निर्वाचन आचारसंहिता उलंघनको उजुरी प्रधानमन्त्री देउवाविरुद्ध
रासंसा/काठमाण्डौ, बैशाख २१,
मूलुकका प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनमा उजुरी परेको छ। भरतपुर महानगरपालिका १० चितवनकी सुनिता अधिकारीले निर्वाचन आचारसंहिताको दफा ५ विपरित बैशाख २२ गते (बिहीबार) चितवनको भरतपुरमा हुने भनिएको चुनावी सभामा सम्बोधन गर्न आउन लागेको भन्दै उजुरी दिएकी हुन्। प्रमुख निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले प्रधानमन्त्रीको विरुद्धमा उजुरी परेको जानकारी दिएका हुन्। उजरी दिनुको कारण उल्लेख गर्दै अधिकारीले नेपाली कांग्रेस र माओवादीसहितको गठबन्धनका उम्मेदवारको पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेता आउन लागेको समाचार पत्रिकामा प्रकाशित भएको उल्लेख गरेकी छिन्। उनले आचारसंहिता विपरित हुन लागेको उक्त कार्यक्रम स्थगित गरी आचारसंहिता विपरितको काम भएमा सजाय पनि गरी पाँउ भनी प्रधानमन्त्री देउवाको नाममा उजुरी दिएकी हुन्। कार्यलयले उजुरी दर्ता नम्बर १५ रहेकाे जनाएकाे छ। निर्वाचन आचारसंहिताको दफा ५ ले निर्वाचनमा आफै उम्मेदवार भएको अवस्थामाबाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ। यसबारे भरतपुर कार्यलयले निर्वाचन आयाेगलाई जानकारी गराइसकेकाे छ। निर्वाचन आचारसंहिता सुनिताले राष्ट्रिय पत्रिकामा प्रकाशित समाचारसहित आफ्नो उजुरी दर्ता गरको प्रवक्ता पौडेलले जानकारी दिए। उजुरीकर्ता अधिकारीको मतदाता नम्बर २१५१४५५९ रहेको छ।