जमुनाहा नाकामा अफिमको बियाँ नियन्त्रणमा

Share to:

रासंसा/बाँके, आषाढ १९,

मुलुकमा नेपालबाट भारत लैजाँदै गरेको कन्टेनरमा भारी परिमाणमा सुनचाँदी, पैसा र लागूपदार्थ रहेको आशंकामा नेपालगन्जको जमुनाहा नाकामा नियन्त्रण आएको छ। चालक फरार छन्।’ सामाजिक सञ्जालमा शुक्रबार बिहान १० बजेतिर बिहान यो स्टाटस भाइरल भयो। उक्त कन्टेनरमा २४७ बोरा अफिम भेटिएको खबरले पनि सनसनी मच्चायो। भारतीय आरजे ०९ जीबी ४५४२ लेखिएको कन्टेनर बिहान ९ बजेतिर नेपालगन्ज भन्सार कार्यालय छलेर सीमा नाका जमुनाहाको सुरक्षा पोस्ट्मा प्रवेश गर्दै थियो। प्रहरीलाई शंका लागेर जाँच गर्ने क्रममा त्यसभित्र अर्को लकर भेटिएको थियो। सुरक्षा जाँचकै बेला चालक र सहचालक फरार भए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पत्रकार र स्थानीयवासीको रोहबरमा कन्टेनरको ताला काटियो। आधाभन्दा बढी भाग खाली छोडेर भित्रपट्टि अर्को लकर राखेर २५÷२५ किलो तौलका २ सय ४७ बोरा बरामद भयो। बोरामा के थियो त ? नेपालमा आयात गरिने अफिमको बियाँ उम्रिने भएकाले त्यसले खेतीलाई बढावा दिइरहेको आशंका गर्छन् सरोकारवाला। यसको प्रयोग भने मसलाका रूपमा मिठाईमा बढी हुने जनाइएको छ। त्यसैगरी पनिर बटर मसला, मटर पनिर, चिकन करी, मिक्स भेज करीलगायत सबैजसो तरकारी र झोलिलो परिकारमा यसको प्रयोग हुन्छ। प्रहरीले अपराह्न ४ बजेतिर नेपालगन्ज भन्सार कार्यालयलाई उक्त वस्तु हस्तान्तरण गर्‍यो। त्यस क्रममा इलाका प्रहरी जमुनाहाका इन्चार्ज माधव रिजालले भने, ‘यो अफिमको बियाँ (पोस्ता दाना) हो। तर लागूऔषध होइन। मसलाका रूपमा प्रयोग हुन्छ।’ तेस्रो मुलकबाट नेपालमा आयात गर्न सरकारले कोटा निर्धारण गरेको भए पनि विदेशमा निर्यात गर्न नपाइने रिजालले बताए। ‘अवैध रूपमा भारतमा लैजाँदै गरेको अवस्थामा हामीले नियन्त्रणमा लिएका हौं’, उनले भने। नेपाल र भारतमा पोस्ता दानाको मूल्य तेब्बर फरक छ। नेपालको अनलाइन सपिङ पोर्टल दराजले शुक्रबार साँझ १ सय ग्राम पोस्ता दाना (पप्पी सिड)लाई ४ सय ५० रुपैयाँ पर्ने उल्लेख गरेको थियो। भारतमा लैजाँदा यसको मोल तेब्बरभन्दा बढी हुने व्यापारी बताउँछन्। भारतमा यसको आयातमा प्रतिबन्ध लगाइएको छ। टर्कीबाट ल्याइने पोस्ता दाना झापा र मोरङमा भण्डारण गरी भारतका नयाँ दिल्ली, कानपुरलगायत क्षेत्रसम्म पुर्‍याउने गरेको देखिन्छ। खुकुलो नाका प्रयोग गरी तस्करी हुने गरेको छ। शुक्रबार नियन्त्रणमा लिइएको कन्टेनर गत १७ तारिख भारतबाट दाल लिएर आएको पाइएको छ। यस्तै आधा दर्जन कन्टेनरबाट पोस्ता दाना नियमित रूपमा भारतमा निर्यात गरेको नेपालगन्जका व्यवसायीको आशंका छ। यसबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। सरकारले यसको आयात गर्न २० वर्ष रोक लगाएको थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले झापाका व्यवसायी प्रदीप मित्तलको समूहलाई कोटा तोकेर आयात खुलाएका थिए। सुपारी, मरीच, छोकडाको कोटा तोकेर आयात खोलेकै बेला पोस्ता दानाको पनि दुई हजार टन कोटा निर्धारण गरी ल्याउन अनुमति दिइएको थियो। मिठाईमा प्रयोग गर्ने भन्दै पोस्ता दाना आयात हुने गरेको छ। टर्कीबाट आयात गरिने पोस्ता दाना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई मार्ग र विशाखापट्टनम बन्दरगाह भएर रेलमार्गबाट वीरगन्ज हुँदै आयात हुने व्यवसायी बताउँछन्। आयात गरिए जति परिमाण नेपालमा खपत हुँदैन। भारतमा अवैध तवरले निकासी हुने गरेको जनाइएको छ।

Like