दलाल बिरासिंघेले स्थायी सरकार यथाशीघ्र गठन नभए देश ठप्प हुने चेतावनी दिएका छन्। उनले ऋण सहयोगका पहललाई अगाडि बढाउन पनि स्थायी प्रशासन आवश्यक रहने बताए।