स्वस्थ बच्चा जन्माउन छारे रोगीले सक्लान ?

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १२,

मुलुकमा महिला गर्भवती भएको थाहा पाएपछि आत्तिँदै थापाथलीस्थित प्रसूति गृहमा परीक्षण गर्न पुगिन् । बिना योजना गर्भ बसेको थाहा पाएपछि बच्चाको स्वास्थ्यावस्था र आफ्नो स्वास्थ्यबारे पिरोलिँदै अस्पताल पुगेकी ति महिला आत्तीइन् । गर्भवती भएको थाहा पाएपछि उनी आत्तिनुको कारण उनले विगत चार वर्षदेखि मिर्गी रोगको औषधि सेवन गर्दै आएकी छन् । चिकित्सकहरूका अनुसार मिर्गी अर्थात् छारे रोग जसलाई पनि लाग्न सक्छ । तर, छारे रोगी गर्भवती हुँदा आमा र बच्चाको स्वास्थ्यावस्थामा जटिलता उत्पन्न हुने त होइन भनी आत्तिँदै धेरै महिलाहरू अस्पताल पुग्ने गरेको उनीहरू बताउँछन् । यस्तै छारे रोगको औषधि सेवन गरिरहेका महिलाहरू बिना योजना गर्भ बस्यो भन्दै आत्मग्लानीका साथ अस्पताल आत्तिएर अस्पताल पुग्ने गरेको महाराजगञ्जस्थित न्युरो राष्ट्रिय सेन्टरका उपनिर्देशक न्युरो विशेषज्ञ डा. सुमन भट्टराई बताउँछन् । उता त्रिवि शिक्षण अस्पताल मानसिक रोग विभागका प्रमुख प्राडा. सरोज ओझाले समाजमा छारे रोगसम्बन्धी अन्धविश्वास धेरै भएकाले छारे रोग लागेका गर्भवती त्रसित हुने बताउँछन् । उनी भन्छन्, ‘छारे रोगीले विवाह गर्न हुँदैन, विवाह भए पनि उनीहरूले जन्माएको बच्चा स्वस्थ हुँदैन त्यसैले उनीहरूले बच्चा जन्माउन हुँदैन जस्ता गलत धारणा छ ।’ छारे रोगको उपचारसम्बन्धी जानकारी कम र रोगप्रति गलत धारणा धेरै हुँदा छारे रोगी गर्भवती महिला त्रसित हुने महाराजगञ्जस्थित न्युरो राष्ट्रिय सेन्टरका उपनिर्देशक न्युरो विशेषज्ञ डा. भट्टराई सुनाउँछन् । यता थापाथलीस्थित प्रसूति अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी पनि टिचिङ, राष्ट्रिय न्युरो सेन्टरका चिकित्सकले जस्तै छारे रोगी बिना योजना गर्भ बस्यो भन्दै महिनामा ३/४ जनाभन्दा बढी महिला अस्पताल आउने सुनाउँछन् । वरिष्ठ न्युरो विशेषज्ञ डा. भट्टराईले मिर्गी रोगीले स्वस्थ बच्चा जन्माउन सक्ने बताउँछन् । छारे रोगको औषधि सेवन गरिरहेकाहरूले बच्चा जन्माउन चाहेको खण्डमा स्वस्थ बच्चा जन्माउन सक्ने उनले बताए । ‘परिवार योजना बनाइ विशेषज्ञहरूको सल्लाह अनि निगरानीमा छारे रोगी गर्भवती भएकाहरूले स्वस्थ बच्चा जन्माउँदै आएका छन्,’ उनले भने । यद्यपि नेपालमा छारे रोगी गर्भवतीको अवस्थाको अध्ययन र एकीकृत आँकडा राखिएको छैन । तर, एक अध्ययनले छारे रोगी गर्भवती महिलाले पनि स्वस्थ बच्चा जन्माउन सक्ने प्रमाणित गरेको छ । २०२२ मै अमेरिकन एकेडेमी अफ न्युरोलोजीले गर्भवती छारे रोगीबारे गरेको अध्ययन सकारात्मक रहेको पाइएको छ । छारे रोगी र छारे रोग नलागेका स्वस्थ गर्भवतीसम्बन्धी सो अध्ययन गरिएको थियो । स्वास्थ्य सेवा विभागअन्तर्गत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कअनुसार छारे रोगीको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ मा २४ हजार ५३२ जनामा छारे रोग लागेको पाइएको छ । यस्तै आव २०७३/७४ मा १५ हजार ६४७ जना, २०७४/७५ मा १८ हजार ३८८, आव २०७५/७६ मा १९ हजार ६४४ र आव २०७६/७७ मा २१ हजार १६४ जनामा छारे रोग पुष्टि भएको पाइएको छ । यस्तै, गर्भवती नभएका छारे रोगी महिलाहरूमा दौरा अर्थात् सिजर फ्रीक्वेन्सी seizuer frequency गर्भवती भएका र नभएकाहरूको दर पनि सरदरमा उस्तै उस्तै छ । छारे रोगी तर, गर्भवती नभएका ९३ जनामा अध्ययन गर्दा औषधि सेवन गरेका २५ प्रतिशत महिलालाई seizuer frequency आएको थियो । यस्तै, ६५ प्रतिशतमा कुनै परिवर्तन आएको थिएन । ११ प्रतिशतमा कुनै पनि समस्या नदेखिएको पाइएको छ ।
२०२२ मै अमेरिकन एकेडेमी अफ न्युरोलोजीले गर्भवती छारे रोगी २९९ गर्भवती महिलामा औषधि परिवर्तन बारे अध्ययन गरेको थियो । जसमा छारे रोगी गर्भवती मध्ये ६ प्रतिशतको उपचारमा परिवर्तन गरिएको थियो । ६९ प्रतिशत गर्भवती छारे रोगी महिला सेवन गर्दै आएको औषधि मात्रा परिवर्तन गरिएको थियो । यस अध्ययनका अनुसार छारे रोगी गर्भवती र छारे रोगी महिलाहरूबीच औषधि सेवन परिवर्तन र थप वा कममा गर्दा खासै भिन्न पाइएनन् ।
छारे रोगीले परिवार योजना बनाउनुभन्दा अघि चिकित्सकसँग सल्लाह लिएमा राम्रो हुने चिकित्सकहरू बताउँछन् । परिवार योजना बनाउनुभन्दा अघि छारे रोगी महिलाले फोलिक एसिड औषधि सेवन गर्न वरिष्ठ न्युरोलोजिस्ट डा भट्टराई बताउँछन् । ‘छारेको औषधि खाइरहेका महिलाले परिवार योजना बनाउनुअघि चिकित्सकको सल्लाहमा फोलिक एसिड औषधि खाएमा पेटमा भएको बच्चा राम्रो हुन्छ ।’ चिकित्सकको सल्लाह बेगर विना योजना गर्भ बसेको खण्डमा चटक्कै औषधि खान छाड्न नहुने उनले बताए । यद्यपि छारे रोगीले खाँदै आएको औषधि गर्भावस्थामा पुरै मात्रा सेवन गर्न उपयुक्त नहुने डा.भट्टराई नै बताउँछन् । उनले भने ‘विशेषज्ञको सल्लाहमा मात्रै नियमित खाने औषधि एक थरी सेवन गर्दा दौरा पर्न कन्ट्रोल भयो भने पनि आमा र गर्भमा रहेको बच्चा राम्रो हुन्छ ।’ परिवार योजना बनाएर वा नबनाएर गर्भवतीहरूमा दौरा पर्न हुँदैन । वरिष्ठ न्युरोलोजिस्ट डा. भट्टराईले छारे रोगीले गर्भावस्थामा औषधि सेवन गर्दा ५ प्रतिशत असर पुर्‍याउन सक्ने बताउँछन् । तर, गर्भावस्थामा सिजर अर्थात् दौरा परेमा पेटभित्र रहेको बच्चालाई ३० प्रतिशतभन्दा बढी असर गर्ने अध्ययनहरूले देखाएको छ । मिर्गी भएका गर्भवतीले औषधिको असर भन्दा पनि कसरी दौरा पर्न नदिने तिर ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । डा. भट्टराईका अनुसार गर्भावस्थामा लिमोटिजोम, लिभेटाभासिटाम नामक औषधि सेवन गरेको खण्डमा दौरा नपर्नुका साथै सुरक्षित रहने अध्ययन देखाएको छ । यी औषधि सेवन गर्दा बच्चाहरूलाई असर गर्ने सम्भावना एकदम कम हुने उनले बताए । डा. भट्टराई भन्छन्, ‘गर्भवतीलाई दौरा पर्दा बच्चा खस्न सक्ने, पेट भित्र रहेको बच्चालाई अक्सिजनको कमी हुने, बच्चाको शारीरिक तथा मानसिक विकासमा नै असर पुग्ने हुन्छ । यस्तै, गर्भावस्थामा दौरा परि ढल्दा आमालाई चोट लाग्नुका शरीर, मानिसक रूपमा अप्ठ्यारो हुँदा बच्चालाई असर हुन्छ ।’ छारे रोगीहरूमा बिना योजना गर्भ बसेमा विशेषज्ञको निगरानीमा नियमित रूपमा जाँच गरेर बच्चाको वृद्धि विकासबारे जानकारी लिन सकिने उनले बताए । छारे रोगी गर्भवतीबाट जन्मिएका ९० प्रतिशत बच्चा स्वस्थ रहने चिकित्सकहरू बताउँछन् । छारे रोगी गर्भवती भएमा परिवारले विशेष ख्याल राख्नुपर्ने त्रिवि अस्पताल मानसिक शाखामा प्रमुख डा. ओझा बताउँछन् । गर्भवती भइसकेपछि भने औषधि परिवर्तन नगर्न उनको सुझाव छ । उनले भने, ‘बिना योजना गर्भ बस्दा पहिला सेवन गरेको छारे रोगको औषधि सेवन गर्न छाड्न हुँदैन । गर्भ रहेको थाहा नपाइकन एक महिनासम्म औषधि सेवन गर्दा गर्भमा रहेको बच्चालाई असर पुर्‍याई सक्ने हुनाले पहिलाको औषधि सेवन गर्दिन भनेर फाइदा हुँदैन ।’ स्त्री रोग विशेषज्ञ डा. सुवेदी छारे रोगी गर्भवतीलाई अस्पतालमै सुत्केरी गराउनुपर्ने बताउँछन् । यो रोग लागेका गर्भवती सुत्केरी हुँदा सामान्य विधि अर्थात् अप्रेसन नगरीकन पनि हुने उनले बताए । छारे रोगी गर्भवतीको अवस्था हेरेर आवश्यकताको आधारमा अप्रेसन गरिने उनले बताए । डा. ओझाका अनुसार गर्भावस्थामा तनाव लिनु हुँदैन, खानपानमा ध्यान दिनुपर्छ, निद्रा पुर्‍याउनुपर्छ, थकान कम गर्नुपर्छ र समयसमयमा विशेषज्ञको निगरानीमा बस्नुपर्छ ।

Like