‘स्वतन्त्र उम्मेदवारी अभियान’ राजनीतिक दल घोषणाको तयारीमा
रासंसा/काठमाण्डौ, आषाढ १८,
मुलुकमा स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरूले एउटा छुट्टै राजनीतिक दल घोषणाको तयारी गरेका छन् । दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाका स्वतन्त्रतर्फ मेयरका उम्मेदवार बन्नु भएका सुमन सायमीले बताउनुभयो । शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रहरूको पनि एउटा दलको आवश्यक्ता छ भन्ने निष्कर्षका साथ आफू सो विशेष भेलामा सहभागी भएको स्वतन्त्र उम्मेदवार रविन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँले प्रदेश र संघको निर्वाचनमा अनिवार्य दल आवश्यक पर्ने भएकाले भेलाले सो विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने उहाँको भनाइ छ । उहाँले दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरूबीच छलफल सुरु गरिएको बताउनुभयो । देशभरका स्थानीय तह निर्वाचनमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरू सो विशेष भेलामा सहभागी भएका छन् । ‘स्वतन्त्र उम्मेदवारी अभियान’को नाममा आयोजना गरिएको सो विशेष भेलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाँदा नयाँ दल बनाएर जाने निष्कर्ष निकाल्ने बताइएको छ ।
