थप नयाँं विहारको लुम्विनीमा शिलान्यास
रासंसा/रुपन्देही, आषाढ ८,
मुलुकमा बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्र बुद्द बिहारको अवधारणाहरु थपिने क्रममा लुम्विनी क्षत्रभित्र विशेष कार्यक्रम गरी एउटा थप नयाँं विहारको शिलान्यास गरिएको छ । भिक्षुहरु, श्रामनेरहरु तथा उपासक र उपासिकाहरुको उपस्थितिकासाथ एक भव्य समारोहकाबोच बौद्ध प्रथा अनुरुप भक्तपुर मुनि विहारका भिक्षु विपस्वी महास्थवीरले विहारको शिलान्यास गर्नुभयो । उक्त कार्यक्रममा मुनि विहार भक्तपुरकातर्फबाट व्यक्ति एक प्रतिभा अनेक पुर्व प्रशासक एवं स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसीले शुभकामना मन्तव्य दिनुका साथै यस विहार निर्माण कार्य यथाशिघ्र सुसम्पन्न हुने छ भन्ने शुभकामना व्यक्त गर्नुभयो । यस कार्यमा सवै दाता महानुभाबहरुबाट आर्थिक भौतिक सहयोग प्राप्त हुनेछ भन्ने विश्वास पनि उहाँंले व्यक्त गर्नुभयो ।
मुनि विहार भक्तपुरका सचिव शिवप्रसाद बालाले उक्त विहारका भिक्षु, श्रामनेर, उपासकहरुबाट संकलित रकम पनि सोही निर्माण कार्यको लागि प्रदान गर्नुभयो । विहार निमार्णको लागि मित्रराष्ट थाइल्याण्डकी मुख्य दाता मिस प्रवदा रोडाइतानातुगको विशेष योगदान र भिक्षु समगारामोको नेतृत्वमा शिलान्यास कार्यक्रम विधिपूर्वक सम्पन्न भएको थियो । कार्यक्रमको अन्तमा भिक्षु विपस्वी महास्थवीरले आशिर्वचनका साथ शिलान्यास कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो।
