कुन पार्टीबाट को–को छन् आकांक्षी मोरङमा संघीय निर्वाचनमा प्रचण्डका ज्वाइँदेखि शेखर कोइराला, लालबाबुसम्म चर्चामा

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १०,

मुलुकमा स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै मोरङमा संघीय संसदको निर्वाचनका सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । आगामी मंसिर आसपास आमनिर्वाचन हुने अपेक्षा गरिएको छ । यद्यपि सरकारले मिति घोषणा भने गरेको छैन । मोरङमा गत स्थानीय निर्वाचनमा अधिकांश पालिकामा गठबन्धन भएन । गठबन्धन भएका केही पालिकामा पनि सफल देखिएन । जसको फाइदा नेकपा एमालेले लिएको छ । गठबन्धन गर्ने विषयमा चार दलबीच निकै माथापच्ची भएको थियो । त्यसको मुख्य फ्याक्टर काँग्रेस नेता शेखर कोइराला बनेका थिए । २०७४ को निर्वाचनमा जिल्लाका १७ मध्ये १० स्थानीय तहको नेतृत्व जितेको काँग्रेस यसपटक ८ वटामा खुम्चिएको छ । काँग्रेसले जितेका ८ मध्ये दुई तह गठबन्धनको आडमा जितेको हो । काँग्रेसको अनुमान विपरीत ९ वटा स्थानीय तह जितेर एमालेले काँग्रेसको पुरानो किल्ला मोरङसमेत भत्काएको छ । तर, काँग्रेसमा भने स्थानीय तहमा कसले सघाएको र कसले नसघाएको भन्दै कारबाहीको होड गर्ने तथा संघीय संसदमा उम्मेदवारी घोषणा गर्नेको होड चल्न थालेको छ । काँग्रेसको संस्थापन पक्षले गठबन्धन गर्ने चाहना राख्दाराख्दै कोइराला पक्षको अनिच्छाका कारण गठबन्धन नभएको गुनासो गठबन्धन दलका अन्य घटकको छ । यही बुझाइका कारण आउँदो निर्वाचनमा शेखरलगायत उनको टिमलाई किन सघाउने भन्ने विषयमा गठबन्धन दलका अन्य घटकमा छलफल र चर्चा छ । ‘स्थानीय निर्वाचनमा काँग्रेसले दिएको धोकाको समीक्षा नगरी मोरङमा हामी गठबन्धन गर्दैनौं,’ माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती भन्छन् । नेपाली काँग्रेसको संस्थापन पक्षले शेखर कोइरालाको क्षेत्रमासमेत उम्मेदवारी घोषणा गरेको छ । कोइरालाको क्षेत्रमा मात्रै नभएर कोइरालाको पक्षका सम्भावित उम्मेदवार उठ्ने क्षेत्रमा पनि देउवा पक्षका मानिसहरु सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरिरहेका छन् । २०७४ को चुनावमा कोइराला वाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डितसँग मोरङ ६ मा पराजित भएका थिए । मोरङमा काँग्रेस नेता गुरुराज घिमिरेले पनि उम्मेदवारी घोषणा गरेका छन् । उनले केही दिन अगाडि सामाजिक सञ्जाल ट्वीटरमा उम्मेदवारीको घोषणा गरेका थिए । ‘आगामी चुनाव लड्ने घोषणा गरियो, आगे जनताको इच्छा,’ मोरङको क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने उद्देश्यले उनले लेखेका थिए । डा.शेखर कोइरालाको गृहजिल्लामा उनलाई नै चुनौती दिँदै काँग्रेसका प्रदेश उपसभापति रमेशजंग रायमाझीले स्थानीय निर्वाचन सकिएलगत्तै उम्मेदवारी घोषणा गरेका थिए । कोइरालाले निर्वाचन लड्दै आएको मोरङ ६ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने उनको भनाइ छ । सोही क्षेत्रमा काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्य अमृत अर्यालले पनि इच्छा जाहेर गरेको बताइएको छ । यस्तै विराटनगर महानगरपालिकाका पूर्व प्रमुख भीम पराजुलीले पनि मोरङ क्षेत्र नम्बर ४ मा टिकट दिने शर्तमा महानगरको प्रमुख पदको टिकट हापेको चर्चा छ । सो क्षेत्रमा यसअघि बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता अमनलाल मोदीले काँग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए । सो क्षेत्रमा पुनः महेश आचार्य आउने चर्चाकाबीच घिमिरेले उम्मेदवारी घोषणा गरेका हुन् । यस्तै मोरङ क्षेत्र नम्बर ३ मा पनि कोइराला पक्षका डाक्टर सुनिल शर्माको विरुद्धमा उम्मेदवारी दिने भन्दै काँग्रेसका नेता दिलिप गच्छदारले भित्रभित्रै चलखेल गरिरहेका छन् । काँग्रेसले मोरङ क्षेत्र नम्बर १ मा पार्टी सभापति डिकबहादुर लिम्बू र खड्ग फागोमध्ये एकले टिकट पाउने सम्भावना छ । लिम्बू संविधानसभा सदस्य हुन् भने फागो स्थानीय तहको निर्वाचनमा पराजित भएका उर्लाबारीका पूर्व प्रमुख हुन् । काँग्रेसले माओवादीसँग गठबन्धन हुँदा क्षेत्र नम्बर ५ माओवादीलाई दिएर मोरङका अन्य ५ वटै क्षेत्र आफूले लिने तयारी गरेको स्रोतको भनाइ छ । यद्यपि माओवादीले क्षेत्र नम्बर ४ र ५ कुनै पनि हालतमा नछोड्ने बताएको छ । ‘हामीले जितेको क्षेत्र छोड्ने कुरै आउँदैन, बरु एक्लै लडिन्छ,’ माओवादी नेता अमनलाल मोदीले भने । तुलनात्मक रुपमा काँग्रेसले क्षेत्र नम्बर ५ मा उम्मेदवारको चर्चा गरेको छैन । सधैँ अमृत अर्यालले लड्दै आएको सो क्षेत्रमा यस पटक कसैले चासो राखेका छैनन् । अर्यालले क्षेत्र नम्बर ४ रोज्ने भएका छन् । यता, शान्त देखिएको नेकपा एमालेले पनि आफ्ना सम्भावित उम्मेदवारको नाम टिपेर बसेको छ । गठबन्धन हुँदा पनि मोरङमा स्थानीय निर्वाचनमा अघिल्लो पटकभन्दा सफल देखिएको एमाले अहिले काँग्रेस र माओवादी मिलेको अवस्थामा कसरी लड्ने भन्ने तयारीमा लागेको छ । क्षेत्र नम्बर २ मा पनि यस पटक डाक्टर मिनेन्द्र रिजाल र गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालाले चाहना राखेका छन् । रिजालले यसअघि बाम गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । यस पटक पनि निर्वाचन लड्ने उनको चाहना छ । तर, गिरिजापुत्री कोइरालाले यसअघि नै पत्रकार सम्मेलन गरी आफू गिरिजाबाबुको क्षेत्रबाट चुनाव लड्ने बताइसकेकी छन् । आउँदो शनिबार चुनावी योजना निर्माण गरेर पार्टी कमिटीको बैठक राख्ने तयारी गरेको मोरङका एमाले अध्यक्ष ऋषिकेश पोखरेलले बताए । उनले आफूहरु प्रगतिशील पार्टीहरुबीच तालमेल र गठबन्धन गर्नुपर्छ भन्ने मान्यतामा रहेको बताउँदै सोही अनुसार छलफल चलाउन सकिने प्रस्ट पारे । यस्तै क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्यमन्त्री तथा एमाले नेता भानुभक्त ढकाल र एमालेका पोलिटब्यूरो सदस्य गुरु बरालको चर्चा छ । पटकपटक पराजित बनेका विनोद ढकालले यसपटक मोरङ क्षेत्र नम्बर ४ रोजेका छन् । सोही क्षेत्रमा प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले पनि दाबी गरेका छन् । ‘मैले अब प्रदेशमा लड्दा मुख्यमन्त्री बन्ने वातावरण बन्नुपर्छ, होइन भने प्रदेशमा किन लड्नु ?’ घिमिरेले भने । एमाले स्रोतका अनुसार मोरङ क्षेत्र नम्बर १ मा निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे र बहालवाला सांसद घनश्याम खतिवडाको चर्चा छ । क्षेत्र नम्बर २ मा पार्टी अध्यक्ष ऋषिकेश पोखरेलको एकल नाम चर्चामा छ । सो क्षेत्रबाट यसअघि पोखरेल पराजित भएका थिए । यता, माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट कुशल लिम्बू, नगेन्द्र धिमाल र प्रेम मिभक लिम्बू, क्षेत्र नम्बर २ मा गणेश उप्रेती र प्रकाश पौडेल, क्षेत्र नम्बर ३ मा सावित्री कुमार काफ्ले, गीता तिम्सिना, लालबहादुर सुस्लिङ मगर, तिलक राई र विनिता घिमिरेले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । काफ्ले र मगर संविधानसभा सदस्य हुन् । पहिलो संविधानसभामा काफ्ले ३ नम्बर क्षेत्रबाट विजयी बनेका थिए भने मगर २ नम्बर क्षेत्रबाट विजयी बनेका थिए । क्षेत्र नम्बर ५ मा जीवन विकास लघुवित्त संस्थाका अध्यक्ष योगेन्द्र मण्डल, नेता रामलाल साह, प्रदेश सांसद ज्ञानेश्वर राजवंशी र नेतृ मीना यादवले निर्वाचन लड्ने बताउँदै आएका छन् भने क्षेत्र नम्बर ६ मा यसअघि शेखर कोइरालालाई पराजित गरेका लालबाबु पण्डितको चर्चा छ । सोही क्षेत्रमा नेता सत्यनारायण चौधरीले पनि चुनाव लड्न तयारी गरेका छन् । यद्यपि एमाले नेताहरुले खुलेर आफू उम्मेदवार बन्ने विषयमा सार्वजनिक गरेका छैनन् । मोरङ क्षेत्र नम्बर ४ मा भने यसअघि निर्वाचित अमनलाल मोदी र प्रदेश सांसदमा निर्वाचित विजय विश्वासले चुनाव लड्ने इच्छा राखेका छन् । यस्तै क्षेत्र नम्बर ५ मा शिवकुमार मण्डल, भोगेन्द्र यादव र देवा यादवले दाबी गर्ने माओवादी स्रोतको भनाइ छ । मण्डल बहालवाला प्रतिनिधिसभा सदस्य हुन् । उनले यसअघि काँग्रेसका अमृत अर्याललाई पराजित गरेका थिए । क्षेत्र नम्बर ६ मा भने जीवन आचार्य, गोपी आछामी र कुमारी राई (रचना)ले उम्मेदवारी दिने चर्चा छ । आचार्य माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँ हुन् । यसअघि उनी सो क्षेत्रको १ बाट प्रदेशसभा सदस्यमा काँग्रेसका नेता चुमनारायण तबदारसँग पराजित भएका थिए । यसपटक निर्वाचन जित्न अनुकुल वातावरण बनेको भन्दै उनी क्षेत्र दौडाहामा लागेका छन् । अछामी भने संविधानसभा सदस्य तथा हालका राष्ट्रियसभा सदस्य हुन् । राई माओवादी केन्द्र प्रदेश १ की सहसचिव हुन् । मोरङमा संघीय निर्वाचनमा ठूला तीन पार्टी सम्भावित उम्मेदवारहरू :
काँग्रेस
क्षेत्र नम्बर १
(क) डिकबहादुर लिम्बू (ख) खड्ग फागो
क्षेत्र नम्बर २
(क) डा.मिनेन्द्र रिजाल (ख) सुजाता कोइराला
क्षेत्र नम्बर ३
(क) डा.सुनिल शर्मा (ख) दिलिप गच्छदार
क्षेत्र नम्बर ४
(क) महेश आचार्य (ख) भीम पराजुली
(ग) गुरुराज घिमिरे (घ) अमृत अर्याल
क्षेत्र नम्बर ५
समावेशीता
क्षेत्र नम्बर ६
(क) डा. शेखर कोइराला (ख) रमेशजंग रायमाझी
(ग) डा. डिना संग्रौला (घ) वीरेन्द्र माझी
एमाले
क्षेत्र नम्बर १
शिवमाया तुम्बाहाम्फे घनश्याम खतिवडा
क्षेत्र नम्बर २
ऋषिकेश पोखरेल
क्षेत्र नम्बर ३
भानुभक्त ढकाल गुरु बराल
क्षेत्र नम्बर ४
विनोद ढकाल जीवन घिमिरे
क्षेत्र नम्बर ५
योगेन्द्र मण्डल रामलाल साह ज्ञानेश्वर राजवंशी मीना यादव
क्षेत्र नम्बर ६
लालबाबु पण्डित सत्यनारायण चौधरी
माओवादी केन्द्र
क्षेत्र नम्बर १
कुशल लिम्बू नगेन्द्र धिमाल प्रेम मिभक लिम्बू
क्षेत्र नम्बर २
गणेश उप्रेती प्रकाश पौडेल
क्षेत्र नम्बर ३
सावित्री कुमार काफ्ले गीता तिम्सिना लालबहादुर सुस्लिङ मगर तिलक राई विनिता घिमिरे
क्षेत्र नम्बर ४
अमनलाल मोदी विजय विश्वास
क्षेत्र नम्बर ५
शिवकुमार मण्डल भोगेन्द्र यादव देवा यादव
क्षेत्र नम्बर ६
जीवन आचार्य गोपी आछामी कुमारी राई (रचना)

Like