भारतको जोगवनीमा चिनीदेखि साडीसम्म सस्तो, नेपाली ग्राहकको घुइँचो तर, विराटनगरका व्यापारी भन्छन्, ‘राजश्व गुम्यो, कडाइ गरौँ
रासंसा/विराटनगर, चैत्र २२,
मुलुकमा विराटनगरको व्यापार यतिबेला सुख्खा छ । यता, नेपाल–भारत सीमा नजिकै रहेको जोगवनीमा भने नेपालीहरूको व्यापक भीडभाड देखिन्छ । भारतको जोगवनीमा नेपालमा भन्दा सस्तो सामान पाउन भएपछि नेपालीहरू विराटनगरको बजार छाडेर त्यहाँ पुग्ने गरेका हुन् । व्यापारका लागि जोगवनी जाने नेपालीलाई रोक्नुपर्ने विराटनगरका व्यापारीहरूले धेरै अघिदेखि माग गर्दै आएका छन् । तर, उनीहरूको माग अहिलेसम्म पुरा भएको छैन । केही दिन स्थलगत अध्ययनपछि जोगवनीमा उपभोग्य वस्तुको मूल्य र विराटनगरको मूल्यको अन्तर तुलना गरेको छ । अनुगमनको क्रममा जोगवनीमा चिनीमात्र नभएर रहरको दाल, जिरा, धनियाँ, अङ्गुर, अनार, काजु, जिरा मसिनो चामल, तोरीको तेल, किस्ता बदाम विराटनगरमा भन्दा सस्तो छ । भान्सामा प्रयोगहरू सामानहरू पनि जोगवनीमै सस्तो छ । जोगवनीमा भन्दा ल्वाङ, सुकुमेल, सूर्यमुखी तेल, हाडेबदामल, हरियो मटरगायतका केही सामान भने विराटनगरमा नै सस्तो रहेको देखियो । उदाहरणका लागि सरकारले चिनी आयातमा कडाइ गरेसँगै जोगवनीको मूल्य र विराटनगरको मूल्यमा अहिले पनि १५ रुपैयाँ फरक छ । त्यस्तै सूतीको साडी जोगवनीमा ३ सय रुपैयाँमा आउँदा त्यही साडी नेपालमा ५ सय रुपैयाँभन्दा बढी पर्छ ।