स्थानीय तह निर्वाचनमा कुन नेताले कुन बुथबाट भोट हाल्दैछन् ?

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २९,

मुलुकमा स्थानीय तह निर्वाचनमा मतदान गर्न अधिकांश नेताहरु जिल्ला पुगेका छन् । अधिकांश शीर्ष नेताहरु मत हाल्न गृह जिल्ला पुगेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट मत खसाल्दै छन् । उनी मत हाल्न डडेलधुरा पुगिसकेका छन् । उनको मतदान केन्द्र गन्यापधुरा गाउँपालिकाको भुवनेश्वर माध्यामिक विद्यालय पश्या चम्साल रहेको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका ७ राम्जाबाटस्थित पशुपति माध्यामिक विद्यालयबाट मतदान गर्दैछन् । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका ४ कुविन्डे सेतीदेवी पञ्चकन्या माविबाट मतदान गर्नेछन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गर्ने भएका छन् । शुक्रबार बिहान सात बजेपछि व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन् । उनी तनहुँ १ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै आएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलि काठमाडौं महानगरपालिका –३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङको विराटनगर महानगरपालिका– ७ स्थित आदर्श माध्यमिक विद्यालयको मतदान केन्द्रमा शुक्रबार बिहान ७ बजे नै मतदान गर्ने छन् । उनी अहिले विराटनगरमै छन् । यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरबाट मतदान गर्ने भएका छन् । यसअघिको स्थानीय तह निर्वाचनमा पनि ओलीले भक्तपुरबाटै मतदान गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान गर्न चितवन पुगेका छन् । उनले भरतपुर १४ स्थित शान्तिपुर माडीबाट मतदान गर्नेछन् । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन पुगेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले भरतपुर ५ मा राष्ट्रिय आधारभूत विद्यालय तोरीखेतबाट मतदान केन्द्रबाट मतदान गर्नेछिन् । एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता घनश्याम भुसाल शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि गृहनगर बुटवल पुगेका छन् । एमाले महासचिव शंकर पोखरेलले दाङको तुलसीपुरबाट मतदान गर्ने छन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट मतदान गर्दै छन्। महामन्त्री शर्माको मतदाता नामावली मेचीनगर नगरपालिका वडा नम्बर ९ मा रहेको छ। शर्माले शुक्रबार मेचीनगरको कविशिरोमणि माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

Like