जसपाका बाबुराम र हिसिलासहित ९ नेतालाई कारबाही हुने वीरगन्ज बैठकको निर्णय

Share to:

रासंसा/पर्सा, आषाढ ३०,

मुलुकमा जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद्‌का अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना नेतालाई कारबाही गरेको छ। पार्टी विरोधी गतिविधीमा लागेको भन्दै भट्टराई र उनको पक्षमा लागेका गरि ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई कार्वाही गरि पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए। वीरगन्जमा बुधबारदेखि शुरु भई बिहीबार साँझ सकिएको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले संघीय परिषद्‌ अध्यक्ष भटटराईका साथै केन्द्रीय कार्यकारिणी सदस्यहरु महेन्द्रराय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाई कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो। उनले भने, ‘दुई दिनको बैठकले निक्कै कठोर र महत्वपूर्ण निर्णयहरु गरेको छ, शुक्रबार वीरगन्जमै शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु हुनेछ।’ तर यसको औपचारिक निर्णय भने जसपाले सार्वजनिक गरेको छैन। वीरगन्जमा दुई दिनसम्म चलेको अध्यक्ष यादव पक्षको बैठकले गरेका निर्णयहरु शुक्रबार बिहान वीरगन्जमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पार्टीका केन्द्रीय सदस्यसमेत रहेका वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताए।

Like