अब पासवर्डमा कडाइ हुँदै, नेटफ्लिक्सले गुमाउँदै ठुलो संख्यामा सबस्क्राइबर
एजेन्सी,
विज्ञहरुले आगामी तीन महिनापछि सार्बजनिक हुने तथ्याकंमा नेटफ्लिक्सले थप २० लाख सबक्राईबर गुमाउने बताइरहेका छन्। नेटफ्लिक्सको सबस्क्राइबरको संख्यामा एक दशकमा पहिलो पटक कमी आएकाले कयौं लगानीकर्ता आश्चर्यमा परे । घोषणाअघि वाल स्टिट्रका विश्लेषकले यो स्ट्रिमिङ प्ल्याटफर्मले २५ लाख नयाँ ग्राहक थप्ने आसा गरेका थिए। आसाविपरित उपभोक्ता घटेको खबरले धेरै लगानीकर्ता हतोत्साहित भए। सबस्क्राईबर घटे पनि नेटफ्लिक्स २२.२ करोड सबस्क्राईबरका साथ विश्वको सबैभन्दा ठूलो स्ट्रिमिङ प्ल्याटफर्म हो। नेटफ्लिक्सको सबस्क्राइबरको संख्या पछिल्लो १० वर्षमा पहिलोपटक घटेको छ। स्ट्रिमिङ क्षेत्रको सबैभन्दा ठूलो कम्पनीले पछिल्लो १०० दिनमा २ लाख बढी ग्राहक गुमाएको तथ्यांक सार्वजनिक भएको छ। विश्वभर दुई लाख सबस्क्राइबर गुमाएको खबर बाहिरिएपछि नेटफ्लिक्सको सेयर मूल्यमा भारी गिरावट आएको छ । बुधबार सेयर बजार खुल्दा नेटफ्लिक्सको सेयर मूल्य ३५% ले घटेको थियो। यो गिरावटले नेटफ्लिक्सले ५५ अर्ब डलर गुमायो। नेटफ्लिक्स कम्पनीले भने आफूहरु सबस्क्राइबरको नयाँ तथ्याकंबाट खुसी रहेको र युक्रेनमा युद्ध नभएको भए सबस्क्राइबर बढ्ने औँल्याएका छन्। रुसले युक्रेनमा युद्ध घोषणा गरेपछि नेटफ्लिक्सले रुसमा सेबा बन्द गर्यो, जसले गर्दा उसले एकै पटक सात लाख ग्राहक गुमायो। नेटफ्लिक्सले केही समयदेखि विश्वभर उसको मासिक शुल्क बढाइरहेको छ। बेलायतमा नेटेफ्लिक्सको मासिक शुल्क दुई वर्षअघिको तुलनामा एक तिहाइ बढी भइसकेको छ। नेटफ्लिक्सको पासवर्ड सेयर गर्न मिल्ने सुविधाले पनि उसको सबस्क्राईबर कम गरेको मानिन्छ। नेटफ्लिक्स आफैले विश्वभर १० करोड परिवारले चिनजानका मानिसहरुसँग पासवर्ड मागेर उसको स्ट्रिमिङ सेवा चलाइरहेको बताउँछ। नेटफ्लिक्सले आगामी दिनमा विकासोन्मुख मुलुकका सेवामा विज्ञापन राखेर मूल्य कम गर्ने सम्भावनामा अनुसन्धान गरिएको स्रोतले बताएको छ । यो विकल्पबारे विगतमा कम्पनीलाई सल्लाह दिइए पनि उसले त्यसलाई बेवास्ता गर्दै आएको थियो। केही आलोचकले नेटेफ्लिक्सले मूल्यमा हेरेफेर गरेर मात्र सबस्क्राइबर टिकाउन नसक्ने बताएका छन्। उसका प्रतिस्पर्धीहरु उलेख्य संख्यामा मौलिक फिल्म बनाइरहँदा नेटफ्लिक्सले भने सीमित मात्रै मौलिक फिल्म र टेलिश्रृङ्खला बनाउने गरेको र यसले मानिसलाई लामो समय प्ल्याटफर्ममा टिकाउन नसक्ने तिनको भनाइ छ। वर्षौंदेखि नेटफ्लिक्सले यो अभ्यासलाई जानीजानी चल्न दिएको थियो। यसको कारणले एकातर्फ ग्राहकलाई अप्रत्यक्ष छुट दिए बराबर भएको थियो भने अर्कोतर्फ ठूलो संख्याका मानिसलाई यसको बानी पर्यो। त्यसबाहेक नेटफ्लिक्सका प्रतिस्पर्धी अमेजन, एप्पल, डिज्नेहरुले खेलकुल, समाचारहरु समेत समेटेर बृहत्तर सेवा ल्याउन थालेका छन् । तर नेटफ्लिक्सको यस सम्बन्धमा कुनै योजना देखिँदैन। अब नेटफ्लिक्सले पासवर्ड बाँड्ने अभ्यासमाथि केही कडाइ गर्ने संकेत गरेको छ। उसले केही दक्षिण अमेरिकी देशमा यसको परिक्षण गरिरहेको छ। जस अन्तरगत कम्पनीले आफू बसेको घरभन्दा बाहेक अन्यत्रका चिनचानका मानिससँग पासवर्ड बाड्ने सबस्क्राईबरसँग मानिस थप ३ डलर लिन थालेको छ।