अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

एकीकृत समाजवादीका चार मन्त्रीको थमौती

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २४,

मुलुकमा गत आइतबार दिउँसो सवा तीन बजे २४ घण्टाभित्रै नेकपा एकीकृत समाजवादी चार मन्त्री फिर्ता बोलाउने निर्णय भएको खबर सनसनीपूर्ण रूपमा फैलियो । सम्मानित नेता झलनाथ खनालले सचिवालय बैठकको हवाला दिँदै २४ घण्टाभित्रै चार मन्त्री फिर्ता बोलाउने निर्णय भएको खबर सार्वजनिक गरे ।
त्यति बेलासम्म एकीकृत समाजवादीका पर्यटन मन्त्री प्रेम आले, श्रम मन्त्री किसान श्रेष्ठ, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य मन्त्री विरोध खतिवडाले सुइँको समेत पाएका थिएनन्। पार्टी निर्णय मिडिया मार्फत थाहा पाए लगतै पर्यटन मन्त्री आले, स्वास्थ्य मन्त्री विरोध खतिवडा र सहरी विकास मन्त्री झाँक्री मन्त्रालयबाट सिधै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय तीनकुने पुगे । त्यतिबेला नेपालले चार नयाँ मन्त्रीको लिष्ट कोटको खल्तीमा राखिसकेका थिए । त्यस लगतै पार्टीको लेटर प्याड सहित नयाँ मन्त्रीको लिष्ट उपमहासचिव विजय पौडेल र उपाध्यक्ष प्रमेश हमाल बोकेर प्रधानमन्त्रीको सचिवालयमा लगेर बुझाए । जसमा पर्यटनमन्त्रीमा जीवनराज श्रेष्ठ, श्रम मन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी थिए । ‘एकीकृत समाजवादीमा मन्त्री फेर्ने कुरा स्थानीय चुनाव अघि नै चर्चा थियो । त्यसपछि चुनावपछि फेरौला भन्ने अण्डरस्ट्रयाडिङ भयो,’ एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यले भने, ‘पार्टी सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय गर्‍यो । त्यो निर्णय गोप्य राख्ने भनियो । तर जेएन कमरेडले सार्वजनिक गर्नुभयो ।’ पार्टी निर्णय गोप्य राख्दा नसक्दा अपरिपक्व निर्णय जस्तो हुन पुगेको ती केन्द्रीय सदस्यले बताए । तर पार्टी निर्णय नमान्ने भन्दै आले, खतिवडा र झाँक्रीले आपत्ति जनाएको पार्टीका नेताहरूले बताएका छन् । त्यति मात्रै होइन पार्टी निर्णय गोप्य राख्ने भनिए पनि खनालले मिडिया मार्फत सार्वजनिक गरेको भन्दै पार्टीभित्रै आलोचना भयो । एकीकृत समाजवादीबाट नयाँ मन्त्रीको शपथ हुने भएपछि असन्तुष्टि जनाउँदै आइतबार बेलुका खतिवडा र आले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । बजेट पारित नहुँदै मन्त्री फेर्न सम्भव नहुने भन्दै प्रचण्डलाई कन्भिन्स गरेको बुझिएको छ । सोमबार बिहानै मन्त्री आले, श्रेष्ठ र झाँक्री प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । आफ्नो पद थमौती गर्न ती मन्त्री देउवालाई भेट्ने पुगेको बालुवाटार स्रोतले जनाएको छ । एकीकृत समाजवादीका मन्त्री बाहिर लगतै प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड सहित नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका थिए । देउवाले बजेट पारित नहुँदै नयाँ मन्त्रीको शपथ लिन नसकिने जवाफ फर्काएपछि चार मन्त्रीको थमौती भएको बालुवाटार स्रोतले जनाएको छ । तत्कालका लागि एकीकृत समाजवादीका चार मन्त्रीको पद थमौती भए पनि आगामी प्रदेश र संघको चुनावसम्म जाने/नजाने टुङ्गो छैन । आगामी आर्थिक वर्षको बजेट पारित भएमा एकीकृत समाजवादीबाट नयाँ मन्त्री थप्ने विषयले प्रवेश पाउने सक्ने आँकलन गरिएको छ । तर, स्वास्थ्य मन्त्री विरोध खतिवडाले यहीँ चार मन्त्रीकै निरन्तरता हुने दाबी गरे । ‘नयाँ मन्त्रीको शपथ हुने कुरा पनि थाहा छैन । हामीहरू हट्ने कुरा पनि थाहा छैन,’ कुरा गर्दै खतिवडाले भने, ‘त्यसो हुँदा यहीँ पुरानै मन्त्रीको निरन्तरता हुन्छ ।’ तर, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवम् नयाँ मन्त्रीका दाबेदार मेटमणि चौधरीले भोलि नै शपथ हुने दाबी गरे। ‘आज चार नयाँ मन्त्रीको शपथ हुने कुरा थियो । यसै कारण जसपामा विवाद भयो । त्यहाँ मिलाउनु पर्ने देखियो । लोसपा पनि सरकारमा जाने इच्छा देखाएको छ ।’ चौधरीले भने,‘जसपा, लोसपाको टुङ्गो लागेपछि भोलि एकीकृत समाजवादीबाट चार जना मन्त्रीले शपथ लिने अवस्था बन्छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठकले बजेट पारित भएपछि मात्रै मन्त्री हेरफेर गर्ने निर्णय गरेको सत्ता गठबन्धन दलका एक नेताले बताए । ‘एकीकृत समाजवादीमा ६ महिना पुग्दा बित्तिकै मन्त्रीको सेट फेर्ने सहमति थियो । त्यसैले नयाँ मन्त्रीको शपथ आज खुवाउने गरी पार्टीले हिजो निर्णय गर्‍यो ।’ ती नेताले भने ,‘आगामी आर्थिक वर्षको बजेट पारित भए लगतै मन्त्री हेरफेर गर्ने भनिएको छ । त्यसपछि पुनः मन्त्री फेर्न कुरा उठ्न सक्छ ।’ तर एकीकृत समाजवादीमा मात्रै मन्त्री हेरफेर गरेर नहुने भएकाले गठबन्धनमा दलमा समेत प्रेसर बढ्ने ती नेताले बताए । ‘एकीकृत समाजवादीमा मन्त्री हेरफेर गर्ने भन्दा बित्तिकै जसपाका सांसदले प्रेसर बढाए । पछि त्यो काँग्रेस र माओवादीमा अवश्य प्रेसर बढ्छ,’ ती नेताले भने, ‘अब प्रदेश र संघको चुनाव हुन ५/६ महिना मात्रै बाँकी छ । नयाँ मन्त्री बनाए पनि कार्यप्रस्तुतिमा खासै फरक पर्दैन । बजेट पारित भएपछि के हुन्छ भन्न सकिँदैन ।’ आज बसेको मन्त्री मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रीलाई विश्वासमा लिने प्रयास गरेको एक मन्त्रीले बताए । ‘मन्त्री हेरफेरको विषयमा बिहानै सहमति भइसकेको थियो । त्यसैले प्रधानमन्त्री ज्यूले मन्त्रिपरिषद् बैठकमा प्रसङ्ग नै उठाउनु भएन ।’ ती मन्त्रीले भने, ‘एकीकृत समाजवादीका नयाँ मन्त्रीले कहिले शपथ लिन्छन् भन्न सकिएन ।’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालको अपरिपक्व निर्णयले गर्दा पार्टीभित्र र बाहिर आलोचना भएको छ । पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्री, प्रधानमन्त्री र गठबन्धन दलसँग परामर्श नै नगरेर मन्त्री फेर्ने निर्णय गर्दा नेपाल र खनालले आलोकाँचो निर्णय गरेको भन्न थालेका छन्। दुई पूर्व प्रधानमन्त्री सहित सहित सचिवालय बैठकले गरेको त्यो निर्णयले उनको नेतृत्व क्षमतामा समेत प्रश्न उठाएको छ ।

Like