पौडेलको संयोजकत्वमा चुनावी तालमेलका लागि तयारी तथा अनुगमन समिति गठन

Share to:

रासंसा/काठमाण्डौ , चैत्र २२ ,

मुलुकमा गठबन्धन सरकारले गठबन्धन चुनाब गर्ने भएको छ । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेलका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा तयारी तथा अनुगमन समिति गठन गरेको छ। आज बसेको बैठकले काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य हुनुहुन्छ भने माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहनुभएको छ । यसैगरी बैठकले मुलुकुको अर्थतन्त्रको अवस्थाबारे सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय समेत गरेको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत छलफलमा सहभागी हुनुभएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे ब्रिफिङ गर्नुभएको र गठबन्धनले समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष समेत निकालेको थियो । सत्ता गठबन्धनका पाँच दलले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय चैत १७ गते नै गरिसकेका छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (मंगलबार) बसेको बैठकले स्थानीय तहको निर्वाचनका लागि तल्लो तहबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटी बनाउन र आवश्यक निर्णय लिन यस्तो समिति बनाएको हो । सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय समेत गरेको थियो ।
आजको बैठकमा त्यससम्बन्धी रिपोर्टिङ प्रतिवेदन आउने र त्यसका आधारमा चुनावी मोडालिटी तयार हुने जनाइएको थियो ।

Like