सडक विस्तारको समयावधि सकिन लाग्दा म्याद थप्न चलखेल, जनकपुरधाम-ढल्केवर ६ लेन सडकमा प्रहरी चौकी तगारो !
रासंसा/धनुषा, चैत्र १८,
मुलुकमा धनुषाको जटही–जनकपुरधाम–ढल्केवरसम्म ६ लेन व्यापारिक मार्ग सडकखण्डको विस्तार करिब करिब टुंगिए पनि ठाउँठाउँमा सडक विस्तारकै अनुभूति गर्न नसकिने अवस्था छ । सवारी चाप बढेपछि सरकारले व्यापारिक मार्गको रुपमा सडक विस्तारको आयोजना अघि बढाएको थियो । तर ठाउँठाउँमा सडक विस्तारले पूर्णता पाउन सकेको छैन । तर जनकपुरधामको प्रवेश नाकाको रुपमा रहेको मुजेलियास्थित प्रहरी कार्यालय अगाडि सडक विस्तार हुन सकेको छैन । परिणामस्वरुप ढल्केवरतर्फबाट जनकपुर जाने सवारी साधनका लागि प्रहरी कार्यालय अगाडि एक लेनमात्र सडक छ । ४० मिलोमिटर लामो सडकमध्ये ३२.५ किलोमिटर कालोपत्रे भइसकेको छ । केही पुल पुलेसा र जनकपुरधाम नगरभित्रको सडक निर्माण हुँदैछ । यस आयोजनाले भारतको पिपरौन नाकादेखि जटही हुँदै पूर्व–पश्चिम राजमार्ग जोडेको छ । यो सडक व्यापारिक क्षेत्रमा ५० र गाउँघरमा ३७.५ मिटर चौडा छ । सो स्थानमा दिउँसो सवारी साधनको चाप हुने गर्दछ । अर्कोतिर पैदल यात्रीका लागिसमेत बाटो नहुँदा थप समस्या देखिन्छ । सो रुटमा दैनिक मोटरसाइकल चलाउने स्थानीय जागेश्वर यादवले अन्यत्र सडक विस्तार भए पनि मुजेलियास्थित प्रहरी चौकी अगाडि साँघुरो र कच्ची सडक प्रयोग गर्नुपर्दा सडक विस्तारकै अनुभूति गर्न नपाएको बताए । उनले भने, ‘प्रहरी चौकी रहेकै कारणले सो स्थानमा सडक विस्तार हुन नसकेको हो ।’ दुई लेन सडकलाई ६ लेनमा विस्तार गरिए पनि मुजेलिया प्रहरी चौकी अगाडि ढल्केवरतर्फबाट जनकपुर जाने सवारी साधनका लागि एक लेनमात्र उपलब्ध भएपछि सडक विस्तारको अनुभूति नै गर्न नसकिएको चालकहरु बताउँछन् । त्यहाँ सडकमै जोडिएर प्रहरी कार्यालय भवन रहेकाले सडक विस्तार हुन नसकेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रहरी चौकी सडक विस्तारमा बाधक नरहेको बताए । उनले प्रदेश प्रहरी कार्यालय मार्फत मुजेलियामै प्रहरी चौकीको भवन निर्माण भइसकेको भन्दै प्रहरीबाट कुनै पनि किसिमको समस्या नरहेको बताए । यद्यपि, प्रहरी चौकीकै अगाडि सडक विस्तार किन हुन सकेन भनेर न त ठेकेदार कम्पनीले औपचारिक रुपमा केही बताएको छ, न त सरकारी निकायले नै चित्तबुझ्दो जवाफ दिएका छन् । जनकपुरधाम–ढल्केवर सडक निर्माण तथा विस्तारको क्रममा मुजेलिया प्रहरी चौकी स्थानान्तरण हुन नसक्दा सडक विस्तारमा अवरोध भएको स्थानीयवासी बताउँछन् । तर जिल्ला प्रशासन कार्यालय धनुषा भने सडक निर्माण तथा विस्तारका लागि प्रहरी चौकी बाधक नभएको बताउँछ । सडक विस्तारको क्रम करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको सडक विभागले जनाएको छ । जनकपुर परिक्रमा सडक, व्यापारिक मार्ग (सिक्स लेन) को जनकपुर कार्यालयका प्रमुख रामटहल यादवले पनि सडक निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । उनले जटही–जनकपुरधाम–ढल्केवर सडकखण्डमा पुलपुलेसा निर्माणको काम ६० प्रतिशत सम्पन्न भईसकेको बताए । जनकपुरधाम नगरभित्रको राजमार्ग र केही छिटफुट सडक मात्रै निर्माण गर्न बाँकी रहेको बताए । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार ठेकेदारलाई सो प्रहरी चौकी हटाउन भनिसकेको अवस्था छ र जतिसक्दो चाँडो सडक विस्तार गर्न पनि निर्देशन दिइसकिएको छ । उनले प्रहरी कार्यालय सडक विस्तारका लागि बाधक नभएको बताए पनि प्रहरी चौकीभन्दा उत्तरतर्फ र दक्षिणतर्फ ६ लेन सडक विस्तार हुँदा प्रहरी चौकीकै सामुन्ने किन विस्तार हुन सकेन भन्ने प्रश्न अनुत्तरित छ । ४० प्रतिशत पुलको काम बाँकी रहेकाले सडक विभागले संघीय सरकारको भौतिक तथा यातायात व्यवस्था मन्त्रालयमा म्याद थपका लागि लविङ गर्न थालेको छ । यता ठेकेदारले थप रकम नपाउँदा सडक विस्तारलगायतका कार्यमा प्राविधिक समस्या उत्पन्न हुन आएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । जनकपुरधाम नगरभित्रको सडकपनि निर्माण कार्य अघि बढेको बताउँदै छिट्टै सम्पन्न हुने उनले जानकारी दिए । ६ लेन सडक निर्माणको कार्य २०७२ मा सुरु भएको हो । ५ वर्षसम्ममा सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न कारण देखाउँदै यसको म्याद एक वर्ष थपियो । यही असार मसान्तसम्ममा सो सडकखण्ड निर्माणको कार्य सम्पन्न गरिसक्नुपर्ने छ । सो सडक निर्माण भएपछि जटहीदेखि ढल्केवरबीच तीव्र औद्योगिक विकास हुने उद्योग वाणिज्य संघ मधेस प्रदेशका संस्थापक अध्यक्ष शिवशंकर साहले बताए । भारतको विहार प्रान्तको मधुुवनी जिल्लास्थित पिपरौन नाकादेखि सीमावर्ती जटही हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने जटही–जनकपुरधाम–ढल्केवर ४० किलोमिटर ६ लेनको सडक पूर्ण रुपमा तयार भएपछि यो रुटमा सवारी जामको अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ ।