पाँच सदस्य राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा थपिए
एजेन्सी,
विश्वमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्रल्याण्ड निर्विरोध निर्वाचित भएका छन्। एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२ स्वीट्जरल्याण्डले १८७ मत पाएका छन्। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने भएकाले १५ सदस्यीय सुरक्षा परिषद्मा निर्वाचित हुन धेरै देशले त्यसलाई ठूलो उपलब्धि एवम् सफलता मान्ने गरेका छन्। विश्वभर युक्रेन युद्ध अहिलेको जल्दोबल्दो विषय बनेको छ। रूसको भिटो शक्तिले परिषद्लाई उसलाई कारबाही गर्नबाट रोकेको छ। परिषद्का कार्यसूचीमा युक्रेनबाहेकका सिरिया र यमनदेखि माली र म्यान्माका साथै उत्तर कोरिया तथा इरानबाट उत्पन्न आणविक जोखिमका अन्तर्राष्ट्रिय मुद्दा पनि छन्। इस्लामिक स्टेट र अलकायदाजस्ता चरमपन्थी समूहले सृजना गरेका चुनौती र आक्रमण साम्य पार्न परिषद्लाई कठिनाइ भइरहेको छ। गत फेब्रुवरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि परिषद्ले दुवै देशका कूटनीतिज्ञ एवम् समर्थकहरूलाई भेला गराएर धेरै बैठक गरेको भएपनि शान्तिपूर्ण समाधान गर्न परिषद् असफल भएको छ।