केन्द्रीय सदस्य नै स्वतन्त्र उम्मेदवार, विप्लव नेतृत्वको नेकपा पनि चुनावी मैदानमा उत्रियो

Share to:

रासंसा/रोल्पा, बैशाख १३,
मुलुकमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि चुनावी मैदानमा होमिएको छ । वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र तर्फबाट आफ्नो पकट रहेका क्षेत्रमा उम्मेदवारी दिएको हो । विप्लव नेकपाले कालीकोट, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिमलगायतका जिल्लामा स्वतन्त्रबाट मनोनयन दर्ता गराएको छ । नेकपाका केन्द्रीय सदस्यदेखि स्थानीय नेता–कार्यकर्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको पार्टीका नेता प्रकाश शाहीले जानकारी दिए । यस्तै, काठमाडौं महानगरको मेयरमा नेकपाको समर्थनमा निमकान्त पाण्डेले उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष समेत रहेका शाहीले भने, ‘पार्टीको तर्फबाट भन्दा पनि स्वतन्त्र तर्फबाट उम्मेदवारी परेको हो । हामी देशभक्त व्यक्तिहरुले जित्नुपर्छ भन्नेमा छौं । ’ पार्टीका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज चूडामणि वली ‘आदर्श’ले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनी अहिले भोट माग्न मतदाताको घरघर पुगिरहेका छन् । ‘स्वतन्त्र’ भने पनि उनी पार्टीका नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । मुख्य राजनीतिक कार्यनीति प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवादकै रहनेछ भने संसदीय व्यवस्थाको भन्डाफोर गरिने नेकपाले जनाएको थियो। यो निर्णयप्रति नेकपाभित्र दुई धार देखा परेको छ । विप्लव नेकपामा पार्टीका महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेताहरु चुनावको उपयोग गर्ने लाइनमा छन् भने पार्टी सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शन, धर्मेन्द्र वास्तोलालगायतका नेताहरु चुनाव बहिष्कार गर्ने रणनीतिमा छन् । गत चैत ३ गतेदेखि १३ गतेसम्म नेकपाको कपिलवस्तुमा केन्द्रीय कमिटी बैठक बसेको थियो ।पार्टी दर्ता गरेर चुनाव उपयोग नगर्ने तर एमसीसी र राष्ट्रघातविरोधी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति लिन उपयुक्त हुने बैठकको निष्कर्ष थियो। स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएको भएपनि केहि स्थानीय तहमा पार्टीका केन्द्रीय सदस्य नै उम्मेदवार छन् भने केहिमा पार्टीका नेता कार्यकर्तासहितको उपस्थितिमा उम्मेदवारी दिइएको छ । पार्टी सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले पार्टीको नीति विपरीत उम्मेदवारी नदिन आग्रह गरे । उनले भने, ‘पार्टीको नीति विपरित केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने मान्यताका विपरित कतिपय कमरेडहरूले विभिन्न पदमा मनोनयन दर्ता गर्नुभएको भन्ने कुरा आयो । पार्टीको नीति अनुसरण गर्ने कमरेडलाई नीतिविपरित देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ ।’

Like