काठमाडौं महानगर बजेट, पूर्वाधार निर्माणमा आधा
रासंसा/काठमाण्डौ, आषाढ ११,
मुलुकमा काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको बजेटअनुसार पूर्वाधारतर्फ सबैभन्दा बढी करिब ५० प्रतिशत बजेट विनियोजन गरिएको छ । उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दै पूर्वाधार निर्माणका लागि ११ अर्ब ८ करोड रुपैयाँ छुट्याएको जनाएकी छन् । यो कुल बजेटको ४९.५७ प्रतिशत हो । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट पेस गरेको हो । काठमाडौं महानगरपालिकाको बजेटको आधा हिस्सा पूर्वाधार तथा विकास निर्माणमा खर्च गरिने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षमा मेट्रो रेल सम्भाव्यता अध्ययनसमेत गर्ने भएको छ । महानगरपालिकाले सार्वजनिक यातायात सुधारका लागि आगामी वर्ष मेट्रो रेल सम्भाव्यता अध्ययन अघि बढाउने उल्लेख गरेको छ । सार्वजनिक शौचालय, शीत भण्डार र केएमसी मार्ट निर्माण तथा सञ्चालनजस्ता कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ । महानगरपालिकाले प्राथमिक कार्यक्रममा सुन्धारास्थित महानगर कार्यालय रहेको बागदरबार भवन प्रबलीकरण, महानगरभित्र विद्युतीय सार्वजनिक यातायात सञ्चालन, खाली सरकारी जग्गामा पोखरी निर्माण गरी पानी पुनर्भरण कार्यक्रम, डबली पुनस्र्थापनाजस्ता कार्यक्रम समावेश गरेको छ । महानगरपालिकाले शवदाह गृह, पार्क तथा हरियाली प्रवद्र्धन र नदी किनारमा ढल प्रशोधन केन्द्रलाई पनि बजेट कार्यक्रममा समावेश गरेको छ । काठमाडौंका परम्परागत हिटि (ढुंगेधारा) पुनस्र्थापना गर्ने जनाइएको छ । काठमाडौंका परम्परागत मठ–मन्दिर र ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदास्थले संरक्षणलाई महानगरले प्राथमिकतामा राखेको छ । त्यस्तै, सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार विकास, फोहोरमैला ऊर्जामा परिणत, सार्वजनिक बस बिसौनीमा परम्परागत ढाँचाको फल्चा निर्माण, विभिन्न ठाउँमा दमकल स्टेसन, ज्येष्ठ नागरिकका निम्ति घरघरमा स्वास्थ्य परीक्षण सुविधा, खेलकुदस्थल निर्माणलगायत कार्यक्रम अघि सारिएको छ ।