आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस
रासंसा/काठमाण्डौ, चैत्र २३,
मुलुकमा मात्र नभएर अन्तर्राष्ट्रिय मुलुकमा समेत हरेक वर्षको अप्रिल ६ तारीखको दिन खेलकुदले सामाजिक परिवर्तन, समुदायको बिकास र सबैमा शान्ति र समझदारीको भावना उजागर गर्न दिएको योगदानको सम्मान गर्दै अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइन्छ। समाजमा सामाजिक परिवर्तन, सामुदायिक विकास र शान्ति तथा आपसी समझदारी स्थापनामा खेलकुदलाई माध्यम बनाउनका लागि वार्षिक रूपमा यो दिवस मनाउन थालिएको हो। नेपालमा पनि २०१५ यता यो दिवस निरन्तर रूपमा मनाइँदै आएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा यूएनले विश्वव्यापी रूपमा मनाउने यो दिवस नेपालमा पनि मनाइँदै आएको छ। संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन शुरु गर्ने निर्णय गरेको हो। खेलकुद एउटा विश्वब्यापी भाषा हो, यो समाजमा हुनेगरेको सबै किसिमको भेदभावबाट मुक्त हुन्छ। खेलकुदले युवा महिला र पुरुष जनसङ्ख्या, व्यक्तित्व र समुदायहरूको साथसाथै स्वास्थ्य, शिक्षा र सामाजिक उद्देश्यहरूको सशक्ततालाई प्रोत्साहन पनि गर्दछ। खेलकुदका माध्यमबाट विश्वभर शान्ति, बिकास, गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो। यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेसनल युनिभर्सिटी स्पोर्टस, एफआईए फाउन्डेसन, इन्टरनेसनल काउन्सिल अफ स्पोर्टस साइन्स एन्ड फिजिकल एजुकेसनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले समेत यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए। खेलकुदको व्यापक प्रभावको पहिचानमा, अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस 2022 को विश्वव्यापी नारा हो, “सबैका लागि दिगो र शान्तिपूर्ण भविष्य सुरक्षित गर्दैस् खेलकुदको योगदान,” “Securing a Sustainable and Peaceful Future for All: The Contribution of Sport,” जसले खेलकुदको प्रयोगलाई प्रगति र समद्धिको उपकरणको रूपमा प्रवर्द्धन गर्ने अवसर सिर्जना गर्दछ। मानव अधिकार र दिगो विकासको पैरवी गर्दै यस वर्ष विश्वका हरेक देशहरुले खेलकुदको महत्वलाई आत्मसाथ गर्नेछन् । खेलकुद सधै एउटा शुद्द खेल मात्र होस्, यसमा राजनीति नहोस् , भारत र पाकिस्तान बिचको सम्बन्ध जे जस्तो भएपनि यिनीहरुको आउन लागेको विश्वकपमा प्रतिष्पर्धा हेर्न विश्व उत्सुक छ। खेलमा जति सुकै प्रतिद्वन्दी भावना भएपनि खेल सकिएपछि खेलाडीहरुले एक अर्का सँग हात मिलाउने या फुटबलमा जर्सी साट्ने बानिले यसको शुद्दता बयान गर्छ।