प्रयास नेपाललाई हिमालय एअरलाइन्सद्वारा वर्षभरीको शैक्षिक सामग्री प्रदान
रासंसा/काठमाण्डौ, बैशाख २८,
नेपालको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले लगातार छैटौं वर्ष प्रयास नेपालका बाल-बालिकालाई वर्षभरीको शैक्षिक सामाग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ। सन् २०२२ को मे १ मा आफ्नो स्थापनाको १९ औं वर्षमा प्रवेश गरेको प्रयास नेपालले विभिन्न सशक्तिकरण कार्यक्रमहरू मार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव छोडेको छ। हाल प्रयास नेपालले २६ जना कलिला र जोसिला बाल(बालिकाको रेखदेख गरिरहेको छ। नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै यस संस्थाका निम्ति यो अत्यन्तै प्रतिक्षित अनुदान थियो। सन् २०१७ देखि हिमालय एअरलाइन्स् को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको प्रयास नेपाल एक गैर-सरकारी, गैर-नाफामूलक र सामाजिक संस्था हो। विगतका वर्षहरुमा आवश्यक शैक्षिक सामाग्री, खाजारनास्ता, खाद्यान्नहरूका साथै कोभिड-१९ विरुद्धका सामाग्रीहरुको आपूर्तिमार्फत हिमालय एअरलाइन्स् ले निरन्तर सहयोग गर्दै आएको छ। बाल-बालिकामा उड्डयन उद्योग, पेशा र व्यावसायिक पाठ्यक्रमहरू आदि बारे चेतना जगाउने उद्देश्यका साथ यस वर्ष हिमालयले बालबालिकाका लागि अनुभव आदान-प्रदान गर्न एक विशेष शैक्षिक सत्रको आयोजना गरेको थियो। यसक्रममा हिमालय एअरलाइन्सका जहाजका अनुभवी चालकदलले बाल-बालिकासँग अन्तरक्रिया गरेका थिए। यी बाल-बालिकाले आफ्नो दृष्टिकोण र उद्देश्यलाई उच्चस्तरमा पुर्याएर संस्थाको नेतृत्व सम्हाल्ने प्रयास नेपालले सुनिश्चित गरेको छ। आजसम्म यी बाल-बालिकाहरूले आफ्नो सीपलाई निखार्दै विभिन्न क्षेत्रहरूमा आफ्नो असाधारण प्रतिभा प्रदर्शनका साथ प्रस्तुत भएका छन। जसमध्ये कतिपय त थप अध्ययनका लागि विदेश समेत गएका छन्। सहयोग हस्तान्तरणको क्रममा प्रयास नेपालकी अध्यक्ष सुश्री मणी जोशीले आवश्यक शैक्षिक सामाग्री समयमै उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गर्दै हिमालय टोलीले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू निकै जानकारीमूलक भएको र तीनले बाल(बालिकाका लागि अत्यावश्यक र रमाइलो सिकाइ गतिविधि प्रदान गरेको बताइन्। उक्त सत्रको उद्देश्य यी बालबालिकाहरुमा उड्डयन उद्योगबारे ज्ञानको दायरा बढाउनुका साथै नेपालको उड्डयन क्षेत्रमा रहेका विभिन्न पाठ्यक्रम र पेशाका अवसरहरु बारे जानकारी गराउने थियो। कार्यक्रममा बाल-बालिकाहरुले गहिरो चासो र उत्साहका साथ सहभागिता जनाएका थिए। सहयोग सामाग्रीहरुको हस्तान्तरण काठमाडौँमा एक विशेष कार्यक्रमकाबीच वैशाख २७ गते सम्पन्न भएको हो।